२० जेष्ठ २०८०, शनिबार

कोरोना क्राइसिस् र मायाको इन्जेक्सन् (भाग–२)



(भाग १ पढ्नुभएको छैन भने, अन्तिममा दिइएको लिङ्कमा गएर पढ्न सक्नुहुनेछ ।)

मीठो मन्थन २

एक झमकमा आकासमाथिको सेतो बादल एक्कासी तल बत्तियो । अर्को झमकमा भुइका मसिना मान्छेहरु हुत्तिएर बादलपारी पुगे । यस्तो दृश्यलाई सहन नसकेर जोडले आँखा चिम्लिएँ मैले । तिखो हावा छाती छेडेर ढाडबाहिर निस्किरहेको थियो । मेरा दाइने हातका औँलाहरू उसका देब्रै हातका औँलाहरूसँग अंकमाल गरेर यो खतराको अवधि थामिने क्षणको प्रतिक्षा गरिरहेका थिए । सुरूमा उसका नरम औँलाहरूको स्पर्ष पाउँदा रमाएको मनले अहिले कुन भगवानको भरोसा समाइरहेको थियो, पत्तो थिएन ।

“कस्तो डराउनु भएको ?” पिङबाट ओर्लदै गर्दा उसले भनी । कहालिएर भर्खरै होसमा आएको मसँग उसलाई जवाफ दिने कुनै शब्दहरु भएनन् । हामी चुपचाप अघि चिया पिएको पसलमा आइपुग्यौँ । यहीँ चिया पिउँदा पिउँदै एक्कासी के सनक चलेको थियो कुन्नी उसलाई, मेरो हात समातेर तान्दै पिङ खेल्न जाऊँ भनेकी थिई । नाइनास्तीको कुनै मौका समेत मिलेन मलाई ।

हामीले फेरि एक–एक चिया थप्ने भयौँ । भृकुटीमण्डपको भीडभाडयुक्त चिया पसलमा त्यत्तिकै बस्न पनि कहाँ पाइन्थ्यो ? चिया आइपुग्यो । मौन हेराहेर गर्दै हामी चियाको चुस्की लिन मस्त भयौँ । मलाई उसँग आँखा जुधाउन निकै सकस परिरहेको थियो । बसमा उसलाई पहिलोपटक पेल्न सुरु गर्दा कति सजिलो थियो । अब हरेक पल आफू पेलिँदा कति गाह्रो हुने रहेछ, पत्तो पाउँदै थिएँ । ऊ मेरो हालत हेरेर रमाउँदै थिई सायद । उसका आँखाहरूले त्यही रमाइलो पोखिरहेका थिए ।

“के साह्रो लजाउनुभएको ? डराउने पनि उस्तै । केटा मान्छे भएर पनि ?” उसले आँखी भौँ तलमाथि पार्दै मलाई जिस्क्याई । अब पनि बोलिन भने पेलिएर पोष्टर हुन्छु भन्ने डर भयो मलाई । घाँटी सफा गर्दै बोलेँ, “लाज र डर केटी मान्छेको मात्रै पेवा हो र ?”

“हे हे । लाज र डर केटीको पेवा हो भनेर कहाँ भने मैले ? अक्सर केटाहरू आफूमा लाज र डर फिटिक्कै नरहेको देखाउन खोज्छन् । तपाईँ भने उल्टो निस्कनु भो मात्र भनेकी ।” उसले मिलेका दन्तलहरहरूको नाँचले मलाई अझ जिस्क्याउँदै भनी । म उसका हरेक चालमा भुतुक्क भइरहेको थिएँ । थाहा थिएन, उसभित्र कस्ता भावनाहरू मडारिइरहेका थिए । यो हाम्रो केवल दोस्रो भेट थियो, यदि अजिमा ट्राभल्सकोलाई पहिलो मान्ने हो भने । हप्तादिनसम्म दिनहुँ सबेरै उठिसक्दा एउटा कपी पेस्टेटवाला गुड मर्निङ म्यासेज, दिनभरी दुई चोटी छुस्सछुस्स मिस्कल, अनि सुत्ने बेलामा अर्को कपी पेस्टेटवाला गुड नाइट म्यासेज । बस् ! यति नै थियो हामीबीच हालसम्म भएको सञ्चारको मात्रा । तर मनहरूले भित्रभित्र थप के के सञ्चार गरिरहेथे, थाहा नुहँदो रहेछ ।

हाम्रो त्यो भेटकै बेला समयले पनि वायुपंखी घोडा भेटेछ कि क्या हो, छिनमै दिन ढल्के झैँ लाग्यो । भोक पनि रिसाएर भड्किन थाल्यो । उसलाई निकैबेर वेवास्ता गरेको मन परेन सायद । हामी दुवै आ–आफ्ना भोकलाई फकाउन त्यहाँबाट उठ्यौँ र अलिकपरको फुड स्टलमा गएर प्लास्टिकका टुलमाथि आफूलाई बिसायौँ । उसले भेज चाउमिन अर्डर गरी । आफूूलाई त्यान्द्रो परिवारका कुनै पनि खानेकुरा नफाप्ने । न चाउचाउ । न चाउमिन । मेरा आँखाहरु भित्तामा टाँसिएको “यहाँ केराको मम पाइन्छ” मा गएर अडिए । कहिले नचाखेको कुरो, मनले मगाइहाल्यो ।

खोइ, कसरी चालै नपाइकन बिते उसँगको त्यो भेटका पलहरू । बिताउँदा चाल नपाइएका पलहरूले, सम्झिदा अति नै चाल दिदा रहेछन् । समयको जाँतोले पिसिरहेछ ।

गन्धे गन्थन ३

यो देशमा सरकार छ कि छैन, छ भने कता छ, मलाई थाहा छैन । तर परोपकार यतै छ, त्यो पक्का भन्न सक्छु । राहतको लाइनमा जोडिएर पेटपुजा सम्पन्न गरेपछि म केही बेर बन्दै गरेको धरहरा हेर्दै सुनधारातिर टहलिन्छु । पहिलेको धरहरा चढ्ने उसको र मेरो रहर पुरा भएन । सायद अब यो बनिसकेपछि पुरा होला कि ? साँच्ची, यो बनाउने त उही सरकारले हो क्यारे । म शंका सल्केको मन बोकेर रानीपोखरीतिर फिर्ता आउँछु । ओहो ! यो के अचम्म । पोखरी त सफा पानीले टिलपिल भरिएको छ । लौ ! सरकार त यहाँ हुनुहुँदो रहेछ । मलाई त्यो सफा चिसो पानीभित्र सल्केको मन चोब्ने रहर लागेर आउँछ । यस्तै पुरा हुन सक्ने ससना रहरहरुमा त अडिएको छ जिन्दगी । म भित्र पस्ने बाटो पहिल्याउँदै मुल ढोकामा आइपुग्छु । त्यहाँ त, सपना देख्दादेख्दा थाकिसकेको मुद्रामा एउटा गार्ड यो सपनाधारीको सानो सपनालाई पनि थकाउन भनी खडा भएको रहेछ ।

मलाई त्यस्तो हतार छैन । “अर्थ” आफैँले विश्राम लिइरहेको बेला, आर्थिक पत्रकारले दौडधुप गरेर हुनेवाला के छ ? बरू, कामको तनाब कम भएको बेला आफूभित्रको कथाकारसँग बात मार्न मन लाग्यो । कुनै न कुनै उपाय लगाएर पोखरी परिसरमा छिर्ने दाउमा थिएँ, फोनको तरंगले फिला नै कमायो । हेरेँ, उपसम्पादक कलिङ । यो त अलिक उग्र नै भयो ।

“विराजमान ब्रो ! कता अहिले ? रातोपुल सवारी हुनुपर्यो । दाजुभाइ जमौंला आज दिनभरी ।”

उपसम्पादकले जम्नेगरी बोलाएको खबरले जम्न लागेको मेरो खोपडी खल्बलायो । मान्छे मन नपरे पनि नाईँ भन्न सकिनँ । एउटै संस्थामा काम गरेपछि, मन नपराउन पाइन्छ तर नदेखेझैँ गर्न सकिन्न । अझ उ सिनियर । वेवास्ता गर्न पाइएला तर अवज्ञा गर्न सकिन्न । म फटाफटी रातोपुलतिर हानिएँ ।

बाहिरबाट हेर्दा लगभग बन्द अवस्थाको भट्टीको भित्तोमा टाँसिएर उपसम्पादक ध्यानमग्न अवस्थामा थियो । म आएको चाल पाएर आँखा खोल्यो । उसका राता आँखाले एक चरणको जम्ने कार्यक्रम सकिइसकेको जनाउ दिए ।

“बस विराज ब्रो ।” उसले अघि नै मगाइसकेको गिलासमा रातो ह्विस्की खन्याउँदै भन्यो । मलाई भने झोलभन्दा पहिले चिकन रोलमा रुचि जाग्यो ।

“ब्रो । अब दिनैपिच्छे हामीले एकअर्कालाई देख्न पाउँदैनौ । सबैभन्दा बढी तिमीलाई मिस गर्नेछु । तिम्रो डेडिकेसन र तिम्रो एनर्जी ।”

“किन र सर ? अफिस छाड्न लाग्नुभएको ?” रहलपहल रोललाई ह्वीस्कीको घोलमा मुखभित्रै घुलाएर निल्दै सोधेँ मैले ।

“एस ब्रो । छाडिदिएँ । यहाँ “उप” मा बसेको दुईबर्ष भइसक्यो, अब उताबाट आएको “सह”को कुरो कसरी नकार्नु ?”

तत्काल उत्तर दिने शब्दहरूको अभावमा म चुप बसेकै बेला उसले थप्यो, “सिनियर एडिटरको एउटा पद पनि खाली छ रे ब्रो । मसँगै ज्वाइन गरौँ ।”

एक्कासीको उसको प्रस्तावले लाग्न लागेको मात पनि उत्रियो । म अत्तालिएँ । उसका तिखा आँखाहरु उत्तरको प्रतिक्षामा मैमाथि गाडिएका थिए । चिट्चिटाहटयुक्त स्वरमा मैले भनेँ, “अहिले नजाऊँ होला म ।”

वास्तवमा मलाई जागिर फेर्दा हुने समस्याहरुदेखि साह्रै डर लाग्छ । खाइपाई आएको ठाउँबाट सरेर अर्कोमा जाँदा के होला भन्ने असुरक्षाको भानले मलाई त्यसै काँतर बनाउँछ । सुरूसुरूमा साथीहरूले अर्को पत्रिकाको प्रस्ताव लिएर आउँदा, यस पत्रिकामाथि मेरो लगनशीलता र विश्वशनीयताको जाँच लिएको हो कि भनेर म खुब डराएँ । तर होइन रहेछ । उनीहरूले यहाँबाट अर्को , अर्कोबाट पनि थप अर्को हुँदै दर्जनौ मिडिया चाहारेर खबुै प्रगति गरिसके । म भने जम्मा एक पद बढेको खुसीमा यहीँको स्थायी भ्यागुतो बनिरहेछु र नयाँ पोखरीको पानीसँग झन्झन् डराइरहेछु ।

“आजको मिडिया जस्तो डायनामिक छ नि ब्रो, हामीले पनि त्यस्तै हुन जान्नुपर्छ । नत्र प्रगति कसरी हुन्छ ? ब्रोको सप्पै हिस्ट्री हेरेँ । आठआठ बर्ष कसरी सकेको हो बस्न ? दुई बर्ष एउटामा गर्ने । त्यहाँको अनुभव बटुलेर मौका मिलाउँदै अर्कोमा जाने । अनि पो भाउ बढ्छ । आठआठ बर्ष बिताएको मान्छेको तलब किन यति ? अहिलको भन्दा डबल हुनुपर्ने । छ त ? भएको पनि आउने टुुङ्गो छैन । यसरी यहाँ बाहेक मेरो अन्त छैन भनेर बसिरह्यो भने हेप्छन् । पेल्छन् । नसकेको दिन फ्याल्छन् । अहिले आँट गरेर मसँग आऊ । आखिर जहाँ गए पनि काम त डटेरै गर्ने हो । पछि यिनेरले नै त्यहाँभन्दा बढि दिएर तान्न खोज्नेछन् भने मलाई भन्नु । उता गएर घाटा हुन्छ भने त्यसको हर्जना मेरो भो ।”

उसले दिएका सप्पै अर्तीहरू मेरो मनले मलाई पहिले नै धेरै पटक दिइसकेको थियो । त्यसैले यी उपदेशले भन्दा पनि म अर्कै कुराले बिथालिएँ । हिजोसम्मको उप्रद्याहा उपसम्पादक आज एक्कासी कसरी उपकारी भएको थियो ? म यो कुराको केही भेउ पाइन्छ कि भन्दै मात्तिएका उसका आँखाका नानीहरूको नाँच हेर्न थालेँ । अचम्म ! यो के ? उसका आँखामा मैले मप्रतिको कुनै भेद देखिनँ । कुनै तिक्तता देखिनँ । उल्टो ‘मेरो भलो’ को भेलबाढी छचल्किएको देखेँ । मैले तत्कालै नजर झुकाएँ । यस्तरी एकैछिन आँखाका नानीहरूको नाँच हेर्यो भने त युद्धमैदानको शत्रु पनि मित्र बन्न लाग्न बेर नलाग्दो हो पक्कै ।

यही कुराको जोडका लागि मात्र मलाई यहाँ बोलाएको भान नहोस् भनेर उसले अर्कै प्रसङ्ग सुरू गर्यो । मातको लातले हान्दै गएपछि एकैछिनमा दिमागले नानाथरीका बातहरू चलायो । अलिकपछि जिउले हातहरू पनि चलायो र नचायो छम्छमी । साँझ ढल्दै गयो । राहतको लाइनमा बसेर टार्नुपर्ने छाकको जोहो यही भट्टीमा भइदियो । आँखाहरू झिमझिम् हुने गरी मातिएपछि बल्ल हामी बाहिर निस्कियौँ ।

लडखड्डाउँदै हिडेको उपसम्पादक, सरी, सहसम्पादकले बाइक भने बकाइदा कुदायो । साँझको चिसो हावामा हात फैलाएर मैले सडकको सन्नाटाको मजा लिइरहेँ । उसले मलाई रानीपोखरीको छेऊमा ल्याएर छाडिदियो । कस्सिएर गल्लीहरू छिचोल्दा दश मिनेटमै आनन्दसँग मेरो कोठा पुगिन्छ । तर मलाई तत्कालै जान कुनै हतार छैन । हतार त बरु यो साँझको शुन्यतामा रानीपोखरीको टिलपिल शान्त पानीभित्र आफ्नै छाया नियाल्न पो सुरू भयो ।

यसबेला भने गार्ड कुर्सीमा बसेर घुर्दै थियो । उसको घुराइको वजन एक क्वाटर रक्सी बराबरको थियो । नभन्दै हो रहेछ । चाल बुझ्न उसको नजिक गएको त ह्वास्स गनायो । एउटा जड्याहाँ अर्को जड्याहाँले कति खायो गन्धैले भन्दिन सक्छ भन्थे । सायद मैले पनि सकेँ ।

विस्तारै गेटको चुकुल सारेँ । कामदारहरू थिएनन् । चहकिला बत्तीहरूको परावर्तनले पोखरीको पानी रानी झै सजिएको थियो । बाहिरबाट झट्ट हेर्दा नजर नपरोस् भनेर म एउटा रूखको दोछायाँमा बसेँ र पोखरीको पानीभित्र आफ्नो छायाँ नियाल्न थालेँ । तर अचम्म ! पोखरीभित्र मेरो हैन श्रुतीको छायाँ टल्किरहेको थियो । ऊ हातमा एउटा इन्जेक्सन बोकेर मतिर आउँदै थिई । इन्जेक्सनको टुप्पोबाट राता पानका पातरुपी बबलहरू निस्केर पानीलाई नै रङ्गीन बनाइरहेका थिए । म उसले मायाको इन्जेक्सन् खोप्ने प्रतिक्षाको क्षणलाई आँखा चिम्लेर स्वागत गर्न थालेँ । तर अपेक्षा गरेको समय बितिजाँदा पनि ऊ आइनपुगेकीले मैले विस्तारै आँखा उघारेँ ।

हरे ! पोखरीभित्र श्रुती थिइन । त्यहाँ त सयौँ मान्छेहरू पेट छाम्दै यताउता दौडिरहेका थिए । भरिएको पोखरीभित्र खाली पेट भएका मान्छेहरुको छायाँ पटक्कै सुहाउँदो देखिएन । तर यस्तो देख्नुमा मेरो इच्छा कहाँ थियो र ? हेर्दाहर्दे दौडिएका सबै मान्छेहरू पोखरीको पिँधमा उत्तानो परेर सुते । केही बेरमा अजङ्गको पखेटा भएको ड्रोनजस्तो हेलिकप्टरले फुलका ठूलाठूला गुच्छा पोखरीको पिधँतिर झार्यो । उत्तानो परेका मान्छेहरूले मुख आँ गरेर फुलका गुच्छाहरु खाए । केही बेरमा सबैको पेट फुलेर दमाहाजत्रो भयो । त्यहीबेला मेरा आँखा चिलाए । माडेर फेरि हेर्छु त पोखरीको पानी धमिलिन थालेछ । मन्दिर छेऊबाट दुईटा ठूला र चारपाँचवटा मझौला आकारका साँढेहरु जुध्दै यता सर्दै रहेछन् । साँढेहरुले कुल्चेर मान्छेका पेटहरु पड्किन थाले । थप दृश्य हेर्न नसकेर मैले हठात् आँखा चिम्लिएँ ।

चक्कर पनि बढ्न थालेपछि मैले गोजीबाट हत्तपत्त पाङ्ग्रो निकालेँ र चाट्न थालेँ । केही महिना अघिदेखि नै हो, कहिले मलाई देभाजु भए झैँ हुन्छ । कहिले इल्युजन हुन्छ । कहिले चक्कर लाग्छ । कहिले आँखा चिम्लिदाँ आगो देखेर खपिनसक्नु हुन्छ । यो कोरोना क्राइसिसमा हस्पिटल कसरी जाने ? स्वास्थ्यमा सजग नभए पनि ‘अर्थ’मा त म छु नै ।

एउटा साथी छ , सगुन नामको । साइकोलिजीमा धेरै घोत्लिएर आफैँ साइको भएझैँ लाग्छ ऊ मलाई । अनेकथरीका सयौँ किताबले घेरिएर अनि आफैँमा अनेक परिक्षण गरेर कस्तो विज्ञ बन्दैछ ऊ ? केही युट्युबेहरूले उसको रहस्य उद्घाटनकोे सुरूवात पनि गरिसकेका थिए । सुरूमा उसैलाई भन्नु ठिक लागेर म गएँ । लक्षण सुनेर ऊ हाँस्नु हाँस्यो । यस्तोमा झनै मजा पो भन्यो । तर मैले यसबाट छुटकारा चाहनु छ भने पछि उसले आफ्नो निष्कर्ष सुनायो, मेरो दिमागमा पोटासियम “आएन” को गडबडि छ । मैले खासै पत्याउँदा नपत्याउँदै उसले एउटा पाङ्ग्रो थमाइहाल्यो र भन्यो, “यो पोटासियमको पाङ्ग्रो हो । जब यस्तो लक्षण देखिन्छ यसलाई चाटिहाल्नु ।”

अहिलेसम्म यसलाई विश्वास गरेको थिइनँ तैपनि म गोजीमा सधैँ यो सानो पोटासियमको पाङ्ग्रो बोकेर हिड्छु । नुनिलो पनि तीतो पनि । कस्तोकस्तो हो स्वाद ? पाङ्ग्रो चाट्दै गर्दा कसैले मेरो कठालो समातेर जुरुक्क उठायो । हेरेँ, गार्ड । एक क्वाटरको डोज सकिएर कति चाँडो उठेछ बजिया ? दिनुपर्ने सजाय अब देला भनेको त उसले मलाई केहीबेर घुरेर हेर्यो र अट्हास हाँस्न पो थाल्यो ।

“अरे, पत्रिकावाला सर । हा हा हा ।” उसले मलाई कठालोमा समातेरै पोखरीको डिलमा बसायो । अनि कठालो छाडेर दुवै हातले ताली पड्काउँदै फेरि हाँसोलाई चालु गर्यो । म असमञ्जसमा परेँ ।

“यतिका बर्षपछि भेटिनुभो मेरो गुरू । प्रणाम गर्छु है तपाईँलाई ।”, उसले फेरि हाँस्दै मलाई नमस्कार गर्यो । हैन क्वाटरको डोजले नपुगेर तोप पनि तान्यो कि के यसले ? कि कतै मेरोजस्तै यसको पनि पोटासियममा गडबडी (?) त भएको होइन ? अहिलेसम्म देख्दै नदेखेको मान्छेको गुरू म ? त्यस्तो हुनका लागि मैले कुन कर्म गरेको छु र ? म अक्क न बक्क भएँ । ऊ त्यस्तरी नै अनियन्त्रित हाँसिरहेको थियो । मलाई भने फिटिक्कै हाँसो फुरेन । उल्टो रीसले झड्का हान्न थाल्दै थियो ।

“छक्क पर्नु भो है । ६ बर्ष अघि हो क्यारे । हजुरले मेरो जीवनमा कत्रो परिवर्तन ल्याइदिनु भो । कोटीकोटी नमन् । त्यसपछि तपाईँलाई यो शहरका हजारौँ अनुहारमा कति खोजेँ । बल्ल आज दर्शन पाएँ । तपाईँको नाकको यो सानो कोठी र घुमेको कपाललाई पनि नमन, हजुरलाई झट्ट चिनाइदिए ।”

“तपाईं झुक्किनु भयो सायद । तपाईँले भनेको व्यक्ति म होइन ।” मैले ऊबाट छुट्कारा पाउने हेतुले छोटोछोटो स्वासमा भनेँ ।

“हैन । म त विल्कुल सही छु । तपाईंलाई म झुक्किएको लाग्नु पनि एकदम ठिक हो । सुन्नुहुन्छ कसरी हजुरले मेरो जीवनको बाटो मोडिदिनुभो ? म त ब्लेडझैँ धारिलो सानो कैँची बोकेर पब्लिक बसको भीडभित्र घुस्ने एउटा पाकेटमार न थिएँ । त्यसदिन मेरो बोहोनी भएको थिएन । किन हो, प्रयास गर्न खोजिएका मेरा ग्राहकहरू साविकभन्दा निकै चनाखा भएर निस्किए । तर त्यहीबेला हजुरले पढ्नलाई पत्रिका फिजाउनुभयो । मसँगै उभिएको एउटा अग्लो मान्छे फिजिएको पत्रिकामा देखिएका समाचार पढ्न मस्त भयो । ओहो ! कस्तो अवसर ! एकातिर मान्छेको पुरै ध्यान पत्रिकामा छ, अर्कोतिर फिजिएको पत्रिकाले उसको पकेट गजबले छेकिएको छ । मैले एक झमकमा आफ्नो काम फत्ते गरेँ । जाममा गाडी अझैँ फसेकाले मलाई उत्रिन कुनै समस्या भएन । ओर्लेर बेजोडले दौडिएँ र छिनमै शहरको भीडमा बिलाएँ ।

हजारका तीन नोट र केही खुद्राखुद्री । पब्लिक बसमा हिड्ने मान्छेको पर्सभित्र यति भेटिनु त्यति नराम्रो कमाइ थिएन । मैले पर्सको चेपचाप सबै नियालेँ । त्यहाँ अरू खास जिनिस केही थिएन तर कागजको एउटा टुक्रो हात लाग्यो । टुक्रोमा एउटा मोबाइल नम्बर थियो र नम्बरको मुनि नाम लेखिएको थियो, भावना ।

चोर बनेपछि भावना शब्द नै बिर्सिसकेको रहछु । उही एक शब्दैले फेरि भावनामा फर्काइदियो । केयौँ रात उही नाम र नम्बर हेरेर म भावनामा बहकिइरहेँ । काममा गएन भनेर अरू साथिहरुले गाली गर्न थाल्दै थिए । अब त अति भो, जे पर्ला भनेर एकदिन मैले त्यो नम्बरमा डायल गरेँ ।

उताबाट, ‘सरोज हो ?’ भनेर प्रश्न आयो । साँच्ची, मेरो नाम के थियो ? साथीहरुले जुरे भनेर बोलाउँथे । मलाई मेरो असली नाम थाहा थिएन । किन हा,े भावनाको मधुर आवाजमा सुनिसक्दा मलाई सरोज नाम साह्रै मन पर्यो । मैले पनि हो भनिदिएँ । उसले उस्तै मायालु स्वरमा भनी, “फोन गर्न पनि यतिका दिन लाग्यो । म त अब गर्नुहुन्न भनेकी ।”

अनि त दिनहुँ घण्टौँ कुरा हुन थाल्यो हाम्रो । चोरीको कमाईलाई चोरीको लतबाट छुट्नलाई चलाएँ मैले । ऊ गार्मोन्टमा काम गर्दी रैछे । भेट्न आउनु भन्थी । म टार्दै जान्थेँ । म सरोज होइन भन्ने थाहा पाउनसाथ ऊ बोल्न छाड्नेछे भनेर डर लाग्थ्यो मलाई । तर महिनौँ बितेपछि एकदिन मैले आँट गरेँ । सच्चा सरोज अर्थात् मेरो अन्तिम ग्राहकको अनुहार र गेटअप सम्झिएर त्यस्तै कपाल काटेँ । उस्तै लुगा लगाएँ । र उसलाई भेट्न गएँ ।

“अलिकति दुब्लाउनुभएछ ।” यत्ति भनी उसले । विना थप आशंका म उसको सच्चा सरोजमा पास भएँ । पहिलो भेटमा पनि उही फोन गफकै निरन्तरतास्वरूप घण्टौँ कुरा भए । अनि भेट बाक्लिदै गयो । माया गर्छौँ नभने पनि मायामा डुब्दै गयौँ ।

चोरीको संसारबाट त निस्किसकेको थिएँ म । अब गरिखानेहरूको संसारमा प्रवेश गर्नु थियो मलाई । गार्मेन्टमै गार्डको पोष्ट खाली रहेछ । उसैले भनसुन गरेर मिलाइदिई । अनि हामीले बिहे गर्यौँ । अहिले एउटा बाबु छ ।”

गार्ड उर्फ भूपू चोरको कुरा सुनेर मैले फेरि आफैँलाई छामेँ । फेरि लक्षणले त यस्तो भएको होइन ? तर म विल्कुल लक्षणविहीन रहेछु । “हजुर पनि पिउनुहुँदो रहेछ ।

आजको मेरो ड्युटि पनि सकियो । जाऊँ अब, गुरुचेला सँगै जमौँ ।” उसँगै बागबजारको गल्लीमा गतिलो भट्टी नियाल्दै जाँदा मैले भनेँ, “भूपु चोरभाइ । धन्यवाद त तिमीले मात्र होइन, मैले पनि तिमीलाई भन्नुपर्छ ।”

सरोजले छक्क परेका आँखाहरू च्यातेर मलाई हेर्यो । मैले थप बोल्न लाग्दा मोबाइलमा म्यासेजबक्सले घर्रघर्र गर्यो । झिकेर हेरेँ । श्रुुती सेन्ट अ म्यासेज । (बाँकी गन्थनमन्थनहरु अर्को हप्ता)

(सङ्ग्रौला “च्याट गर्ल” कथा सङ्ग्रह र “पर्पला” उपन्यासका लेखक हुन्)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको