३ आश्विन २०८०, बुधबार

बझाङमा ६४.४९ मेगावाट विद्युत उत्पादन कार्य अन्तिम चरणमा



१० असोज, काठमाडौं । बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नं. ५ र विथडचिर गाउँपालिका वडा नं. ६ र ८ मा निर्माणाधिन १५.३३ मेगावाट क्षमताको कालङ्गा गाड जलविद्युत आयोजनाको सुरुङ खन्ने सम्पूर्ण काम सम्पन्न भएको छ । कालङ्गा हाइड्रो प्रा. लि. द्वारा प्रवद्र्धन प्रक्रियामा रहेको ३ हजार ४ सय ६८ मिटर लम्बाइ रहेको उक्त सुरुङ खन्ने काम २०७७ साल असोज ९ गते बिहान १०ः१० बजेको अन्तिम ब्लास्टको सहयोगबाट सम्पन्न भएको हो ।

यस अगाडि पनि १८४ मिटर लम्बाइको पेन्स्टक सुरुङ खन्ने काम सम्पन्न भए पश्चात् पाइप जडान गर्ने काम समेत सकिएको छ । त्यस्तै हेड वक्र्स, पावर हाउसका साथै अन्य सिभिल कम्पोनेन्ट तथा एच.एम., ई.एम. र १३२ के. भी. ट्रान्समिसन लाइनको काम समेत अन्तिम चरणमा पुगी आयोजनाको समग्र प्रगति ९० प्रतिशतभन्दा माथि पुगेको आयोजना प्रवन्धक बखतबहादुर शाहीले जानकारी दिए । उनका अनुसार यो आयोजनाको सम्पूर्ण निर्माण कार्य २०७७ साल पौष मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

यसरी कठिन भौगर्भिक अवस्थाको बावजुत पनि सुरुङको खन्ने काम सम्पन्न हुनुले आयोजना सम्पन्न चरणमा प्रवेश गरेको आफूलाई अनुभूति भएको आयोजना प्रवन्धक शाहीले बताए । यो आयोजना २ सय ८० करोड लगानीमा २०७३ साल फाल्गनु महिनाबाट सुरु गरिएको थियो ।

बझाङ जिल्लाकै अपर कालङ्गा गाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र अपर सानीगाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्टको पनि निर्माण लगभग सम्पन्न हुने चरणमा पुगेको छ । ३८.४६ मेगावाटको अपर कालङ्गा गाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट ७ सय ५० करोड लगानीमा र १०.७० मेगावाटको अपर सानीगाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट १ सय ७० करोड लगानीमा निर्माण भइरहेको यी दुवै आयोजनाका समेत प्रबन्धक बखतबहादुर शाहीले जानकारी दिए । अपर कालङ्गा गाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट २०७७ चैत्र महिनाभित्र सकाउने लक्ष्यका साथ काम अगि बढिरहको प्रबन्धक शाहीले बताए ।

अपर कालङ्गागाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा सानीगाड हाइड्रो प्रा.लि.ले र अपर सानीगाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा बुङ्गल हाइड्रो प्रा.लि.ले काम गरिरहेका छन् । यी तीन वटै आयोजनाहरूमा एउटै डेपलपर कम्पनीले काम गरिरहेका छन् । यी आयोजना निर्माण सम्पन्न पश्चात् नेपालको विद्युत उत्पादनमा ६४.४९ मेगावाट थप योगदान हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको