१२ वर्षीया सम्झना कामीलाई मन्दिरमा बलात्कार गरी हत्या गरिएको आशंका
१० असोज, काठमाडौं । मान्छेको खोल ओडेका ब्वाँसाहरूको राक्षसी कुकर्मको शिकार भएकी छिन्, बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना कामी । विपन्न दलित परिवारकी सम्झनाको अप्रत्यासित हत्यापछि बुढा बाजे बज्यैको एकमात्र साहारा पनि सदाका लागि छिनिएको छ ।
दुई बहिनीसँगै बाजे बज्यैसँग बस्दै आएकी सम्झनाका बुवा आमा ४ वर्षदेखि भारतको बेंग्लोरमा बस्छन् । १२ वर्षीया फुलजस्ती छोरीको बलात्कारपछि हत्या भएको खवर कानमा पर्दा आमा बुवाको मन कुन साहसको खाँबोले थामियो होला !
अहिले सम्झना कामीको परिवार र आफन्त मात्र होइन सिंगो खिकाला गाउँ नै शोकमा डुबेको छ ।
दिनभरी बाख्रा चराएर ४ बजे खाजा खाएपछि सम्झना डोको नाम्लो बोकेर गाइवस्तुलाई घाँस हाल्न गोठतीर लागेकी थिइन् । करिब आधा घण्टाको पैदल दुरीमा सिमथला डाँडा नजिक रहेको गोठमा गएकी सम्झना घर फर्किनन् ।
डाँडा काट्ने बित्तिकै कसैले नियन्त्रणमा लगेर केहि तलको सिममाडौं मन्दिरभित्र लगेर हत्या गरेको परिवारको दावी छ ।घटनास्थलमा पुगेका स्थानीयका अनुसार हत्यारासँग बच्न सम्झना निकै छटपटाएको देखिन्छ । मन्दिरको भुईँको माटो पनि खुट्टाले खोस्रिएको अवस्थामा रहेको सम्झनाका काका ईश्वर कामीले बताए । उनले भने, ‘छोरीले बोकेको नाम्लो र डोको मन्दिरभन्दा करिब सय मिटर तलको खोंचमा फालिएको अवस्थामा भेटियो ।’
दोषिलाई पहिचान गरी तत्काल कडा कारबाही गर्न माग गर्दै खिकालाबासी आन्दोलनमा उत्रिएका छन् । घटनाबारे छानविन गरी दोषिलाई तत्काल कानुनको कठ्घरामा उभ्याउनुपर्ने माग गर्दै खिकालाबासी सदरमुकाम चैनपुर पुगिसकेका छन् ।
नातीनीको हत्यापछि शोकमा डुबेका बाजे गोरख र बज्यै हाँसु सदरमुकाम चैनपुर पुगेर दोषीलाई कारबाही गरिदिन अनुरोध गरिरहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि सम्झनाको बलात्कारपछि हत्या गरिएको अनुमान लगाएको छ । मृतकको शव पोष्टमार्टमका लागि पठाइएकाले रिपोर्ट आइसकेपछि मात्रै घटनाबारे एकिन गर्न सकिने बझाङका प्रहरी प्रमुख डीएसपी रूपक खड्काले बताए । डीएसपी खड्काले भने, ‘घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने हाम्रो प्रारम्भिक अनसन्धानले देखाएको छ ।’ खड्काका अनुसार अपराधमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाइएको छ ।
पक्राउ परेको व्यक्ति नै अपराधी सावित हुनसक्ने बलिया प्रमाण फेला परेकाले गम्भिर अनुसन्धान भइरहेको डीएसपी खड्काले बताएका छन् । अभियुक्तले अपराध स्वीकार नगरेको अवस्थामा थप प्रमाणहरू संकलन गर्न प्रहरी टोलीलाई घटनास्थलमा खटाइएको छ ।