तिलोत्तमा नगरपालिकाका ५० घर डुबानमा, ७ घर बाढीले बगायो
१० असोज, काठमाडौं । रातभरको भारी वर्षाका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ५० बढि घरहरू डुबानमा परेका छन् । नगरपालिकाका विभिन्न स्थानमा आएको बाढिले ७ घर बगाएको खबर प्राप्त भएको छ ।
रोहिणी नदि बस्तीभित्र पसेपछि तिलोत्तमा नगरपालिकाका वडा नम्बर ११ भूपु सैनिकका ५० घरका बासिन्दा रातभर थुनिएका थिए । पानीको बहाव कम भएपछि बिहान उनिहरूलाई सुरक्षित स्थानमा सारिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए । नगरप्रमुख घिमिरेले भने, ‘पानी घटेर डुबानको सतह घटेपछि अहिले बस्ती सुरक्षित रहेपनि पुनः वर्षा हुँदा बस्ती थप जोखीममा पर्ने देखिएको छ ।’
बस्तीमा बाढी पसेको जानकारी पाउने बित्तिकै मध्यरातमै सुरक्षाकर्मीको टोलीसहित नगरप्रमुख घिमिरेले भूपु सैनिक क्षेत्रको निरिक्षण गरेका थिए । त्यस्तै वडा नम्बर १० मा बाढीका कारण असुरक्षित बनेका ६ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको मेयर घिमिरेले बताएका छन् ।
सुखौरा खोलामा आएको बाढीले बुटवल उपमहानगरपालिकाको डाँडामा कम्तिमा ४ घरसहित केही सवारी साधनहरू बगाएको छ । त्यस्तै उपमहानगरपालिकाको वडा नम्बर १७ को मनकामना टोलमा तिनाउ नदीको बाढीले १ घर, देवदहको चरेंगामा खोलाले १ घर बगाएको छ ।
त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १२ आएको बाढीले ४ वटा घर भत्काएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए ।
भारी वर्षाका कारण रुपन्देहीका विभिन्न स्थानमा बाढीले भौतिक क्षति पुर्याएपनि हालसम्म कुनै मानवीय क्षति नभएको खत्रीले बताए ।