१० आश्विन २०७८, आईतवार

सरकारले ल्यायो एसिड आक्रमणविरूद्धको अध्यादेश : दोषीलाई २० वर्षसम्म कैद



९ असोज, काठमाडौं । सरकारले एसिड आक्रमणविरूद्ध कानुनी अध्यादेश ल्याएको छ । एसिड आक्रमणकारीलाई कडा कानुनी सजाय हुने गरी ल्याइएको अध्यादेश बिहीबार बसेको मन्त्रिपरिसद् बैठकले पास गरेको हो ।

गत भाद्र २५ गते एसिड आक्रमणका पीडिहरूसँग भेटेर छलफल गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले १५ दिनभित्र कानुनी मस्यौदा तयार गर्न निर्देशन दिएका थिए । नभन्दै आज असोज ९ गते फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास भएको छ । अब राष्ट्रपतिले यो अध्यादेश प्रमाणीकरण गरेपछि कानूनका रूपमा कार्यान्वयनमा आउनेछ ।

मुलुकी अपराध संहितामा एसिड आक्रमणको कारण मृत्यु भएमा दोषीलाई जन्म कैदको सजाय हुने व्यवस्था छ । मुलुकी संहितामा व्यवस्था भएका एसिडसम्बन्धी अन्य कारबाहीलाई परिमार्जन गरी थप कडा सजाय हुनेगरी अध्यादेश ल्याइएको हो ।

अध्यादेशले एसिड आक्रमणबाट आँखा, कान, नाक, मुख, अनुहार, महिला भए स्तन र यौनाङ्गमा भएको क्षतिअनुसार १० देखि २० वा २० वर्ष कैद सजाय तोकेको छ । एसिड आक्रमण गरेर सम्बन्धित व्यक्तिलाई नलाग्दा पनि दोषी उम्किन नपाउने गरी ‘तेजाब आक्रमण गरी अंगभंग गर्ने उद्योग’मा मुद्दा चलाइने र कसुर प्रमाणित भएमा १० वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था पनि अध्यादेशले गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको