सङ्क्रमण दर अहिलेसम्मकै उच्च भएपछि काठमाडौं उपत्यका लकडाउन
२ भाद्र, काठमाडौं । आज मङ्गलबार मुलुकभर अहिलेसम्मकै सबैभन्दा बढि १ हजार १६ कोरोना सङ्क्रमित भेटिएसँगै एक साताका लागी काठमाडौं उपत्यका लकडाउन हुने भएको छ । भोली बुधबार राति १२ बजेदेखी एक साताका लागी उपत्यका लकडाउन हुने भएको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मङ्गगलबार साँझ बसेको संयुक्त बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । कुनैपनि व्यक्ति कतै अलपत्र नपरुन भनि २४ घण्टा अगाडी नै निर्णय सार्वजनिक गरिएको बैठकमा सहभागीले जानकारी दिए ।
पछिल्लो केहि दिनयता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या तिब्र रूपमा बढिरहेको छ । कालान्तरमा आउन सक्ने जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासनले लकडाउन गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले कोभिड–१९ व्यवस्थापन समितिलाई जिल्लाभित्र लकडाउन, निषेधाज्ञा गर्न सक्नेगरी सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको थियो । सोही अधिकारको प्रयोग गरी लकडाउन गर्ने निर्णय गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
यस अघि करिब चार महिना नेपाल सरकारले गरेको लकडाउन अवधिमा कोरोना सङ्क्रमितको सङ्ख्या नियन्त्रण भएजस्तो देखिएपनि लकडाउन खुलेयता सङ्क्रमितको सङ्ख्या र मृत्युदर दुबै बढेको छ ।