भैरवीमा अस्पताल निर्माण गर्न संघ सरकारले छुट्यायो डेड करोड
९ असोज, काठमाडौं । दैलेखको भैरवी गाउँपालिकामा अस्पताल निर्माण गर्न संघ सरकारले डेड करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको भैरिकालिकाथुम स्वास्थ्य चौकीलाई आधारभूत स्वास्थ्य सेवासहितको अस्पतालका रूपमा विकास गर्न बजेट विनियोजन गरिएको हो ।
अस्पतालको संरचना निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो किस्तामा डेड करोड छुट्याएको वडा नम्बर ४ का वडाअध्यक्ष विरेन्द्र शाहीले जानकारी दिए । वडा अध्यक्ष शाहीले भने, ‘मन्त्रालयले कार्य सम्पदान भएसँगै बाँकी किस्ता क्रमस निकासा गर्नेछ । अस्पताल सञ्चालन गर्न आवश्यक दरबन्दी स्विकृतिका लागि पनि मन्त्रालयमा पहल भइरहेको जानकारी पाएको छु ।’
आइसोलेशन सेवासहितको ५ बेडको कोरोना विशेष अस्पताल भैरवी गाउँपालिकामै तत्काल स्थापना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० लाख बजेट पठाइसकेको छ ।
गाउँपालिका भित्रै आधारमूत स्वास्थ्य सेवासहितको अस्पताल निर्माण हुने भएपछि स्थानीयवासी हर्षित् छन् । अलि अप्ठ्यारो बिराम लाग्ने बित्तिकै सदमुकाम, सुर्खेत, नेपालगञ्ज र राजधानी काठमाडौंसम्म धाउनुपर्ने बाध्यता पनि केहि हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ ।