जिल्लामै पहिलो ‘ब्लड बैंक’ स्थापना हुँदा हुम्लावासी उत्साहित्
समर हुम्ली
८ असोज, काठमाडौं । दुर्गम हिमाली जिल्ला हुम्लामा पहिलो पटक रक्त सङ्कलन केन्द्र ‘ब्लड बैंक’को स्थापना हुँदा जिल्लावासी उत्साहित् भएका छन् ।
स्वास्थ्य सेवाको पहुँचका दृष्टिले पिछडिएको हुम्लामा रक्त सङ्कलन केन्द्र स्थापना भएसँगै रगत नपाएर बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
कर्णाली प्रदेश सरकारले दुर्गम जिल्लाका स्वास्थ्य केन्द्र र अस्पतालहरूमा प्रभावकारी सेवा उपलब्ध गराउन स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराइरहेको छ । यस अन्तर्गत नेपालको सबैभन्दा उचाइमा रहेको सदरमुकाम सिमकोटको जिल्ला अस्पतालामा रक्त सङ्कलन केन्द्र स्थापना भएकाले दुर्गमका बिरामीहरूलाई केहि हदसम्म राहत पुग्ने डा. टसीअंमु लामाले बताए ।
यो भन्दा पहिला सूचना जारी गरेर रक्तदाता खोज्दा कहिले काहिँ त एक हप्ता समय लाग्ने गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपाल शेर्पाले बताए । लामाले भने, ‘रगत पाउनै एक हप्ता समय लाग्दा चाहेर पनि सहज रूपमा बिरामीको उपचार गर्न सकिने अवस्था थिएन ।’ अब छटपटाइरहको बिरामी हेर्दै एक हप्तासम्म रगत कुर्नुपर्ने बाध्यताको अन्त्य हुने भएपछि लामा खुसी छन् ।
आइसियु, भेन्टिलेटर र अन्य अत्यावश्यक स्वास्थ्य उपकरणहरूको व्यवस्था भइसकेको जिल्ला अस्पतालमा रक्त सङ्कलन केन्द्र स्थापना भएसँगै अलि अप्ठ्यारो बिराम लाग्ने बित्तिकै शहर धाउनुपर्ने बाध्यतामा पनि कमि आउने देखिएको छ ।
जिल्ला अस्पतालमै सहज रूपमा रगत उपलब्ध हुने भएपछि स्थानीयवासीहरू हर्षित छन् ।