२० जेष्ठ २०८०, शनिबार

यामलाल कँडेलद्वारा विपक्षी दलको नेता सरहको सुविधा फिर्ता



८ असोज, काठमाडौं । कर्णाली प्रदेश सभा सदस्य एवम् नेकपा कर्णाली प्रदेशका सह–इञ्चार्ज यामलाल कँडेलले प्रदेश सरकारले उपलब्ध गराएको सेवा सुविधा फिर्ता गरेका छन् ।

नेता कँडेलले भाद्र ३० गते प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै प्रदेश सरकारको निर्णय अनुसार पाएको सेवा सुविधाको फिर्ता गरेका हुन् । उनले प्रदेश सभा सदस्यको हैसियत पाउने सुविधा मात्र उपलब्ध गराउन माग गरेका छन् ।

प्रदेश सभा सदस्य कँडेलले सचिवालयमा दर्ता पत्रमा लेखेका छन्, ‘प्रदेश सरकारको मिति २०७५ असार १६ गतेको निर्णय अनुसार सेवा सुविधा लिइरहेकोमा आर्थिक वर्ष २०७७ साउनदेखि प्रदेश सभा पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐन अनुसार मात्र सेवा सुविधा उपलब्ध गराउन अनुरोध गर्दछु ।’

कर्णाली प्रदेश सरकारको २०७५ असार १६ गते मन्त्रीपरिषद्को बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रीले प्रस्ताव गरी नेता कँडेललाई विपक्षी दलको सेवा सुविधा उपलब्ध गराउने निर्णय गरिएको थियो ।

तत्कालीन नेकपा (एमाले) संसदीय दलको नेता र पूर्व मन्त्री समेत भइसकेको व्यक्ति भएकाले उनलाई विपक्षी दलको नेता सरहको सेवा प्रदान गरिएको थियो । प्रदेश सभा सदस्य कँडेलले सरकारको निर्णय अनुसार आफूले आंशिक मात्रै सुविधा लिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको