१० आश्विन २०७८, आईतवार

सिंजा साम्राज्यको राजधानी दुल्लुमा विजया साहित्यिक उद्यान निर्माण



८ असोज, काठमाडौं । पूर्वमध्यकालिन सिंजा साम्राज्यको शितकालिन राजधानी दैलेखको दुल्लुमा साहित्यिक उद्यान निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विभिन्न विधामा कलम चलाएका ३० जना मुर्धन्य साहित्यकारहरूको शालिक रहने विजया साहित्यिक उद्यान निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

उद्यान निर्माण कार्य लगभग सम्पन्न भइसकेको अवस्थामा अन्तिम रूप दिन भने कोरोना महामारीका कारण ढिलाई भएको उद्यान निर्माण समितिका संयोजक (साहित्यकार तथा समालोचक) डा. मधुसूदन गिरीले बताए । संयोजक डा. गिरीले भने, ‘२६ वडा शालिक निर्माण भइसकेका छन् । बाँकी ४ वटाको मुखाकृति अलि नमिलेकाले सच्याउने कार्य भइरहेको छ । उद्यानको तारबारदेखि प्रदेशद्वार समेत निर्माण भइसकेको अवस्था छ ।’

साहित्यिक उद्यानमा आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मिप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, विश्वकै पहिलो मानव अधिकारवादी तथा साहित्यकार जयपृथ्वीबहादुर सिंह, बरिष्ठ अन्वेषक योगी नरहरिनाथ, वरिष्ठ प्रथम प्रगतिवादी साहित्यकार हृदयचन्द्रसिंह प्रधान, वरिष्ठ प्रगतिवादी साहित्कार पारिजातदेखि आजसम्मका महत्वपूर्ण साहित्कारहरू र दुल्लुकी प्रसिद्ध विजया भगवति गरी ३० वटा शालिक स्थापना गरिनेछन् ।

सरकारी र कुनै बाह्य सहयोग नलिई दैलेखकै साहित्यकार, भाषा साहित्यप्रेमी र समाजसेवी लगायतको सहयोगमा झण्डै २ वर्ष अघि यस साहित्यिक उद्यानको निर्माण अfरम्भ भएको थियो ।

डा. गिरीका अनुसार प्राध्यापक डा. पुण्यप्रसाद रेग्मी, प्राध्यापक जगतप्रसाद उपाध्याय, सनत गिरी, विष्णु रिजाल, नरेन्द्र सिजापति, मनोज ज्ञवाली, नेपाल प्रज्ञा प्रतिष्ठान, योगेन्द्र शाही, प्राध्यापक डा. धनेश्वर नेपाल, ज्ञानमणी नेपाल, गणेश रिजाल(खत्री), गोबिन्द सुबेदी, सरोज रिजाललगायतले उद्यान निर्माणमा आर्थिक सहयोग गरेका छन् । सह–संयोजकको भुमिकामा रहेर उद्यान निर्माण सफल बनाउन ओम रिजालको महत्वपूर्ण भुमिका रहेको डा. गिरीले बताए ।

उद्यान निर्माणका लागि जग्गा उपलब्ध गराउने र तारबारका लागि दुल्लु नगरपालिकाले सहयोग गरेको मेयर घनश्याम भण्डारीले रारापाटीलाई जानकारी दिए । मेयर भण्डारीलने भने, ‘नगरपालिकाले उद्यान सञ्चालन निर्देशिका पनि तयार गरिसकेको छ । अब कोरोना महामारी सहज हुनेबित्तिकै निर्माण कार्य सम्पन्न गराएर उद्यान सञ्चालनमा ल्याउने तयारीमा छौं ।’

नेपालका थुप्रै जातथरको उद्गम स्थल, नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेखदेखि थुप्रै प्राचिन एवम् ऐतिहासिक सम्पदाहरूको अस्तित्व बोकेको दुल्लुलाई नेपाली भाषा साहित्यको एक स्मरणीय तिर्थस्थल बनाउने उद्देश्यले उद्यान निर्माण गरिएको डा. गिरीले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको