२१ मंसिर २०७८, मंगलवार

आस्था (लघुकथा)



विर्तामोडको मुख्य चोक अग्ला र चिल्ला घरहरूले घेरिएको थियो । तर अलिपर खोलाका छेउतिर भने अत्याधिक फोहोर थियो । त्यो फोहोर बाटोमा मान्छे ओहोर–दोहोर गर्न निकै गाह्रो मान्थे । त्यही बाटो पर खोलाका डिलमा एउटा अस्थायी घर थियो । त्यो घरमा दुइजना बुढाबुढी मात्र बस्थे ।

त्यो घरमा कुकुर, बिराला, भ्यागुत्ता, मूसा, सर्प आदि जहाँबाट पनि छिर्न सक्थे । त्यहाँको बुढो जहिल्यै बिरामी हुन्थ्यो । ती बुढी मान्छे कताकता कसैका घरमा गएर काम सघाउँदै खानेकुरा जुुटाउँथिन् । उनका छोराछोरी कहाँ बस्छन् ? के गर्छन् ? अत्तोपत्तो थिएन ।

छरछिमेकसँग दुई भाइ छोरा र एउटी छोरीको कुरा त गर्थिन् । छोरी चाहिँ कहिलेकाहीँ आउँथी । त्यो पनि आउन छोडी भन्थिन् । सरकारको भत्ता पाउने बेला त भयो । नेपाली मुलककै भए पनि नागरिकता नभएकाले त्यो पनि पाउन सकेनन् । ती जोर दम्पत्ति अति चरम गरीबिको सिमा रेखाभन्दा निकै तल थिए ।

ती वृद्धा धर्मकर्ममा अत्यन्तै विश्वास राख्थिन् । जस्तै जाडोमा पनि बिहान नुहाएर कति ठाउँका देवतालाई पूजा गर्थिन् । अमे्रला हाउस अगाडि हाइवे छेउको पिपलको बोटमा तीनपल्ट वरिपरि घुम्दै पूजा गर्थिन् । त्यहाँ बात्ती बाल्थिन् । सडक विस्तारमा त्यो रुख फेदैबाट ढालियो । तैपनि उनले रहेको ठुटामा पनि त्यसै गरी घुमीघुमी पूजा गर्न छाडीनन् । उनी त्यो पूजाको थाली लिएर सिधैँ घरमा जान्थिन् र त्यो दीर्घरोगी बुढोलाई टीका लगाइदिन्थिन् । त्यसरी टीका लगाइरहँदा उनी बुढाको दिर्घायू र सुस्वास्थ्यको कामना गर्थिन् ।

अलिकपछि बुढा बिते । तिनी पनि त्यो ठाउँ छोडेर कता गइन् । त्यसपछि कहिल्यै देखा परिनन् । उनको आस्था छुटेपछि टुहुरो बनेको पिपलको ठुटो पनि जरैबाट उखेलियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको