हिउँ पन्छाउदा भेटियो नेपाल–चीन सिमाको ११ नम्बर पिलर
असोज ८, काठमाडौं । विगत ५८ वर्षदेखि हराएको नेपाल–चीन सिमाको ११ नम्बर पिलर भेटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले हिउँमा पुरिएको अवस्थामा ११ नम्बर पिलर पत्ता लगाएको हो ।
उक्त पिलर सीमा प्रहरी चौकी हिल्सा भन्दा करिब ५२ सय मिटर उचाइमा भेटिएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले बताएका छन् । अध्यक्ष तामाङका अनुसार नाम्खा गाउँपालिका वडा नम्बर ६ स्थित टाकुले लेकमा पिलर भेटिएको हो ।
नेपाली भूभागमा चीनले भवनहरू निर्माण गरिरहेको खबर प्राप्त भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी नेतृत्वको टोली स्थलगत अध्ययन गर्न लोलुङजोङ पुगेको थियो । ‘ऐतिहासीक तथ्य ११ नम्बर सिमास्तम्भ फेला परेपनि नाम्खा गाउँपालिका वडा नम्बर ६ लोलुङजोङमा चिनले निर्माण गरिरहेका भवनहरू कसको भूभागमा पर्छन् भन्ने एकिन हुन सकेको छैन’, गाउँपालिका अध्यक्ष तामाङले भने ।
तामाङका अनुसार टाकुले लेकको खोचमा हिउँसँगै दबेर रहेको ढुङ्गाजस्तो बस्तु देखेपछि सुरक्षाकर्मीले माटो र हिउँ पन्छाएर हेर्दा ११ नम्बर पिलर फेला परेका हुन् ।
११ नम्बर पिलर हराएको कारण पटक–पटक नेपाल चीनबीच हुदै आएको विवादलाई तार्किक निष्कर्षमा पुर्याउन पिलर खोजि कार्यलाई तिब्रता दिइएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई दुई टोली बनाएर सिमा क्षेत्रमा खटाइएको थियो ।
नाम्खाका स्थानीयवासीहरूको सहयोगमा सुरक्षाकर्मीहरू ३ दिनसम्म निरन्तर पिलरको खोजीमा खटिदा ५८ वर्षदेखि हराएको तथ्य हातमा आएको तामाङले बताए । तथ्य फेलापरेसँगै दुई छिमेकी देशबीच वर्षौंदेखि बल्झिरहेको विवाद समाधान हुने अपेक्षा गरिएको छ ।
चीनले लोलुङजोङमा निर्माण गरिरहेको भवनहरूका सन्दर्भमा वार्ता गर्न निस्किएको हुम्ला प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली फर्किएको छैन । भवन निर्माणस्थलमा चिनियाँ अधिकारीहरूसँग वार्ता सम्भव नभएपछि टोली हिल्सा पुगेको बताइएको छ ।
नेपाल सरकार र काठमाडौंस्थित चिनियाँ दूतावासले चीनले भने नेपाली भूमि अतिक्रमण गरेर भवन नबनाइएको र दुई देशबीच सिमा विवाद नरहेको समेत प्रष्ट पारेका छन् । ११ नम्बर पिलर भेटिएसँगै बेलाबेलामा हुने गरेका छिटफुट विवाद पनि समाधान हुने बाटो खुलेको छ ।