१० आश्विन २०७८, आईतवार

कथा स्टेशन : रिभल्भर (भाग-२)



यो पैत्तिस वर्षको उमेरसम्म यत्ति उदेकलाग्दो घटना त कहिल्यै घटेको थिएन ।
मध्यरात
रिभल्भर समातेको हात
वाह !! क्या बात् !! क्या बात् !! भन्ने थिएँ यदि कन्डिशन् नर्मल थियो भने ।

जे होस् हातमा रिभल्भर छ ।
अनि किताब चै खोइ ? भन्नु होला ।
अब र्याकभरि किताब पालेर बसेको मनुष्यलाई किताब के कुरा भो र ? बरू केटाकेटि छँदा ‘बन्दुक पड्काइ’ सम्म नखेलेको मेरो हातमा रिभल्भर परेको छ । नयाँ कुरो भो नि त् हजुर् !

किताबको गोलिमार
रिभल्भर हातमा छ, किताबलाई गोलि हान्ने हो र ? क्या फन्टुस् बिचार आयो भनेर एक लट् हाँसे जस्तो लाग्छ । थाहा छैन ।

रिभल्भर हातमा भएको कारणले,
के म खुशि थिएँ ? अहँ !
के म दुखि थेँ ? अहँ !
के म डराएको थिएँ ? अहँ !
के म ओभरकन्फिडेन्ट् भएको थिएँ ? अहँ !
अनि म के भएको थिएँ त ? खै के खै के !

दिमाग कोरोना कहरले ठहरै परेको काठमाण्डुका तमाम् कोठा फ्ल्याट जस्तै खालि खालि खालि थियो ।
बिस्तारै त्यो रिभल्भरलाई राम्ररि हेरेँ ।
कालो वर्णको त्यो जिनिस् मेरो हातमा बडो मज्जाले निदाइरहेको छ । म त्यसलाई सुस्तरि ओछ्यानमा राख्छु अनि हेर्छु ब्युँझिन्छ कि ?
अहँ !! चल्मलाएन ! ढुक्क भयो ।

यसैबीचमा मलाइ लघुशंका जानुपर्ने अवस्था आयो । अब मैले लघुशंका भनेपछि पाठकहरूमा शंका उत्पन्न हुनसक्छ कि, “यो तोरीलाहुरे कथाकारले ट्विस्ट दिने नाममा कथालाई कुन भीरबाट गुल्टाउने भो भनेर”
अरे यार !! लघुशंका गर्नु भनेको पिसाब गर्नु, सुसु गर्नु, मुत्रबिसर्जन गर्नु हो ! क्लियर ??

“शंकाले लंका जलाउँछ”
यो उखान सम्झेपछि मलाई लघुशंका र रावणको सुनैसुनको लंकाको पिक्चर एकैचोटि दिमागमा आयो । हनुमानले लघुशंका गरेर लंका जलाएको हो कि भन्ने भो ! नेपालमा पनि थुप्रै हनुमानहरू छन् रे, कसकसका लंका जलाउने हुन् पत्तो नाइँ । आज म किन यत्ति फन्टुस् भैरहेको छु ? सम्झेर फेरि एक लट हाँसेजस्तो लाग्छ, थाहा छैन ।

शरिरको तल्लो भागमा पुन : असजिलो महशुस भएपछि झ्ल्ल्याँस्स सम्झेँ “हैट् ! पिसाब गर्न जानुपर्ने थियो लघुशंकामा अल्झिएँछु ।” मान्छे यसरि नै हो निःशब्दले अल्झिएर काम् नगर्ने ।

“खासमा जिन्दगी जिएर बिताउनु पर्ने थियो, अल्झिएर बिताइएछ !” फसाद छ हजुर फसाद छ !

बाथरूमतर्फ कदम बढाएँ । फेरि रोकेँ किनकि मेरो मनले रिभल्भरलाई त्यत्तिकै एक्लई ओछ्यानमा छोडेर जान मानेन । रिभल्भर उठाएँ अनि बाथरूमतर्फ प्रस्थान गरेँ । कल्पना गर्नुस् कोइ लेखक भनाउंदो रिभल्भर बोकेर मुत्रबिसर्जन गरिरहेछ । छैन त उदेक ?

फर्केर आएँ । रिभल्भरलाई सुस्तरि ओछ्यानमा सुताइदिएँ र आफु भुइँमा बसेँ । दिमागमा बिचित्रको शुन्यताले राज गरिरहेको छ, त्यसरि त गोरखामा पृथिविनारायण शाहले पनि के राज गरेको थियो होला र!
दिमाग मेरो !
राज शुन्यताको !
कस्तो बिडम्बना ! उफ् !

हाँस उठेजस्तै भो । हाँस्नलाई कुनै समस्या थिएन, हाँसिदिएँ । मध्यरातमा बिनाकारण कोहि यसरि पनि हास्न सक्दोरहेछ भन्ने सम्झेँ, फेरि हाँस् उठ्यो, फेरि हाँसे । हाँस्दाहाँस्दै ऐनामा आँखा पर्यो, ऐनाभित्र कोहि अरु नै हाँसिरहेको थियो । म तर्सेँ ।

“लौ सुन म भन्छु मेरो राम कहानि”
बजिया मोबाइल बज्याबज्यै गर्न थाल्यो । उठाएँ ।
उता : के चाला हो यस्तो ?
एता : कस्तो के चाला ?
उता : आधारातमा, रिभल्भर खाटमा, किताब हातमा लिएर कोहि हाँस्छ ?
एता : ……………………
उता : तेरो त्यो हातमा भएको किताब पढिसिध्याइस् कि नाई ?
एता : छैन ! अब पढ्नेछु !
उता : खासमा नेपाली साहित्य बिग्रेकै भनेको तँ जस्ता लेखक भनाउदा हरूले गर्दा हो ।
एता : मतलब ?
उता : लौ सुन् तँ जस्ता तोरिलाहुरे लेखकहरू पढ्ने अध्ययन गर्ने काममा जिरो छौ । अनि लेख्न, छाप्न, खादा भिर्न, सामाजिक संजालमा हिरो हुन चैँ खुब हत्तार भैहाल्ने हैन ? लक्कुबिनाको धक्कु !

उता : तँ जस्ता लेखक गीतकार कवि भनाउँदाहरूलाई त टुँडिखेलमा भेला पारेर गोलि हान्नु पर्ने हो । ढिच्याँउ !! ढिच्याँउ !! ढिच्याउ !!

उता : तर तँलाई मैले अघि नै सजाय दिइसकेको छु । त्यो पनि मध्यरातमा हाँसेर पुरै ब्रम्हाण्डलाई डिस्टर्ब गरेको खुंखार अभियोगमा । जा आफ्नो सजाय भोगचलन गर ।

फोन काटियो ।
अघि देखि नै म ऐनाअघि थिएँ । मलाई फेरि हाँस् उठेजस्तो भो । हाँसिदिएँ।
ओ माइ गड !! मेरा अगाडिका दुइटा दाँत गायब थिए !

अन्नपुर्ण हिमश्रृङ्खला जस्तै मेरा श्वेतदन्तलहरबाट मेरा दुइटा दाँत हराएका थिए । दाँत गुमाएको म बडो शोकमग्न र सोचमग्न भएँ । “आखिर कहाँ गए मेरा ती दाँतहरू ?”

उहिले पशुपति क्याम्पस पढ्दाताका एउटा किताब पढेको थिएँ, संगितकार अ्म्बर गुरुङ्गको “कहाँ गए ती दिनहरु” याद आयो ।

भर्खरै एउटा फिलिम हेरेको थिएँ “मेरा नाम जोकर”, जसको आधाउधि कपि गरेर नेपालमा पनि एउटा फिलिम “सेल्फि किङ्ग” बनेको थियो । मलाइ त्यै “मेरा नाम जोकर” मा मुकेशको स्वरमा रहेको गीत याद् आयो “जाने कहाँ गए वो दिन !”
मलाई भाउन्न भएर आयो ।

अब त्यो किताब् “मृत्युको जन्म” पढ्नुपर्ने भो । बडो बिचित्रको मनोदशमा म ति किताबका पाना पल्टाउदो भएँ ।

(प्रिय पाठकहरू ! यो मुला कथाकारले तँपाइहरूलाई खूब अल्मल्यायो । त्यसकारण् यो किताब भित्रको कथाहरू सस्वर वाचन गर्न चाहन्छु ।)
नमस्कार, सेवारो, ज्वज्वलोपा, तारेमाम अनि फ्याफुल्ला !!
मेरो नाम मृत्यु।)

अध्याय १ : पुजा प्रतिष्ठान्, हरियो स्वेटर, ‘एट् द एन्ड अफ् युनिभर्स’

यो अधुरो गीतकार, कवि, लेखक, मनुवा तिनताक एक साधिका कन्यासँग भयंकर प्रेममा थियो । यो मनुवालाई मैले पुजा प्रतिष्ठानको बाटो हिँडेको खुब देखेको हुँ । जनवरिको एक साँझ् यसले एउटा हरियो स्विटर प्रेमपुर्बक ग्रहण गरेकै हो । यो मनुवाले “एट द एन्ड अफ् युनिभर्स” मा गएर पिरतिको फल चाखेको पनि हो । मनुवाले एउटा गल्ति गर्यो । प्रेमको बाटो हिड्ने मेसोमा जिन्दगिको मुलबाटो बिर्सियो ।

हेर्नुस् न ! बिडम्बना !! उसको अवैध प्रेममा पुर्णविराम लाग्नु थियो, लागिदियो पनि । त्यसपछि यो मुला मनुवा खुब रोयो । यसले रोएरै होला त्यो साल बागमतिमा पनि बाढि आयो । सारा बाटा बन्द थिए, कहाँ जान सक्थ्यो र यो? त्यसैले अन्तिममा डिप्रेशनमा जाँदो भयो ।

(पृय पाठकहरु म अलि हतारमा छु । मेरो धेरै काम छ । त्यसैले डिटेलमा जान सकिन ।)

अध्याय २ : “डब्बागुल गीत” र अवार्डहरू

दोस्रो अध्यायमा स्वागत छ । जसले जे भनेपनि यो मान्छे प्रतिभाशालि चैं हो, सबैलाइ थाहा पनि छ । यो शब्द उन्न र गीत बुन्न बडो माहिर छ । कवितामा पनि शब्दलाई चिटिक्क सजाउनु पर्छ भन्छ, भुपि शेरचनको जस्तै राइम् खेल्न खोज्छ ।

तर बिडम्बना ! एसका मास्टरपिस गीतहरू कहलिएका संगितकर्मिहरूले “डब्बागुल” बनाइदिएको कुरो त तँपाइहरुले पनि पक्कै सुन्नुभएकै होला । गीत हिट भएर पनि यसको खल्तिमा पुस माघको ठन्डा ले डेरा जमाइरह्यो । बिचरो सोझो मान्छे , संगित क्षेत्रको बाङ्गो बाटो हिँड्न नजानेर पछारिइरह्यो ।

अझ् खास्साको कुरो त, यसले जिन्दगीमा पाएको पहिलो र अन्तिम अवार्ड पनि किनेको हो, अक्षरेपि रू. पन्ध्र हजारमा । त्यो पैसो उसले मसँग सापटि मागेको थियो । ६ महिनापछि तिरेको पनि हो ।

समग्रमा हेर्दा सिर्जनशिल सोझो मनुवा सिर्जनाकै क्षेत्रबाटै नमज्जासँग ठगिएपछि, कहाँ मात्रै गएन र ?

ओशो तपोवन गयो,
विपश्यना गयो,
पशुपति गुह्य्एश्वरि गयो,
कतै जाँदा पार नलागेपछि यो मान्छे डिप्रेशनमा गयो ।

अध्याय ३ कुसु एण्ड ज्ञाबु

यो कथा भन्नु अघि यहि मनुवाले हिन्दिमा लेखेको केहि कुरा यहाँ उद्धृत गर्ने अनुमति चाहन्छु ।

“भोलेभाले है हम्, सिधेसाधे हैं हम्
शायद इसलिए अकल के आधे हैं हम्
खुदको शतरंजका खिलाडि समझ्ते हैँ
असलमे शतरंजके प्यादे हैँ हम् !!”

यो उसले आफ्नै बारेमा बडो दिक्क मानेर लेखेको थियो । खासमा यो मनुवाका दुई थान हितैषि मनुवागण् थिय्ए, राहु र केतु जस्तै, कुसु एण्ड ज्ञाबु । यि दुइथान मनुवाले यो एक थान मनुवालाई खुब माया गरे । ‘तिम्रा समस्या हाम्रा हुन् भन्दिए’ । पानीमा चिनि घोलिएजस्तै यो मनुवा ती दुई मनुवाहरूसँग खुब घुलियो । घरब्यवहारको गाडिमा पेट्रोल यिनै हितैषि मनुवाहरुको पेट्रोल पम्पबाट हाल्ने निधो गर्यो।
मुस्तांगे स्याउजस्तै सरल सरस यो मनुवा लीलबहादुर क्षेत्रीको उपन्यास ‘बसाँइ’ की ’झुमा’ जस्तै सोझो यि दुइ रिकुटेहरूको मयाँपिरिममा पर्दो भयो । त्यतिमात्र कहाँ हो र ! यो मनुवाका सोझो परिवारले पनि तिनै रिकुटेहरूलाई भर गर्दो भयो । यो दुनियाँ तेत्ति खराब चैँ हैन रैछ भन्ने निष्ष्कर्षमा पुगि यो मानव मखलेल हुन पुग्दो भयो ।

बिडम्बना!!
गीतझैँ जिन्नगि हुन्न रैछ बरिलै !!
मुन्छे त्यसै रुन्न रैछ !!लइ बरिलै !!

ऊ आफैले निर्माण गरेको सातौँ आस्मानबाट यथार्थको भुइँमा बजारियो, किनकि दुइ थान मनुवाहरु एक दिन मित्रताको आकाशबाट ‘गुडबाइ’ नभनि तारा झैँ बिलाइ गए । उसको सुन्दर सपना ‘गोपिक्याँच’ भयो । ऊ भित्रको सोझो मान्छे नरम्ररि चर्कियो । कलेज र युनिभर्सिटिका तमाम जाँच टप्दै हिँडेको यो मनुवा मान्छे पहिचान गर्ने जाँचमा पुल्टुन्ङ्वाजि खायो ।

उसले ’आफुलाई’
‘आफ्नो मनलाई’
‘सोझोपनलाई’
‘विश्वासका निर्यणहरूलाई’ पटक–पटक माझि औँला देखाउदै अश्लिल् गालि गर्यो, धिक्कार्यो, थुक्यो ।

यो पटक ऊ कतै गएन ।
बरू एक बिहान उसले आफ्नो मनको हत्या गर्यो, विरिङ् खोलामा लगेर आफ्नो मनलाई दागबत्ति दियो, कृयाकर्म पनि सिध्यायो ।
यसरि यो मान्छे एउटा ‘खुंखार पाषाण मानव’ मा रूपान्तरित भयो ।
यसरि कथा सक्किएको जानकारि गराउँछु ।। धन्यवाद् !!

बडो झ्याउ भो।
यो नाथे किताबले मेरो बेइज्जत गरिदियो ।
मैले बडो जतनसाथ लुकाइराखेका ‘जिन्दगिका रहस्यहरुलाई’ एसले घाममा ‘बिस्कुन’ सुकाएझैँ सुकाइदियो ।
सम्झनाको साम्राज्यबाट ‘आजिवन निर्वासनमा’ पठाइएका पात्रहरूलाई यो मुलाले ‘जोरघडा’ राखेर पुन स्वागत गरिदियो ।

‘हुनुपर्ने भएन नहुनुपर्ने भो
अब पथ्थरले नै रूनु पर्ने भो’
बडो झ्याउ भो !
अब क्यार्नि ?
चुरोट सल्काउने !
चुपचाप चुरोट सल्काएँ । मेरो मनोदशा देखेर चुरोटले पनि मलाई चुपचाप तानिरह्यो र धुवाँ बनाएर उडाइरह्यो । मलाइ जिवन दर्शनका कुनै क्याप्सुल् खुवाएन । समग्रमा भनूँ “डिस्टर्ब् गरेन ।”

कुखुरा बासेको जस्तो लाग्यो ।
झ्याल खोलिदिएँ, बिहान हाँसेको जस्तो लाग्यो ।

चिसो बतास “म आउन सक्छु ?” नभनिकन मेरो कोठाभित्र छिर्यो ।

मन्दिरमा कसैले घन्टि बजाएछ्, मेरो मनैसम्म आएर गुन्जियो ।

अल्लि राहत भयो ।

सेप्टेम्बर ३

उठेँ, बिछ्यौना मिलाएँ ।
रिभल्भर उसैगरि निदाइरहेको थियो, जसरि निदाउछन् मुर्दाहरू, चितामाथि, चीरनिन्द्रामा । ‘डिस्टर्ब्’ गरिन ।

किचेनमा गएँ ।
ग्याँस सिलिन्डर र स्टोभलाई ब्युझाएँ ।
पानी तताएँ ।
कागतिको पेटमा निचोरेँ, अ्मीलो बान्ता गर्यो जस्लाई पानीमा मिसाएर पिएँ ।

बडो बिचित्रको शान्ति महशुस हुदैछ पृय पाठकहरू ।

“मोहको गुलियो महमा डुबी म एक मख्खि हुँ मर्दै गरेको”
आफ्नै रचनामा रहेको भजन् गुन् गुनाएँ । बडो दिब्य फिल् भो ।

मलाई एकदम अनौठो संग हतार जस्तो महशुस भैरहेको थियो । एस्तो लाग्दैथ्यो कि “जिन्दगिको गाडि छुट्नै लागेको छ, म प्यासेन्जर अझै घरमै अल्झिएको छु ।”

हतार–हतार खाना पकाएँ । दाल फ्राइ बनाएँ । गोलभेडा र धनियाँको चटनी तयार गरेँ । बडो स्वादिलो लाग्यो, कपाकप् खाएँ ।

हतार–हतार ल्यापटप् खोलेँ । युट्युबलाई केहि नसोधि छिरेँ र टाइप गरेँ
How to use a revolver ?
कृश बेकर स्कृनमा देखिदा भए । लक्कि गनर डट कम मार्फत उनले मलाई रिभल्भर चलाउने शिक्षा दिक्षा प्रदान गरे ।
एकै चोटिमा ‘भेजा’ मा घुसेन । पटक–पटक हेरेँ ।

अनायास मलाई किन हो किन रिभल्भर ब्युँझिएजस्तै भान भो ।
लौ त ! त्यो कालोवर्णको जिनिस त ब्युँझिएछ ।

म : अभिवादन् प्रिय हतियार ज्यु !
ऊ :अभिवादन् प्रिय कवि, गीतकार, गजलकार, कथाकार, कलाकार ज्यु ! म जिन्दगिमा यत्ति मस्तसँग कहिले पनि निदाएको थिइन । तपाँइको बेड बडो तिलस्मि रहेछ ।

म : धन्यवाद । तपाईँ साँच्चिकै प्यारो हुनुहुन्छ ।

यसरि हामीबीच गफगाफ भयो । मेरो कुराले ऊ फ्रेस भैगयो । बिस्तारै उसको र मेरो मायापिर्ति गाँसियो र झ्याङ्गियो ।

उसले मसँग सत्रवटा सेल्फि खिच्ने इच्छा जाहेर गर्यो ।
मैले उसको इच्छा पुरा गरिदिएँ ।

फेरि उसले मेरो र उसको तस्बिर फेसबुकमा अपलोड् गर्ने अर्को इच्छा जाहेर गर्यो ।
मैले मेरो फेसबुक खोलेर अपलोड गर्न ठिक्क पारेँ।
क्याप्सन त चाहियो, क्यार्नि ?
क्याप्सन उसैले फुरायो “मृत्युको जन्म”

म जिन्दगिमा अन्तिम चोटि नराम्ररि झस्केँ ।

“मृत्युको जन्म”
मलाई बडो अ मंगल जस्तै केहि महशुस भयो । मैले हत्तपत्त त्यो किताब पल्टाएँ ।
अपसोच सारा कथाहरु गायब थिए, जसरि मेरा माझी औँला र अगाडिका दुइटा दाँतहरु गायब भएका थिए ।
पानाहरू सफेद एवम् खाली, खाली, खाली थिए, मानौ ती पानाहरू कुनै तिलस्मि कथाहरू जुगौँ देखि पर्खेर बसेका छन् ।
मलाई बडो तनाव् भो ।

“लौ सुन म भन्छु मेरो राम कहानी”
मलाई आफ्नै मोबाइलको रिङटोन देखि पहिलोचोटि डर् लाग्यो । उठाएँ ।

उता : अब त मलाई चिनिस् होला नि ! हैन?
एता : म अझै बिलखबन्दमा छु हजुर !
उता : त्यसो भए सुन्, म त्यहि हुँ, जसले सजायस्वरूप तेरो माझि औँला र अगाडिका दुई दाँतहरू छिनेको थिएँ ।
अनि म त्यहि हुँ, जसले तँलाई उपहारस्वरुप् “मिडनाइट् गिफ्ट्“ छोडेको थिएँ । अनि म त्यहि हुँ, जसले तेरो जिन्दगिको ‘रहस्यमयि कथा’ सस्वर वाचन गरेको थिएँ । अब त पक्कै चिनिस् होला ।
एता : तपाईँलाई सशरिर हेर्ने अन्तिम इच्छा छ मेरो ।
उता : ठिक छ तेरो इच्छा पुरा हुनेछ । त्यो भन्दा पहिला एउटा काम सिध्याउन बाँकि छ तैँले ।
एता : के काम् ?
उत : तैँले ती तमाम् फोटाहरु फेसबुकमा अपलोड गर्न मात्रै बाँकि छ ।
फोन काटियो ।

म ल्यापटपतिर फर्केँ र अपलोड क्याच्च थिचेँ ।
रिभल्भर टिपेँ र म अघिकै अवस्थामा फर्किएँ ।

ऊ ठिंग मेरो सामु उभिएको थियो । मेरो जस्तै उसको पनि कपाल खुइलिएको थियो ।
ठ्याक्कै पाँच फुट तीन इन्च अग्लो उसले त्यहि हरियो स्वेटर धारण गरेको थियो । म अचम्ममाथि अचम्ममा चैँ त्यतिखेर परेँ, जब देखेँ उसको हातमा त्यहि रिभल्भर थियो जुन् मेरो हातमा पनि थियो ।

उसले मलाई मेरो सदाबहार गीत बजाउने आदेश दियो । मैले आदेशको पालना गरेँ ।

उसले घडितिर हेर्दै समयलाई रोकिन आदेश दियो । समय ठ्याक्कै १२ बजेर १७ मिनेटमा रोकियो ।
फरक यत्ति थियो कि यो दिउँसोको समय थियो ।

उसले मेरो आँखिभौबीचको भुभागलाई केन्द्र बनाएर रिभल्भर ताक्यो ।
मैले नि ठिक् त्यसै गरेर रिभल्भर ऊ तिर सोझ्याएँ ।

उसले ट्रीगर दबायो ।
मैले ट्रीगर दबाएँ ।

त्यसपछि म निदाएछु ।
ब्युँझिदा आफुलाई चिता नम्बर चार माथि फेला पारेँ ।
हत्तपत्त उठेँ र चैतको हुरिझैँ हान्निएर म मेरो डेरामा आइपुगेँ ।
ढोका भित्रैबाट ‘लक’ थियो, आफ्नै नाम पुकारेर खोलेँ । भित्र छिरेँ ।

एउटा ताजा बुके मेरो ओछ्यानमा थियो जसको साथमा एउटा शुभकामना पत्र पनि बिराजमान थियो ।

ठ्याक्कै मेरै जस्ता सुन्दर बान्कि परेका अक्षरहरूमा लेखिएको थियो
“पृय जिन्दगि !! नयाँ यात्राको लागि शुभकामना छ ।”

यो पनि पढ्नुहोस् (रिभल्भर भाग-१)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको