१८ फाल्गुन २०७७, मंगलवार

नेपालमा पहिलो पटक ९ औं विश्व साइकल सम्मेलन भव्य रूपमा सम्पन्न



६ असोज, काठमाडौं । नेपालमा पहिलो पटक ९ औं विश्व साइकल सम्मेलन विभिन्न कार्यक्रमहरू गरी भव्य रूपमा सम्पन्न भएको छ । सम्मेलन असोज ३ गतेदेखि सुरु भएको हो । ३ गते विहान संसारलाई साढे पाँच फन्को लगाउने विश्व साइकल यात्री एवम् सम्मेलनका संयोजक पुष्कर शाहलगायत ३५ जना साइकल प्रेमीहरूले काठमाडौंको २७ किलोमिटर चक्रपथ परिक्रमा गरेका थिए । साइक्लिङमा सहभागी सबैले एकैखालको नयाँ टिसर्ट, पाखुरा वा छातीमा एकैखाले ब्याच लगाएका थिए । काठमाडौं झल्काउने चित्र कोरिएको टिसर्टमा ‘विश्व साइकल सम्मेलन, काठमाडौ’ं र ब्याचमा ‘वल्र्ड बाईसाइकल फोरम २०२०, नेपाल’ लेखिएको थियो ।

काठमाडौंमा भएको ‘विश्व साइकल सम्मेलन’को पहिलो दिन विहानीको ‘वार्म अप’ निकै उत्साहजनक थियो । कोरोनाको कहरले गर्दा ठुलाले सङ्ख्यामा र्याली नगरी थोरै साइकल यात्रीहरूले बेलुकी सुरु हुने सम्मेलनको ‘वार्म अप’का लागि चक्रपथ परिक्रमा गरेका थिए । बिहान साढे ७ बजे चक्रपथको महालक्ष्मीस्थानबाट सुरु गरेर १० बजे चक्रपथ परिक्रमा पूरा भएको ‘वार्म अप’ मा ७ वर्षे बालक राहुल चौधरीदेखि एक हात मात्र भएका साइकल यात्री रामबहादुर अधिकारी समेत सहभागी भएका थिए ।

असोज ३ गते बेलुका नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले साइकल चढी घण्टी बजाउनुका साथै दिप प्रज्ज्वलन गरी ९ औं विश्व साइकल सम्मेलनको उद्घाटन गरेका थिए । सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले नेपालमा पहिलो पटक आयोजना भएको यो सम्मेलन कोरोना कहरका कारण भर्चुअल रूपमा गर्नु परेको बताए । यो सम्मेलन विभिन्न देशका जनताबीचको सम्बन्ध, संस्कृति, पर्यटन प्रवद्र्धनका लागि कोशेढुङ्गा बन्ने सुभेक्षा समेत प्रकट गरे ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन सफलताको शुभकामना सन्देश पठाएका थिए । प्रधानमन्त्री ओलीले नागरिकको व्यक्तिगतदेखि राज्यको सार्वजनिक जीवनमा समेत साइक्लिङको बहुआयामिक उपयोगिता रही आएको र यो आफैमा विशेष व्यायाम हुनुका साथै यसले शरीरलाई सुमचित ढङ्गले सक्रिय र स्वस्थ राख्दछ भनी सन्देश दिएका थिए । नागरिकहरूको स्वास्थ्य एवम् समग्र पर्यावरणको सन्तुलनमा सकारात्मक प्रभाव पार्ने यस अभियानको प्रवद्र्धनमा सरकारको तर्फबाट प्रधानमन्त्री ओलीले सन्देशमा प्रतिवद्धता समेत व्यक्त गरिएको थियो ।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका सचिव एवम् साइक्लिङसम्बन्धी अभियान्ता केवलप्रसाद भण्डारीले नेपालजस्तो अल्पविकसित देशका लागि साइकल स्वास्थ्य र सुलभता दृष्टिकोणले निकै उपयोगी रहेको बताए । साइक्लिङलाई संस्कृतिका रूपमा अगाडि बढाउनु पर्नेमा उनले जोड दिए ।

९ औं सम्मेलनका संयोजक विश्व साइकल यात्री पुस्कर शाहले संसारभरीका साइकलप्रेमीहरूलाई सगरमाथा र बुद्धको देशमा भेट्न पाउँदा निकै गौरवान्वित भएको बताए । शाहले भने, ‘कोरोना महामारीका कारण आफ्ना आँगनमा भेट्न नपाएकोमा दुःखी छु, भोलीका दिनमा तपाईंहरूलाई हामी स्वागत गर्न पर्खिरहेका हुनेछौं । सगरमाथाको काखमा तपाईंहरूलाई जहिले पनि स्वागत छ ।’

असोज ३–६ गते सम्म भएको यस चार दिने सम्मेलनमा साइकल सम्बन्धी फिल्म, भिडियो, डकुमेन्ट्री, चित्रकला, फोटो प्रदर्शनी तथा साइकल सम्बन्धी मुद्दामा वहस र अन्तक्रिया कार्यक्रम गरिएको छ ।

यही सन्दर्भमा सबैभन्दा दुर्गम कर्णाली प्रदेशमा पनि कर्णाली राइडर्समार्फत् साइक्लिङसम्बन्धी अभियान्ताहरू माधब चौलागाईं, डा. नवराज के.सी., विशाल के.सी.को अगुवाईमा दुई वटा महत्वपूर्ण भर्चुअल कार्यक्रम गरिएको छ । जसमा वीरेन्द्रनगरलाई साइकल सहर बनाउन स्थानीय तहको पहल तथा नीतिगत योजना र पश्चिम नेपालमा साइक्लिङसम्बन्धी अन्वेषण गरी दुइटा विषयमा विस्तृत वहस गरिएको छ ।

विश्व साइकल सम्मेलन सन् २०१८ मा बहुमत भोट पाएर नवौं सम्मेलन नेपालमा गर्ने अवसर पाइएको थियो । यसअघि ब्राजिल, कोलम्बिया, चिली, मेक्सिको, पेरु, इक्वेडरमा यो सम्मेलन भइसकेको छ । आज एक समारोहका बीच विश्व साइकल यात्री एवम् संम्मेलनका संयोजक पुस्कर शाहबाट आगामी सम्मेलनका लागि अर्जेन्टिनालाई झण्डा हस्तान्तरण गर्दै विश्व सम्मेलन समापन भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु