२१ जेष्ठ २०८०, आईतवार

कोरोना सङ्क्रमित कैदीको आँखा झिकिएको आरोप, आफन्त आन्दोलित



६ असोज, काठमाडौं । वीर अस्पतालमा मृत्यु भएका कोरोना सङ्क्रमित कैदीको शरिरका महत्वुपूर्ण अंगहरू झिकिएको भन्दै आफन्तहरू प्रदर्शनमा उत्रिएका छन् ।

केन्द्रीय कारगारमा जेल सजाय भोगिरहेका ६३ वर्षीय रामलखन जैसवालको आँखालगायतका अंगहरू अस्पतालले झिकेको भन्दै आफन्तहरू प्रदर्शनमा उत्रिएका हुन् ।

गत शनिबार राति १० बजेतिर मृत्यु भएका जैसवालको शरिरमा गम्भिर चोटपकट देखिएको भन्दै आफन्तले तत्काल छानविनको माग गरेका छन् ।

आफन्तका अनुसार मृत्युपछि गरिएको कोरोना परिक्षणमा जैसवालको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरूले कोरोनाको कारण जैसवालको मृत्यु नभएको दाबी गर्दै हत्या गरेर अङ्ग झिकिएको गम्भीर आरोप लगाएका छन् ।

मृतककी छोरी रश्मी जैसवालले भनिन्, ‘रिपोर्ट देखाएर हत्या लुकाउने षड्यन्त्र भएको छ । मेरो बिचारमा जेलमा नै बुवाको हत्या भएको हो ।’

६७ वर्षीय कैदी जैसवाल पार्किन्सन् र उच्च रक्तचापका रोगी थिए । वीर अस्पतालका प्रवक्ता विद्यानिधि पौडेलले भने आफन्तको आरोप र बुझाइमा सत्यता नभएको दाबी गरेका छन् । पौडेलले भने, ‘वीर अस्पताल ल्याइ पुर्याउनु अगाडि नै कैदी जैसवालको मृत्यु भइसकेको थियो । त्यसपछि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो र आफन्तले भनेजस्तो मृतकको शरिरमा कुनै चोटपटक छैन ।’

केन्द्रीय कारागारका जेलर लक्ष्मिप्रसाद बास्कोटाले पनि आफन्तले अनुमानमा लगाएका आरोपहरू झुट्टा भएको बताएका छन् । बास्कोटाका अनुसार जैसवाललाई श्वासपश्वासमा समस्या देखिए पछि शनिबार राति वीर अस्पताल लगिएको थियो । वीर अस्पतालका लागि जेलबाट निस्किदा जैसवालको शरीरमा कुनै पनि चोटपटक नभएको जेलर बास्कोटाले दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको