मङ्गलबार १३५६ जनामा कोरोना सङ्क्रमण पुष्टि, निको हुने दर ७२ प्रतिशत
६ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर थप १३ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।
काठमाडौं उपत्यकामा मात्रै आज ६ सय ४७ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
मङ्गलबार थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ६६ हजार ६ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशका विभिन्न अस्पतालमा उपचाररत ८ सय २३ जना सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । त्यस्तै ७१ दशमलव ५ प्रतिशतबाट वृद्धि भएर निको हुने दर ७२ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।