कर्णालीमा कालिज फर्म
५ असोज, काठमाडौं । कर्णाली प्रदेशमा गत वर्षदेखि धमाधम कालिज फर्महरू खुल्न थालेका छन् । वीरेन्द्रनगरदेखि माथिको रमणीय डाँडो सिद्धपाइलामा व्यावसायीक कालिज फर्म खुलेका छन् ।
काठमाडौंमा कालिज फर्म खोलेर सफलता हात पारेका युवा व्यवसायीहरू र कर्णालीका युवा नेता हस्त बहादुर शाहीलगायत उनका साथीहरू मिलेर करिव १८ रोपनी जग्गामा खुला कालिज फर्म सञ्चालन गरेका हुन् । सुरुमा करिव ५०० चल्लाहरूबाट सुरु गरिएको यो फर्ममा अहिले करिव २५०० भाले पोथी र चल्लाहरू रहेका छन् ।

विशाल जालीले घेरिएका यी फर्ममा कालिजहरू प्राकृतिक अवस्थामै झाडी र जङ्गलमा चारो टिप्ने, लुक्ने, बस्ने गर्दछन् । कम्पनी सञ्चालकका अनुसार उनीहरूको समूहले फर्ममा करिव १ करोड लगानी गरिसकेको छ । उनीहरूले सरकारबाट कम्तीमा ह्याचरी स्थापना गर्न सहयोग भएको भए आफ्नो लगानी उकास्न सजिलो हुन्थ्यो तर त्यो सहयोग आफूले पाउन नसकेको बताउँछन् ।
ह्याचरीका लागि अण्डाहरू बाहिर लिनु पर्ने बाध्यता एकातिर रहेको छ भने अर्काेतर्फ वीरेन्द्रनगर सानो बजार भएकाले काठमाडौं पोखरा लगायतका स्थानमा बजारका लागि पुग्नु पर्ने अवस्था छ । कोरोना महामारी नभएको भए सायद उनीहरूको लगानी उकास्न सक्ने थिए । कालिज रेष्टुरेन्ट खोल्ने तयारी गरिरहेको बेला कोरोना महामारीको चपेटामा परेका बताउँछन्उनीहरू ।
नेपालमा पहिलो पटक काठमाडौंमा नेपाली युवा उद्यमी सुशिल भट्टराईले डेढ करोड लगानीमा काठमाडौंमा कालिज फर्म स्थापना गरेका थिए । एभरेस्ट वाइल्ड लाइभ एग्रो एन्ड रिसर्च सेन्टरमार्फत् सञ्चालनमा ल्याइएको कालिज फार्ममा नेकपा युवासंघका नेता नरेश शाही, नेकपा केन्द्रिय सदस्य दिलु पन्तलगायतका साथीहरू सङ्लग्न थिए । फर्म सञ्चालन गर्न कालिजका अण्डाहरू युरोपबाट मगाइएको थियो ।
त्यस्तै सिद्धपाइलामा पनि प्रदेश सभा सदस्य शुसिल थापालगायत उनका साथीहरूले लोकल कुखुरा र कालिज फर्म खोलेका छन् । त्यसको मुन्तिर गोडीकाँडामा पनि अर्काे कालिज फार्म सुर्खेतका एक स्थानीय युवाले सञ्चालनमा ल्याएका छन् ।
कोरोना महामारीको अन्त्य र रारा पर्यटन सुरू हुनासाथै पर्यटकका लागि खाजा र खाना खाँदै रमाइलो गर्ने महत्वपूर्ण गन्तब्य यी कालिज फार्म बन्न सक्दछन् ।
उद्यमशीलताको यस्तो बाटोबाट अरु कर्णालीका युवाले पनि नयाँ–नयाँ व्यवसाय गर्दै आफ्नो र प्रदेशको समृद्धि बढाउन सक्दछन् ।