१५ मंसिर २०७८, बुधबार

आन्तरिक उडान सुरू भएको पहिलो दिनमै ७० प्रतिशतले यात्रा गरे



यमुना राना

५ असोज, काठमाडौं । आन्तरिक हवाई उडान सुचारू भएको पहिलो दिन उडान कम रहेपनि ७० प्रतिसत यात्रुहरूले यात्रा गरेको वायुसेवा सञ्चालक संघले जनाएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा सोमबार १८० दिनपछि सुरु भएको हो ।

उडान सुुचारू भएसँगै लामो समयदेखी सुनसान विमानस्थलहरूमा आजदेखी यात्रुहरुको चहलपहल पनि सुरु भएको छ ।

आज काठमाडौंबाट उडेको बुद्ध एयरको पहिलो जहाज बिहान पौने ९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो । जहाजमा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना भए नभएको निरिक्षण गर्न वायुसेवा सञ्चालक संघका पदाधिकारी पनि पोखरा पुगेका थिए । संघका प्रवक्ता योगराज कँडेलले एयरलाइन्सहरूलाई कडाईका साथ स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराइएको बताए ।

‘यो समयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी यात्रुलाई गन्तव्यमा पुर्याउने कुरा नै सबैभन्दा महत्वपुर्ण रहेको छ’ प्रवक्ता कँडेलले भने, ‘विमान सेवा प्रयोग गर्ने यात्रुले पिसिआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ भएको घोषणा पत्र स्वयमले भर्नु पर्नेछ ।’ घोषणापत्र अनलाइन पनि भर्न सकिने र विमानस्थलमै पनि भर्न सकिने उनले जानकारी दिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पनि स्वास्थ्य सावधानी र चेकिङको व्यवस्था मिलाइएको छ । ‘नागरिक उड्डयन प्राधिकरणले बनाएको कोरोना सम्बन्धी प्रोटोकल पालना गर्ने गरी आजदेखि सेवा सञ्चालन सुरु गरिएको छ ’ विमानस्थल प्रवक्ता देवचन्दलाल कर्णले भने ।

नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटा कम्पनीले सेवा सुरु गरेका छन् । वायुसेवा कम्पनीहरूले उडान अनुमतिको आधारमा २५ प्रतिशतमात्रै उडान तालिका बनाएर सेवा दिनुपर्ने व्यवस्था गरिएको पनि प्रवक्ता कर्णले बताए ।

आज देशका विभिन्न भागमा यात्रु लैजान ५० वटा उडान अनुमति दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगम लाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी ५० वटा उडानलाई अनुमति दिएको हो ।

नयाँ व्यवस्था अनुसार उडान समय भन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोला र अत्यावश्यक सामान मात्रै लैजान पाइने छ । भदौ २९ को मन्त्रिपरिषद् बैठकले झन्डै ६ महिनापछि आन्तरिक उडान सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सरकारले कोरोना सङ्क्रमण बढिरहेको भएपनि जनजीवन सहज बनाउने उद्देश्यले सबै क्षेत्र क्रमस सुचारू गर्दै लगिरहेको छ । तर सङ्क्रमण बाट जोगिन भने हामी नागरिकहरू नै सचेत र संयम हुनुपर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको