बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गर्ने आङरिता शेर्पाको निधन्
५ असोज, काठमाडौं । बिना अक्सिजन १० पटक विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने किर्तिमानी पर्वतआरोही आङरिता शेर्पाको निधन भएको छ । सोमबार विहान १० बजे आफ्नै छोरीको घरमा ७२ वर्षीय शेर्पाको निधन भएको हो ।
लामो समयदेखि फोक्सो र मष्तिस्क सम्बन्धी समस्यासँग लडिरहेको शेर्पाको सोमबार काठमाडौंको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए । उनका अनुसार बौद्ध परम्पराअनुसार शेर्पाको बुधबार दाहसंस्कार गर्ने तयारी भएको छ ।
सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय शेर्पालाई ‘हिमचितुवा’ उपनामले चिनिन्थ्यो । सन् १९८३ देखि सगरमाथा आरोहण सुरू गरेको शेर्पाले अन्तिम पटक सन् १९९६ मा सगरमाथा आरोहण गरेका थिए ।
सगरमाथा मात्र होइन शेर्पाले नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरी र पाकिस्तानको माउन्ट केटुसहित दर्जनौं हिमालाहरू बिना अक्सिजन नै आरोहण गरेका थिए ।
पर्वतआरोही आङरिता शेर्पाको निधन भएपनि बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेको उनको किर्तिमान आजसम्म कसैले भङ्ग गर्न सकेको छैन ।