१४ फाल्गुन २०७७, शुक्रबार

प्रिष्ट एण्ड कोब्लर : सामाजिक राजनीतिक परिवर्तनको तरङ्ग बुझाउने किताब


माधब चौलागाईं
५ आश्विन २०७७, सोमबार

कर्णाली क्षेत्रमा अनुसन्धान गरी लेखिएका पुराना किताबहरू खोज्ने र अध्ययन गर्ने सिलसिलामा यो किताब भेटें । पढ्दै गर्दा प्राक्कथनमा लेखकले अध्ययन स्थलको बास्तविक नाउँ नराखी छद्म नाम प्रयोग देखेर चासो बढ्यो । किताबमा पश्चिम नेपालको बेलासपुर जिल्लाको द्वारी गाउँमा विगत दुई दशक अर्थात् सन् १९५१ मा राणा शासनको अन्त्य भई प्रजातन्त्र आएपछिको अवधिमा भएको सामाजिक परिवर्तनको अध्ययन भनिएको छ । छद्म नाउँको प्रयोग र राणा शासनदेखि पञ्चायत कालसम्म भएका परिवर्तनले ग्रामीण समाजमा ल्याएका असरहरूको अध्ययन भएकोले यो किताबमा रुची बढ्यो ।

प्राक्कथनमा लेखकले अध्ययन स्थलको बास्तविक नाउँ नराखी छद्म नाम प्रयोग देखेर चासो बढ्यो । किताबमा पश्चिम नेपालको बेलासपुर जिल्लाको द्वारी गाउँमा विगत दुई दशक अर्थात् सन् १९५१ मा राणा शासनको अन्त्य भई प्रजातन्त्र आएपछिको अवधिमा भएको सामाजिक परिवर्तनको अध्ययन भनिएको छ ।

सन् १९७२ मा सान्फ्रान्सिस्कोबाट प्रकाशित प्याट्रिसिया काप्लानको किताब “प्रिष्ट एण्ड कोब्लरः अ स्टडी अफ सोसल चेन्ज ईन अ हिन्दु भिलेज ईन वेस्टर्न नेपाल” बारे यहाँ चर्चा गर्दैछु ।

बेलायती समाज मानवशास्त्री काप्लानले आधा शताब्दी अघि सन् १९६९ को सालभर जनवरीदेखि डिसेम्बरसम्म दैलेखको एक गाउँमा बसेर त्यहाँको तात्कालीन सामाजिक र साँस्कृतिक परिवर्तनको अध्ययन गरेर यो किताब लेखेकी हुन् । किताबमा अध्ययन स्थललाई बेलासपुर जिल्ला भनिएको छ तर लेखिकाको सङ्कलनलाई आर्काइभ गर्ने साइटहरूले उनले फिल्डमा खिचेका फोटो र स्थान परिचय दिँदा अध्ययन स्थल दैलेख जिल्ला बताएका छन् ।

उनका अनुसार यस क्षेत्रमा खस साम्राज्यकालीन मल्ल राजाहरू पछि ठकुरी, मुगल र त्यसपछि शाहवंशले शासन गरेका थिए । तर गाउँहरूमा राजनीतिक क्रियाकलापहरू भने शाह शासन कालबाट सुरु हुनथाल्यो । यसको अर्थ त्यसपछि माथिल्लो जातले शासन गर्ने भन्दापनि राजनीतिबाट शासित हुने अवस्था बन्यो ।

राणा शासनकालमै यहाँको गाउँमा कर तिर्न र अत्यावश्यक सामानको जोहो गर्न चाहिने रकम पैंसाको दिर्घकालीन अभाबले गर्दा सामाजिक परिवर्तन आइरहेको थियो । विशेषगरी हुनेखाने बाहुनहरूबाट अछुत जातका मानिसले ऋण लिने बाध्यता र फिर्ता गर्न नसक्नेहरू उठिबास हुने अवस्था थियो । यसले गर्दा गरिबहरू झन् गरिब भए र उनीहरूको बाहुनमाथि परनिर्भरता झन् बढ्यो । ऋण र भूमि विहीनताको चक्रब्युहमा फसेर विकल्पहीन हुनेहरू अदक्ष कामदारको रूपमा भारत पलायन हुने क्रम बढ्यो ।

सात सालमा प्रजातन्त्रको आगमन यता जिल्ला र गाउँमा बजेट पुग्यो । गरीबहरूले केही राहत पाए । यस परिवर्तनले अछुतहरूमा बाहुनमाथिको परनिर्भरता बिस्तारै कम भयो । कतिपयले आफैले आफ्नो जग्गा पनि किने र यसले अर्थपूर्ण राजनीतिक प्रतिकार सुरु हुनथाल्यो । सुरुसुरुमा बाहुनहरूको आफ्नै गठबन्धन भयो तर पछि उनीहरूले अछुतहरूको चुनावी महत्व बुझे ।
आर्थिक सबलता नभएको भए के ती अछुतहरू बाहुनको विरुद्ध लड्न सक्दैन थिए ? परिवर्तनका अरु कारक तत्वहरू के छन् र यी बीचमा अन्तरसम्बन्ध के हुनसक्छ ? भन्ने प्रश्नहरूको उत्तर खोज्नु नै यो अध्ययनको उद्देश्य थियो भनिएको छ ।

यसलाई मोनोग्राफको रूपमा प्रस्तुत गरिएको छ । मानवशास्त्रीहरूले फिल्डमा पुगे कुनै समूह वा गाउँमा गरेका अनुसन्धान क्रियाकलापहरूलाई तत्कालै मोनोग्राफको रूपमा लेख्छन् जसमा कुनै सेरिजको रूपमा वा विस्तृत छलफल गरिएको हुँदैन ।

माओवादी जनयुद्धलाई अध्ययन गर्नेहरू कसै–कसैले काप्लानको अध्ययनले उतिबेलै समेटेको चुरो अर्थात् समाजमा अन्तरनीहित जाति व्यवस्था र अर्थ व्यवस्थाको सङ्घर्ष नै विद्रोहको जरा थियो भनेका छन् । यो अध्ययनको मूलबिन्दू नै जग्गाको स्वामित्वले ल्याएको द्वन्द्व हो ।

माओवादी जनयुद्धलाई अध्ययन गर्नेहरू कसै–कसैले काप्लानको अध्ययनले उतिबेलै समेटेको चुरो अर्थात् समाजमा अन्तरनीहित जाति व्यवस्था र अर्थ व्यवस्थाको सङ्घर्ष नै विद्रोहको जरा थियो भनेका छन् । यो अध्ययनको मूलबिन्दू नै जग्गाको स्वामित्वले ल्याएको द्वन्द्व हो । अर्थात् विद्रोहको पृष्ठभूमि उतिबेला देखिनै तयार भइरहेको थियो भन्न सकिन्छ ।

यो गाउँमा सार्की अर्थात् छालाको जुत्ता बनाउने जातिहरू (कोब्लर) कसरी उत्पीडित भए र उनीहरूको शक्तिलाई कसरी राजनीतिक गुट बन्नमा प्रयोग भयो भन्ने विषय केन्द्रित छ । गाउँको समसामयिक र विगतका परिवर्तन र कारक तत्वहरूको सम्बन्धमाथि अध्ययन गरिएको हो । उतिबेलाको ग्रामीण परिवेशमा दुर्गम गाउँमा हुने स–साना आर्थिक, सामाजिक, राजनीतिक गतिविधिहरूको सुक्ष्म विश्लेषण भेटिन्छ ।

लेखिकाले यस किताबलाई ७ परिच्छेदमा बाँडेकी छन् । जसमा पहिलो परिचय खण्ड र अन्तिमको निष्कर्ष खण्ड छोडेर अन्य तीनवटा परिच्छेदले ग्रामीण अर्थतन्त्रको पाटोको चर्चा गर्छन् भने बाँकी दुई वटामा ग्रामीण राजनीतिक द्वन्द्वबारे वर्णन गरिएको छ ।

ग्रामीण अर्थतन्त्रमा यसको स्रोत, जीविकाको लागि गरिने कमाई र यसबाट आएको परिवर्तनको चर्चा छ । आर्थिक अवस्थाको आधारमा गाउँका घरधुरीलाई वर्गीकरण गर्दा अन्न उत्पादनलाई आधार लिइएको छ जस्तो अन्न अधिक हुने, पर्याप्त हुने र अभाव हुने घरधुरीहरू । त्यस्तै जीविकाको लागि अछुत र गरिब जैसी बाहुनहरूले धनी परिवारमा हलो जोत्ने वा अदक्ष कामदारी गर्ने र जजमानी प्रथाको सम्बन्धको वर्णन पनि छ । साक्षर परिवारले सरकारी जागिर र फैलिँदो बजार आसपासमा पसल खोल्ने तथा जमिन जोड्ने अवसरले परिवर्तन ल्याइरहेका प्रसङ्ग विश्लेषण गरिएको छ । बाहिरबाट आएर बसेका बजारिया मान्छे र स्थानीय गाउँले बीचको अन्तरसम्बन्धका आयामहरूको विश्लेषण छ ।

ग्रामीण राजनीतिमा शक्ति सङ्घर्षको चर्चा गरिएका दुई परिच्छेदहरू निकै रोचक छन् । यहाँ गुटबन्दीका अनेक प्रसङ्गहरू छन् । राणा शासन कालदेखि नै शक्ति, शान र सम्पतिका लागि लडिरहेका गाउँका धनीमानी भनिने दुई समूहको बीच टक्कर अझैंसम्म कायम छ । गाउँका अरु थरी जातीहरू कुनै न कुनै गुटमा छन् । उनीहरू बीच अनेक मुद्दामा पटक–पटक द्वन्द्व भइरहन्छ । कसैले स्वास्नी चोरेकाले त कसैले विद्यालय खोलेको निहुँ अथवा जैसीसँग सुनार र सार्की केटीहरू जोडिएको विषयमा झगडा हुन्छ । ठकुरीहरूको जग्गा र चरिचरनको जग्गा विवादले गुटबन्दी बढाउँदा गाउँलेहरूले निर्वाचित प्रधानपञ्चलाई हटाउन हस्ताक्षर सङ्कलन समेत गरेका थिए ।

जातिवादी राजनीति द्वन्द्वको वृद्धि कसरी भयो भन्ने चर्चा गरिएको खण्ड सबैभन्दा महत्वपूर्ण छ । गाउँमा वि.सं.२०२६ सालताका भएको चुनावलाई निकै गहिरो व्याख्या गरिएको छ । चुनावी उम्मेदवार बन्ने क्रमबाट सुरु भएको राजनीतिक सङ्घर्ष अछुतहरूको सहयोगमा कसरी निष्कर्षमा पुग्यो भन्ने चर्चा छ । यही राजनीतिक शक्ति प्राप्तिबाट सामाजिक विभेद हटाउनका लागि सहयोग पुगेको महशुस हुन्छ । यसरी माथिल्ला जातिहरूको दबदवा विस्तारै कमजोर हुँदा र अछुतहरूको पहूँच कानूनी, राजनीति र आर्थिक परिदृष्यमा बढ्दै जाँदा समाजमा अब उच्च जातिको दर्जा र अछुतको अवस्था पूनः परिभाषित गर्नुपर्ने बेला आएको ठम्याई हुन्छ ।

समग्रमा यस अध्ययनले समाजिक परिवर्तनलाई तीन पक्षबाट जाँचेको छ । पहिलो, आर्थिक अवसरले स्रोतको पूनर्वितरण गरी तल्लो जातको माथिल्लो जातमाथि निर्भरता घटाउन सक्छ कि सक्दैन । दोस्रो, मताधिकार प्राप्त जनसङ्ख्याले निकै महत्व राख्छ तर गाउँमा कम जनसङ्ख्या हुने वर्गले सत्तामा कहिल्यै पकड राख्न सक्दैन । तेस्रो, तल्लो जातिकाहरूले कुनै ठोस वाह्य सहायता नपाएसम्म नयाँ कानुन बनाएर वा नयाँ संविधानमा लेखेर मात्र केही हुँदैन । त्यसको कार्यान्वयन गाउँ भित्रसम्म हुनुपर्छ ।

समुदायका माथिल्लो जात वा धनीहरूसँगको निर्भरता हटाउन तल्लो जातका वा गरिबहरूलाई गाउँ बाहिर जाने अवसर चाहिन्छ । त्यस्तो अवसर सरकारी जागिर, राजनीतिक पार्टीको अवद्धता वा समाज सुधारका अभियानमा सङ्लग्न भएर प्राप्त गर्न सक्छन् भनिएको छ ।

यो एक गाउँको मात्र अध्ययन भएपनि यसले तात्कालीन समयका अन्य गाउँहरूको अवस्थाको पनि प्रतिनिधित्व गर्छ । कतिपय कुराहरू त अहिलेका समयमा पनि उस्तै रहेका छन् होला । लेखकले उतिबेला समाजमा गहिरोसँग जरा गाडेको सामाजिक अर्थिक विभेदलाई सरकार तथा दाताका विकास कार्यक्रमहरूले खासै सम्बोधन गर्न नसकिरहेको पाएकी थिइन् । अहिलेका पाठकहरूलाई पनि उहिले र अहिलेको समाजलाई तुलना गर्न पनि यो किताबको अध्ययन उत्तिकै सान्दर्भिक हुने देखिन्छ ।

यो किताब सन् १९७२ मा पहिलो संस्करण छापिँदा उतै युरोपका पाठक लक्षित रहेछ । नेपालमा त उपलब्ध नै थिएन रे । त्यसैले सन् २००७ मा मण्डला पब्लिकेसन्सले नेपाली पाठकको लागि पूनः मुद्रण गरेको छ । तैपनि यो अङ्ग्रेजी भाषामा भएकोले आफ्नो अध्ययन क्षेत्रका मानिसहरूको पहुँचमा कहिले पुग्ला भन्ने लेखिकाको चासो छ । सायद यो लेखमार्फत् थोरै भएपनि उता बेलासपुरका केही पाठकसम्म पुग्छ की !

(लेखक चौलागाईं कर्णाली प्रदेश जुम्ला तातोपानी गाउँपालिका लाम्रागाउँ निवासी हुन् । उनलाई ट्वीटरमा @madhavjee र इमेलमा [email protected] मा भेट्न सकिन्छ ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु