अब त साउन लाग्यो है ?
बर्षाको आगमनसँगै
साउनले आँगनीमा घुँडा टेकिसकिछन्।
आँगनको डिलमा
फक्रेका तिउरी
मकैबारीको कोप्चामा
छातासरी फिँजारिएको
कर्कलाका पातहरु
सक्रान्ती मान्न डाकीरहन्छन्।
तर,
तिउरी र गावाको निम्ता
मान्न कसलाई खाँचो ?
सुनौली ,नौतनवाका
मेहेन्दीको अगाडी यिनको के भाउ ?
आधुनिक युगमा
न्युरोडका भाईजानको
डिजाइनर मेहेन्दी पो सुहाउँछ।
अब,
शिवजी पनि आधुनिक हुनुभयछ
बिना ड्रेस त पूजा नै
स्विकार्नुहुन्न।
आधुनिक मातेहरुका हातका
राता चुराले मात्रै
भक्ति हुन्छ र ?
दिल्लीका रंगीचंगी चुरा सेट
हरियी,पहेँला वस्त्र बिना
कसरी जलार्पण गर्नु ?
ति सुन्दर मनका
निश्चल,निश्कलंक
आत्माले अर्पेको फूलको मूल्यसँग
आस्था साटियो कि सटाइयो
प्रभूलाई नै ज्ञात होला कि ?
उफ्,
बेलुकाको जोहो गर्न मेलापात
हिंडेकी साइलीलाई
न्युरोडमा छापिने मेहेन्दीको
रहरले नबहकाइदेओस्
छोराको फि को जोहो गर्न
मेलापात हिंडेकी वसन्तीलाई
रंगीचंगी सेटवाले चुडियाको
रहरले नबहकाइदेओस्
सासुको दवाईको जोहो गर्न हिंडेकी
मन्सरालाई हरापिला साडीको
रहरले नबहकाइदेओस्।
प्रभू,
अर्गानिक तिउरीको रंगले
रंगाइएका हात र
शुद्ध मनले अर्पेको जल
समर्पण भावले
चढाएको फूल
भए पुग्छ अरे नि त
भगवानलाई
फेरी किन देखावटी ढस्सा ?
भगवानलाई देखावटीमा होइन समर्पणमा खोजौँ।