३ आश्विन २०८०, बुधबार

असार पन्ध्र तँलाई शुभकामना





बसेरीको ओराली
गातमा बाउसो र कोदाली
एक हल गोरु नारेर
हलोको अनौ समाउँदै
ओरालो लाउने
असारले त फड्को मारेछ ।

कम्मरमा निलो पटुकी
धोतीको फन्को बेर्दै
असारे गित गुन्गुनाउँदै झर्ने
असारले त छलांग नै मारेछ ।

आली र कान्ला ताछ्दै
हो हो तारे हो हो
हो हो माले हो हो
गाउंदै लेड्कोमा चढेर
हुर्र गोरू कुदाउँने
असार त प्रगतिशील पो भएछ ।

बिउँका मुठा हुइँय पार्दै
बाउसेलाई छ्यापेको छेपन
गोरु कुदाउँदै रोपाहारलाई
हलीको छेपन
सौहार्द थियो त्यो पन्ध्र असार
फांटभरी बयली खेलेको बतास
ओहो यो असार त क्रान्तिकारी भएछ ।

दबदबे हिलो
नौमती बाजा
दर्केको झरी
किसानका गहना
फन्के रोटी आलुको अचार
छुपुमा छुपु रोपेको धान
जीवनको सपना बोकेको असार
त प्लास्टिकको बोरामा
टेकेर बिउ गाड्ने
सम्बृद्धिको असार पो बनेछ ।

गैरी खेतको हिलोमा
धानको बिउ रोपेर
असार पन्ध्र मनाउने असार त
प्रधानमन्त्री निवासमा पुगेछ
भकारी थाप्ने खर्यानको गह्रो
मन्त्री निवासमा पुगेछ
ओहो असार पन्ध्र तंलाइ
हिले गह्राबाटै शुभकामना
प्रधानमन्त्री कहाँ पुगेकोमा ।

खोलाबाट कुल्याउँदै ल्याएको
पानी आली काटेर मन्त्री क्वाटरको
गमलामा पुर्साइस
ब्याडे गह्राबाट चोईंट्याएर
मन्त्रीका गलामा बिउ पुर्याइस
ए असार पन्ध्र शुभकामना ।।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको