१४ आश्विन २०८०, आईतवार

कोरोना क्राइसिस् र मायाको इन्जेक्शन्



“लभ इन द टाइम अफ कोलेरा ।”

गाब्रिएल गार्सिया मार्केजद्धारा लिखित साढे तीन सय पेजको यो उपन्यास उसैले उपहार दिएको पनि साढे छ बर्ष बितिसकेछ ।

त्यसताका अङ्ग्रेजी पठनको मेरो गति साह्रै सुस्त थियो । दिनको साढे तीन पेजका दरले पढेर भए पनि सय दिनमा सक्ने प्रण गरेथें मैले । तर त्यो प्रण भाका थप्दाथप्दै हप्ताको साढे तीन पेज, महिनाको साढे तीन पेज हुँदै बर्षमा साढे तीन पेजमा पुग्यो । अझै पनि पठन उही साढे तीन पेजमै अड्किएको थियो ।

जे भए पनि, सधैँ म यो किताबलाई अरु किताबहरूको चाङमाथि अलग्ग, नजर यसैमा टक्क अडिजाने गरी राख्छु । अस्तव्यस्त दैनिकीको भागदौडपछि जब म आफ्नो डेरा फर्कन्छु , तब नजरभरी अडिने यो किताबसँगै उसको सम्झना पनि मनभरी अड्याउँछु । अनि थकान र तनाबलाई विदा दिएर म माया र मुस्कानलाई मनको कार्यालयमा हाजिर गराउँछु ।

लकडाउन सुरु भएको छ महिनापछि आज यो किताबको मैलो गाता निकै मुस्कुराएको छ । मलाई देख्नासाथ उज्यालिने उसको मुहारको झैँ चमक आज यस किताबमा पनि जगजाहेर छ । यो जुनीमा यसले मलाई पढी भ्याउने भएन भन्ने पिरमा थियो सायद अस्तिसम्म । एक्कासी पाएको यो खुसीलाई आज मेरा नजरबाट बचेर एकान्तमा भोग गरोस् भन्दै यसलाई र्याकको भित्री लहरमा घुसाइदिएँ । नाम हेर्दै रोगी र गाता मैलिएको भए पनि लहरका पुराना किताबहरूले खुसीखुसी स्वागत गरे यसलाई । सोचेँ, पुस्तकहरु साँच्चै विद्धान हुन्छन् ।

नमस्कार ! म विराजमान अधिकारी । मेरो कथा पढ्न आउनुभएको हजुरलाई बल्लबल्ल पढिभ्याएको उपन्यासको बेलीबिस्तारमा अल्मल्याई रहेछु म पनि । के गर्नु ? यस्तै गन्थन बाहेक हजुरलाई सुनाउन अरु के नै पो छ र मसँग ? तर यिनै गन्थन मेरा लागि जीवनका विशेष मन्थन हुन् । हुन सक्छ, कहीँ न कहीँ तपाईँले आफैँलाई भेट्नुहोला मेरा गन्थनमन्थनहरूमा । गन्धे गन्थनहरूभन्दा मीठा मन्थनहरूमा बढि भेटिनुहोस् । मेरो शुभकामना ।

गन्धे गन्थन १

साँझको समय आफैँमा उकुसमुकुस भएर ढलपल गरिरहेछ । यो शहरको प्रकृतिअनुसार त साँझ निकै नै चलायमन हुनपर्ने हो । तर आजकाल त्यसै ओसिएको छ । पहिले मान्छेहरूलाई ठेल्दै अघि बढ्दाको आनन्दमा बित्ने साँझ, अहिले मान्छे छेउ पर्ला कि भनी तर्सेर हिँडिरहनु परेछ । सुनसान चोक अनि सन्नाटा छाएको सडक हुँदै म खुल्लामन्च पुग्छु । त्यहाँ दुईथरी मान्छेहरूको लहर प्रस्टै देखिन्छ । पहिलो लहर मास्क र पन्जा लगाएका मान्छेहरूले गाँसिएर चलायमान छ । दोश्रो लहर विना मास्कमा प्लास्टिकका थाल अगाडि राखेर टुसुक्क बसिरहेका अचल मान्छेहरूले बुनिएको छ । म हतारिँदै गएर दोस्रो लहरमा गाँसिन्छु । एउटा फुच्चे दौडिदै आएर स्प्रेले ममाथि सानिटाइजरको बर्षा गराउँछ । यसको गन्धले मलाई एक्कासी सम्पादकको सम्झना गराउँछ ।

भोलि त सम्पादकले रक्सी पिउन बोलाउने दिन । छादुन्जेल रक्सी पिलाउन सक्ने सम्पादकलाई थाहा छैन सायद, आर्थिक समाचार बटुल्ने उसको एउटा स्टाफ सब्जी र चामल किन्ने अर्थको अभावले राहतको लहरमा बसेर छाक टारिरहेछ । थाहा पाएर पनि हुने के नै हो र ? रक्सी पिलाएपछि पाउने चाकरी र हो मा हो हजुर उसले भात खुवाउँदा पाउने हैन के रे । यति सोच्न नभ्याउँदै एउटी महिलाले मेरो अघि प्लास्टिकको प्लेट टक्र्याउँछिन् । अनि अरु महिला र पुरूषहरूले भात, दाल , सब्जी र अचार हाल्दै जान्छन् । कपाकपी खान थाल्छु । भोकको मिटर निकै माथि चढेकाले होला, मीठासको मिटर पनि सँगसँगै आकासिन्छ । यति मीठो सधैँ भेटिन्छ भने त भोलि पेस्कीको कुरा निकालेर सम्पादकको मीठो मातलाई बिटुल्यानु किन ?

म पेट सुम्सुम्याउँदै बसपार्कको लाइनमा हिँडिरहेछु । अघाएपछि त ज्यानको माया पनि बढेर आउँदो रहेछ । गोजीबाट चारदिन अघि देखि चलाउँदै आएको मास्क्लाई नाकमा ओडाउँछु । आफ्नो यस्तो ढर्रा देखेर आफैँमाथि हाँस उठेर आउँछ । यो ढर्राले भनिरहेछ, आगो देखेर बाघ भागे झैँ मास्कको गन्धैले कोरोना भाग्छ । चाहे त्यो मास्क गोजीमा कोचिएको होस् या चिउँडोमुनि टाँसिएको होस् । अथवा सप्ताह मनाएपछि कोरानाको साटो त्यही भित्र “फोहोरोना” भाइरस उब्जिएको अवस्थामा किन नहोस् ।

म बसर्पाकको एक कुनोमा हिड्दाहिड्दै टक्क अडिन्छु । चारपाँचवटा बसहरु खिया लागेका चक्कालाई स्ट्रिट ल्याम्पको उज्यालोमा मधुरो गरी टल्काउँदै निभेका फुस्रा हेडलाइटले मलाई हेरिरहेका रहेछन् । तीमध्ये एउटाको हेराई मलाई एकदमै चिरपरिचित लाग्छ । केहीबेरमा म पनि उसलाई चिनिहाल्छु, “अजिमा ट्राभल्स ।” हाय, मेरो प्रिय साथी ।

मलाई एक्कासी समयको भुमरीमा परेर देभाजु भए झैँ हुन्छ । म सम्पूर्ण परिवेशसहित सर्लक्क सात बर्ष अघिको स्वरूपमा बदलिन्छु र भीडलाई ठेल्दै गुड्न लागेको अजिमा ट्राभल्सलाई भेट्टाउन हत्ते गर्छु । बसभित्र कोचिएका मान्छेका आकारहरूमाथि बलमिच्याँई गर्दै आफूलाई मध्य भागमा पुर्याउँछु । हो, त्यहीँ त हो , ठूला गोला चस्माभित्र च्यातिएर बसको बत्तीको मधुरो उज्यालोमा केही पढ्दै गरेका उसका बाटुला आँखाहरूमा मेरा आँखाहरु पहिलोपल्ट ठोक्किएका ।

मीठो मन्थन १

लभ इन द टाइम अफ जाम

“भित्र जानुस्, भित्र जानुस् । ओ दाई , सुन्नुभएन ?”, जुल्फीवाला खलासी (पत्रिकाका लागि समचार लेख्दा मर्यादा राख्न सहचालक लेख्नुपथ्र्यो, यी त मेरा गन्थनमन्थन न हुन् । अनि खलासी भन्दा म उसलाई हेलाले हैन मायाले सम्झिरहेछु ।) झ्यालबाट आधा जिउ छिराएर कराउँदै थियो । खुट्टामाथि खुट्टा खप्टिएका बेला, जिउलाई सार्नु सजिलो थिएन पक्कै । गर्मी उत्पातै थियो । अत्तरको बास्ना र पसिनाको गन्ध मिसाउने उद्योग बनिरहेको थियो मान्छेको जिउ । यस्तो बेला आफ्नो ज्यान ठडिएको फेदैको सिटबाट कोही उठेर जान खोज्छ भने, भाग्य अन्त खोज्न किन जानुपथ्र्यो ? त्यो अधबैसेँ मान्छे अपर्झट आएको फोनले त्यहीँ झर्नलाई उठ्न खोजिरहेको थियो । ऊ उठ्नासाथ मेरा वरपरका चारपाँच जोडी आँखाहरूले त्यो खाली सिटका लागि युद्ध छेडे । तर मैले बलपूर्वक हातहरूलाई छडी बनाएर राखेँ र ऊ निस्किनासाथ आफूलाई त्यहाँ विराजमान गराएँ । यो हो नि त काइदा ! जीवनमा पहिलोपल्ट आफ्नो नामले कुनै काममा सार्थकता पायो ।

अघि झल्यास्स नजरमा परेका बाटुला चस्माभित्रका उसका बाटुलै आँखालाई अहिले पो आनन्दसँग नियाल्न पाएँ । सँगैको यात्रु परिवर्तन हुँदा पनि उसको पढाईप्रतिको एकाग्रतालाई बिथोलेन । सेतो एयरफोनका चुच्चाहरू दुवै कानभित्र कोचिएकाले बाहिरी हल्लाले उसलाई हल्लाउन नसकेको हुनुपर्छ । ममा भने एक्कासी उट्पट्याङ विचार आयो । किन हो, उसको ध्यानलाई भङ्ग गर्ने चुनौती मनले दिमागलाई दियो । झोलाबाट पत्रिका निकालेँ र फिजाएँ । फिजारिएको पत्रिकाले उसको किताबमाथि अलिअलि पर्दै गरेको मधुरो उज्यालोलाई पनि छेकिदियो । म विल्कुल अन्जान पारामा पत्रिका पढेको वहाना गर्दै पढ्न रोकिएकी उसलाई छड्के आँखाले हेर्दै थिएँ । अनि आफ्नो उद्देश्य पुरा भएकोमा रमाउँदै थिएँ । ऊ झ्यालबाहिर साँझको बेलामा हुने मान्छेहरूको हतारलाई हेर्दै एकोहोरिन थाली ।

मैले विस्तारै पत्रिका बन्द गरेँ । त्यसैबेला उसले पुलुक्क मतिर हेरी । म खिस्स हासिदिएँ । उसले पढ्न बिसाएको ह्युमन एनाटोमीको मोटो किताबलाई फेरि सरर्र पल्टाई । मैले पनि पत्रिका पल्टाएँ ।

“एक्स्क्युज मि ।” उसले निकै टाठो स्वरमा बोलाई मलाई । रमाएका आँखाहरुले उसलाई नियालेँ ।
“यो पत्रिका अलिक सानो पारेर पढ्नुभए हुन्न ?”
“पत्रिका पनि पट्यार पढ्ने चिज हो र ?” मैले पनि टाठै स्वर बनाउने प्रयास गर्दै जवाफ दिएँ ।
“अहिले नै पढ्नुपर्ने इमरर्जेन्सी के छ ? पत्रिका त बिहान पढ्ने हो नि ।”
“बसभित्रै पढ्नुपर्ने त्यस्तो के छ ? किताब त कलेज या घरमा पढ्ने हो नि ।”

मैले त जिस्किन मात्र चाहेको थिएँ । तर हाम्रो वादविवाद अलिक कस्सिन पो थालेछ । थप विवाद गर्न नचाहेर होला, ऊ फेरि बाहिरका दृश्यहरूमा एकोहोरिन थाली । म पनि चुपचाप पत्रिकालाई फेरि पट्याएर हातमा चेप्दै बसिरहेँ । केही बेरपछि उसले किताबलाई एक सरो फरर्र पल्टाउँदै भनी, “पर्सी इन्ट्रान्स एक्जाम छ र पो ।”

यसपल्टको उसको बोली निकै मधुर अनि आतुर सुनियो । मैले फेरि छड्के आँखाले उसलाई हेरेँ । तर बोलीअनुसारको चिन्तित भाव उसको अनुहारमा थिएन । बाटुला चस्माभित्र उसका बाटुलै आँखाहरू अझ चम्किरहेका थिए । मैले हेरेको चाल पाएर होला , उसका पातला ओठहरुमा मुस्कानका मसिना रेखाहरु पनि बसे ।

“ए । सरी है । बेस्ट अफ लक । राम्रो गर्नुहोला ।” किन हो, मलाई स्वस्फूर्त ढङ्गको शुभकामना दिन आयो ।

“हैन , ठिकै छ । अनि पत्रिकामा के छ अहिले नै पढ्नुपर्ने ? हेरौँ न त ।”, पढाईको तनाबलाई थप तन्काउन नचाहेर होला उसले जिस्क्याउने पाराले भनी । मैले पत्रिका फुकाउँदै, छातीलाई उँचो बनाउँदै भनेँ, “यसमा मैले तयार पारेको समाचार छापिएको छ ।”

आशा गरेभन्दा बढी उत्सुक हुँदै उसले भनी, “हो र ? हेरौँ त ।”

मैले आर्थिक पृष्ठमा छापिएको एउटा समाचारलाई डटपेनले केरेर चिनो लगाइदिएँ । आउन लागेको नयाँ वित्तीय निर्देशिकाले अर्थ व्यवस्थामा पार्ने प्रभावका बारे नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको छलफल कार्यक्रमसम्बन्धी समाचार थियो त्यो । उसले सास नबिसाई पढिसकी र भनी, “राम्रो छ । तर कसले लेखेको, नाम त कहिँ देखिन्न नि ।”

उसको यो प्रश्नले एक्कासी खङ्गरङ्ग भएँ म । तर जवाफ त दिनु नै थियो । भनेँ, “अहिले त म नयाँ छु । अलिकपछि मेरो नामको पनि बाइलाइन हुनेछ ।”

“यसको लागि बेस्ट अफ लक ।” उसले पत्रिका फर्काउँदै भनी । मैले धन्यवाद फर्काएपछि हामीबिचको कुराकानी पज भयो । ऊ फेरि किताब पल्टाउँदै मान्छेका भित्री अङ्गका चित्र र विवरणले भरिएका पानाहरुमा हराउन थाली । यति साह्रो लगावसँग पनि पढ्न सक्छ कोही ? अझ त्यो पनि यस्तो अप्ठेरो कुरो ? म त विज्ञान बिषयबाट स्कुलमै अघाइसकेको मान्छे । त्यसबेला मलाई उसले के पढ्दैछे भन्ने भन्दा पनि कसरी पढ्दैछे भन्नेमा रूचि बढ्दै थियो । छड्के आँखाले उसलाई हेरिरहेँ । जाममा जमिने एकघण्टाजसो समय त अझै बाँकी नै थियो । तर अब थप सम्वादको सम्भावना नभएको मनले ठहर गर्दै थियो ।

अजिमा बस खुट्टो भाँचिएको कछुवा झैँ घच्याक्घच्याक् गतिमा जाम छिचोल्न व्यस्त थियो । ऊ आफ्नै धुनमा गीतमा मग्न हुँदै किताबका पानाहरु छिचोलिरहेकी थिई । म सिटमा टाउको अड्याएर आँखा चिम्लिदैँ धेरैपछि सुरूमै सिट पाउँदाको आनन्द उठाउन मस्त थिएँ । त्यही बेला एउटा अधबैसेँ चिच्याएको अवाजले मेरा आँखा खुले । ऊ घोक्रो च्यातिने गरी कराउँदै थियो, ऐ रोक, ऐ रोक । गाडी कुदेको भए पो रोकिनु !

“सत्यनाश पारो । पर्स उडायो त्यो डाकाले । भर्खरसम्म टाँसिदैँ थियो यहीँ । सप्पै उडायो । रोक् । रोक् । त्यसलाई समात् ।” रातो स्विटर लगाएको त्यो मान्छे भीडलाई चिर्दै अगाडि बढ्यो र ढोकाबाट झरेर बेपत्ता भयो । यो शहरको कोलाहलमा कसलाई चोर भन्दै समात्ला र उसले अब ?

“मान्छे पनि थरीथरीका हुन्छन् ।”, ऊ पनि पढ्न छाडेर यही हल्लाको चाख लिइरहेकी रैछे ।
“त्यही त । कुन् बाध्यताले चोर्नु पर्ने भयो होला उसले ?”
“बाध्यताले हैन सहजताले चोरेको हो त्यसले ।”
“मतलब ?” उसको भनेको कुरोको चुरो मैले बुझ्न नसकेपछि सोधेँ ।
“दुःख आफ्नो ठाउँमा होला । तर त्यसलाई बाध्यता बनाएर चोर्न पाउने सहजता यहाँको वातावरणले दिएको छ । यस्तो नहुँदो हो त, उसले दुःख गर्नुको विकल्प चोर्नु पक्कै बनाउँदैनथ्यो ।”

म त्यो उत्तरले आश्चर्यमा पर्दै उसको अनुहारमा एकोहोरिएँ । उसका बाटुला आँखाहरुले माथिका मधुरा बत्तीहरूमा गौर गदैै थिए । मैले हेरेको पत्तै नपाएकी उसले थप्दै गई, “नेपालका सयौँ परिक्षाहरूमा कति चोरी हुन्छ , त्यो बाध्यता नभएर सहजताले भएको हो । पर्सी आइओएमको इन्ट्रान्स छ । त्यसमा भने सहजता छैन । अनि पो अहिले यसरी पढ्ने बाध्यता छ ।”

अनि उसले गोजीबाट मोबाइल निकाली । उसको सुन्दर मुहारको फोटो वालपेपरमा सजिएर मुस्कुराइरहेको थियो । उसले फाइलमा गएर गीतहरुको अर्को फोल्डर खोली । उसले प्ले अल मा थिच्नु ठिक अघि मैले बोल्न हतार गरिहालेँ, “गीत सुन्दै पढ्छौ सधैँ ? डिस्टर्ब हुन्न ?”

मेरो प्रश्न सुनेर प्ले गर्न ठिक्क परेकी ऊ थामिई । कानबाट एयरफोन पनि निकाली र भनी, “संगीत मेरो लागि अर्को संसार हो । मनका सारा चन्चलताहरूलाई संगीतको साथ लाएर म त्यही संसारमा छाडिदिन्छु । अनि बाँकी रहेको एकाग्रतालाई लिएर म पढाईको संसारमा होमिन्छु ।”

किन हो , म उसको आवाज र ती आवाजमार्फत् पोखिएका शब्दहरूमा मोहित बन्दै गइरहेको थिएँ । जीवनमा सयौँसँग बोलिसकेको थिए , सयौँलाई देखिसकेको थिएँ, तर त्यस्तो महसुस , त्यो पनि त्यति छोटो समयमा, पहिलोपल्ट गर्दै थिएँ । सुरूमा जुन नजरले उसलाई हेरेर, जुन उद्देश्यका साथ उसलाई पेलेर , बढ्ता टाठो भएर म बोल्दै थिएँ , अब तिनै आएर मलाई गलाइरहेका थिए । निर्मिमेष नजरले उसलाई नियाल्नु बाहेकको विकल्प ममा भएन । ऊ नै बोलोस्, म केवल सुनिरहूँ मात्र ।

“तपाईँ समाचार मात्र लेख्नुहुन्छ कि साहित्य पनि ?” एक्कासीको उसको प्रश्नले झस्किएँ म । बसिसकेको घाँटीलाई हल्का सफा गर्दै भनेँ, “लेख्छु । खासमा साहित्यमै कलम जमाउन राजधानी आएको हुँ । तर पहिले पेटमा केही बोसो जमाउनु पर्ने रहेछ, त्यसैले समाचार लेख्दैछु ।”

जवाफ सुनेर उसको पनि मुहारमा मुस्कानको लहर दौडिएको प्रष्टै देखियो । बाटुला आँखा मतिर नचाउँदै सोधी, “के के लेख्नुहुन्छ नि ?”
“कथाहरु लेख्छु अनि कहिलेकाहिँ गीतहरु पनि ।”

ऊ केही बोल्न खोज्दै थिई । खलासी भाइ ढोकामा उभिएर झ्यालबाट टाउको भित्र छिराएर जुल्फी हल्लाउँदै कराउन थाल्यो, “ल जाम खुल्यो । जडिबुटी झर्ने आउनुहोस् । धेरबेर रोक्दैन है ।”

आज चाहिँ ट्राफिक दाइलाई के जोश चलेछ कुन्नि । सधैँभन्दा पन्ध्रमिनेट अघि नै जाम खुल्यो । ऊ जडिबुटिमै झर्ने रहिछ । उठ्नलाई किताबहरू मिलाएर झोलामा हाल्न थाली । मलाई भने अझ चर्को औडाहाले झ्वाम्मै छोप्यो । मानौँ, बर्षौँ साथ रहेको प्रिय जिनिज एक्कासी हराउन लागेको छ । हराउँदैक गरेको थाहा पनि छ । तर त्यसलाई रोक्ने सम्भावना साह्रै कम छ । एउटा ठूलो आँट र छलाङको आवश्यक्ता छ । यही बुझेर होला, एक्कासी खोई के भयो मलाई । थामिनसक्नुको ऊर्जा भरिएर आएपछि बोलेछु, “एकछिनलाई तिम्रो मोबाइल देऊ त ।”

विना कुनै नाइनास्ती , विना कुनै शंका उसले लक खोलेर मलाई मोबाइल दिई । बस जाम छिचोल्ने क्रममा थियो । ऊ उठेर निस्किन लागि । मैले मेरा खुट्टाहरु पन्छाएर उसलाई बाटो दिएँ । त्यही बेला पेन्टको गोजीमा रहेको मेरो मोबाइल घ्वार्र घ्वार्र गर्दै भाइब्रेट गर्यो । त्यही भाइब्रेसन त हो, जसले बाँकी जीवनभर मेरो मुटुलाई कम्पित गराउने रहेछ । कहिले मीठासको कम्पन । कहिले अत्यासको कम्पन ।

मोबाइल फिर्ता लिएर ऊ झर्नलाई गई । मान्छेहरूको पर्खालले गर्दा पछि फर्केर हेर्ने उसको अवस्था थिएन ।

साँझभर मोबाइलमा पुगेका हातहरू काँम्दै फर्किदै थिए । उसले के ठानी होली ? अब झन् के ठान्ने होली ? अच्कल्टो मायाको ओभरडोज हुँदा कस्तो हुन्छ ? उही अवस्था भोग्दै थिएँ म । अरु दिन शान्त वातावरणमा लेख्दै बस्ने म त्यसदिन भने गीत बजाउँदै भावनामा हराइरहेको थिएँ । घडी बाह्र बजाउनलाई दगुर्दै थियो । त्यही बेला गीतका तरङ्गहरूलाई चिर्दै मोबाइलको म्यासेज टोन बज्यो । हत्तपत्त उठाएर हेरेँ , केवल चार शब्दहरु पर्याप्त थिए मनलाई मायाको मालाले बेर्न, “गुड नाइट राइटर, श्रुती” ।

त्यसरात उब्जेका मनका भावनाहरूलाई वर्णन गर्ने शब्दहरू कहाँ ? भावनाहरूको माझमा एउटा यस्तो आभार पनि थियो, जुन विश्वकै सबैभन्दा अनैतिक आभार हुन सक्छ । हार्दिक आभार प्रिय चोर, तिमीले नचोरिदिएको भए पज भएको हाम्रो माया फेरि प्ले कसरी हुन्थ्यो ?

गन्धे गन्थन २
मात इन द टाइम अफ कोरोना

बिचको कुर्सीमा सम्पादक गजधम्म भएर बसिरहेछ । रेड लेबलको नशाले उसका आँखाहरूमा पनि राता तह देखा परिसकेका छन् । यस्तै बेला हो, ऊ संसारको सबैभन्दा नैतिकवान सम्पादक बन्छ र हामीलाई इथिक्सको भरमार सितन खुवाइरहन्छ । रेष्टुराँको किचनमा सितन सकिइसकेको अवस्थामा हामी उसकै कुराको बलमा बाँकी रहेको रक्सी रित्ताउनतिर लाग्छौँ ।

“साला, आजकालका पत्रकारलाई कति मोज है । पत्रकारले कन्टेन्टलाई हैन कन्टेन्टले उल्टो पत्रकारलाई खोज्दै आउँछ । खोज्दै नआए पनि बोलाउँछ । गयो । खामभित्र रेडिमेड समाचार र अलिकति ग्याँट पायो । कक्टेल डिनर खायो । खामको समाचारमा टाउको हाल्यो, पठाइदियो । भोलिपल्ट बाइलाइनसहित छापिन्छ । त्यसको रोयल्टी मिलेपछि फेरि एक ठाऊँ बस्यो । मातियो । सम्पादकलाई गाली गर्यो । प्रकाशकलाई गाली गर्यो । हँ ? यसरी नै चलिरहने हो ? हाम्रो पालामा कस्तो रिपोर्टिङ हुन्थ्यो, फाइल पल्टाएर हेर्ने गर्नु ।” , सम्पादक कहिलेकाहिँ उग्र बन्छ । ऊ सम्पादक बनेपछि पत्रकारिता बिग्रेको हो या पत्रकारिता बिग्रेपछि ऊ सम्पादक बनेको हो, यसबेला कसैले सोध्ने आँट गर्दैन । तर नमातिएको बेला ऊ यस्तो पटक्कै छैन । औपचारिक मिटिङहरूमा ऊ सबैको तारिफ गर्छ । पत्रकारितामा नयाँ आयाम ल्याउँदैछौँ भन्छ । तर मलाई लाग्छ, त्यसबेलाभन्दा यसबेला ऊ बढ्ता सत्य बोलिरहेछ ।

“बाबु विराजमान, किन एकोहोरिएको ? तिमीलाई भनेको हैन के । तिमी त बेस्ट हौ । यता आऊ, मेरो छेऊमा विराजमान बन ।”,उसले छेऊको कुर्सीलाई धाप मार्दै मलाई बोलायो । म गिलास बोकेरै उसको छेउमा पुगेँ । उसले बोतल उठाएर आधा रक्सी बाहिर र आधा रक्सी भित्र पारेर गिलास भरिदियो । यसले गर्दा ऊ आधामात्र मातेको रहेछ भनेर म ढुक्क भएँ ।

“डाक्टरसँग प्रेम गर्ने विराट मुटु छ हाम्रो विराजसँग । म भए त सक्दैनथे बा । हेर्दै सुई घोप्देलान् घोप्देलान् भएर मुटु च्युँ हुन्छ मेरो त ।” सम्पादक कुर्सीका बिटहरूको आडमा अडिएको भुँडी उफारेर एकतमासको हाँसो हाँस्छ । पहिलपहिले म आफैँलाई पनि मजा लाग्थ्यो यसरी जिस्किाइनमा । तर आजकाल अलिअलि रीस उठ्न थालेको छ ।

“श्रुतीको मीठो ध्वनि श्रवण मात्र गरेर छ बर्ष बिताइसक्यौ । बाबु विराजमान, बेलाबेला सफा गर्नुपर्छ है आफ्नो इन्जेक्सन, खिया लाग्ला फेरि ।” यसपल्ट सम्पादकले विल्कुल नहाँसी भन्यो । उल्टो त्यहाँ उपस्थित सबै स्टाफहरुको गलल हाँसोले हल नै गुन्जायमान भयो । केहीबेरमा अरु रोकिएपनि उपसम्पादकको हाँसो रोकिएन । ऊ मलाई हियाउने मौका किन गुमाउँथ्यो र ? चाहे कुराहरू मातमा भएका हुन् वा मजाकमा । अघि सम्पादकले मलाई छेऊमा बोलाउँदा पनि कर्के आँखा ममाथि गाढिरहेथ्यो ऊ । उसको भद्धा हाँसो देख्दा त छेउको बोतल टिपेर टाउको बजाइदिऊँझैँ रीस उठ्दै थियो । तर मभित्रको विवेकले आवेगलाई जित्न दिएन । थामिएँ ।

यी “उप” हरुसँग मेरो पहिल्यैदेखि ग्रह मिल्दैन । स्कुल पढ्दा क्लासको मनिटरले प्यारो ठान्थ्यो, भाइस मनिटरले हेप्थ्यो । कलेजमा क्रिकेट खेल्दा कप्तानले सुरुमा मौका दिन्थ्यो, भाइस कप्तानले पन्छाउन खोज्थ्यो । पत्रकारितामा आउनुभन्दा अघि एक बर्ष एउटा बोर्डिङ स्कुलमा पढाएको थिएँ । त्यहाँको प्रिन्सिपलले माया गथ्र्यो, भाइस प्रिन्सिपलले पेल्थ्यो । अब यहाँ पनि यही “उप” को उपेक्षा ? यी “उप” हरू सबैतिर यस्ता हुन्छन् या मेरो भोगाईमा मात्र ? सायद, “उप” हरू प्रकृतिले नै उप्रद्याहा हुन्छन् । त्यसैले होला, पार्टीहरूमा अध्यक्षभन्दा उपाध्यक्षका, देशमा प्रधानमन्त्रीभन्दा उपप्रधानमन्त्रीका, राष्ट्रपतिभन्दा उपराष्ट्रपतिका स्टन्टहरु बढी देखिएका ।

रातको चकमन्नतालाई चिर्दै प्रर्दशनमार्गको पेटीमा हल्लिदै हिँडिरहेछु । सडक बत्तीहरू एकनासले चम्किला भएर बलिरहेछन् । म अडिएर तिनमा हेरिरहन्छु, । मात चढ्दै गएको हो या उत्रदै, म हरेक बत्तीभित्र कुलमान हाँसिरहेको देख्छु । जवाफी हाँसो के हाँस्न खोज्दै थिएँ, मोबाइलमा म्यासेज टोन बज्छ । हत्तपत्त खोलेर हेर्छु, “अन भएर पनि म्यासेज रिप्लाई छैन । सुतिसक्या हौ र ?”

अनि हड्बडाउँदै म्यासेन्जर खोल्छु । श्रुती सेन्ट अ फोटो । रेष्टुराँकै वाइफाइमार्फत म्याजेन्सरले फोटो अघि डाउनलोड गरिसकेको रहेछ । हतपती फोटो नपठाउने उसले कस्तो पठाई ? उत्सुकतामा खोलेँ । हाय, उसका अनुहार भरी एलर्जी भएर फोकाहरु उठेका रहेछन् । बाटुला आँखा थकित देखिन्थे । फोटोका क्याप्सनमा उसले लेखेकी थिई, “विराज, यो पिपिई र मास्कले एलर्जी भएर एकदम गाह्रो भइरहेछ । तैपनि छाड्न त मिलेन । भर्खरै ड्युटि सकाएर तिमीलाई म्यासेज पठाउने फुर्सद पाएँ । तिमी अनावश्यक डुलेका छैनौ नि । आफ्नो ख्याल राख । चाँडै भेटौँला भनेको पनि कति भइसक्यो । ढिलोचाँडो जुर्ला नि है । सि यु ।”

म उसको म्यासेज पढेर छेऊका रेलिङहरु समाएर उभिन्छु र हाँस्न थाल्छु । चाँडै ! उसले र मैले यसो भनेको अहिले छैटौ बर्ष चलिरहेछ । म फनपार्कको अग्लो पिङमा हेरेर टोलाइरहन्छु । एक्कासी फेरि मलाई देभाजु भएझैँ हुन्छ । रोकिएको पिङ एक्कासी घुम्न थाल्छ फनफनी । परिवेश पल्टिएर साढे छ बर्ष अघिको एक दिउँसोको समयमा आइपुग्छ । (थप गन्थनमन्थन अर्को हप्ता)

(सङ्ग्रौला “च्याट गर्ल” कथा सङ्ग्रह र “पर्पला” उपन्यासका लेखक हुन्)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको