नागरिकता नहुँदा जो सेवाबाट वञ्चित छन्
जुम्ला । ८३ वर्षीया साँगे फुटिक जुम्लाको चन्दननाथ नगरपालिका–४ स्थित बौद्ध गुम्बाको साहारा लिएर बस्दै आएकी छिन्। मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा जन्मिएर २४ वर्षदेखि जुम्लाको पातारासी गाउँपालिका३ खालाढिक बस्दै आएकी फुटिक कान सुन्दिनन्। तर, उनीसँग अपांगता परिचयपत्र पनि छैन।
उग्रेन तेघोलिङ गुम्बाका काङसर लामाले गुम्बामा साहारा दिएर हेरविचार गर्दै आएका छन् उनलाई। ‘वृद्ध महिलाले कतै बस्ने ठाउँ नपाएपछि गुम्बामा बसालेको हुँ। उनका भाइ भए पनि हेरविचार गर्दैनन्। खानासमेत मुस्किलले खानुहुन्छ। कान पनि सुन्नुहुन्न,’ लामाले भने।
राज्यले प्रदान गर्दै आएको जेष्ठ नागरिकको सबैभन्दा महत्वपूर्ण साहारा सामाजिक सुरक्षा भत्ता हो । फुटिकका दाजुभाइले नागरिकता बनाउन पहल नगरेपछि सामाजिक सुरक्षा भत्ताबाट समेत उनी वञ्चित रहेको लामाले बताए।
पातारासी गाउँपालिका–३ का वडाध्यक्ष गोविन्द रावतले भने, ‘उहाँको स्थायी ठेगाना मुगु हो । त्यहाँबाट बसाइसराइ गर्नुभएको छैन। बसाइसराइको प्रमाण नभएपछि नागरिकता बनाउन समस्या भएको छ। नागरिकता बनाउन पहल गरिएको हो। तर, कानुनी जटिलताले नागरिकता बनाउन सकिएन। मुगुबाट नागरिकता बन्ने भए पनि वृद्ध हुँदा त्यहाँ जान सम्भव छैन। उहाँका आफन्तले पनि चासो दिएका छैनन्।’
यस्तै, कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोता गाउँकी ३६ वर्षीया लक्ष्मी रावत नागरिकता नहुँदा सार्वजनिक सेवाबाट वञ्चित भएकी छिन्।
३८ वर्षीय पति सुकराम रावतसँग नागरिकता बनाइदिन पटक(पटक अनुरोध गर्दा पनि सुनुवाइ नगरेको उनले गुनासो गरिन्। ‘नागरिकता नभएकै कारण मतदाता नामावलीमा मेरो नामावली छैन। ०७९ वैशाख ३० र मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभाका निर्वाचन भए। मैले मतदान गर्न पाइनँ।’
नागरिकताकै सेवा बैंक खाता खोल्नेदेखि अन्य गाउँमा आउने सेवासुविधाबाट पनि वञ्चित हुनुपरेको उनले गुनासो गरिन्।
‘पत्नीको नागरिकता बनाइदिनु भनेर उहाँका पतिलाई धेरैपटक भनौँ। हामी वडाबाट सिफारिस गरिदिउँला भनेका छौँ। तर, आजभोलि भन्दाभन्दै उनका पतिले नागरिकता बनाइदिएनन्,’ सोही वडाका वडाध्यक्ष खाम्मा रावतले भने।
कनकासुन्दरी गाउँपालिका–१ रियाकी ३२ वर्षीया कमला बुढा ९कठायत०को पनि नागरिकता छैन। जन्म घर पातारासी गाउँपालिका–७ पटमारा भएको बताउँदै उनले कनकासुन्दरी गाउँपालिका–१ रियागाउँका पतिले नागरिकता र विवाह दर्ता नबनाइदिएको गुनासो गरिन्।
उनले भनिन्, ‘अहिले १६ वर्षकी छोरी र १२ वर्षको छोरा छन्। तर, अहिलेसम्म मेरो नागरिकता र विवाह दर्ता छैन। नागरिकता नहुँदा बैंक खाता खोल्न पनि पाइएको छैन। मजदुरी गरी आर्जन गरेको रकम पनि आफन्तलाई राख्न दिनुपरेको छ।’
शुभकालिका गाउँपालिका–५ का ४१ वर्षीया खगिसरा कार्कीको नागरिकता नहुँदा सामाजिक सुरक्षा कोषबापत पाउने एकल महिला भत्ता पाउनबाट वञ्चित भएको बताइन्।
खगिसाका पति कलम कार्कीको मृत्यु भएको नौ महिना पुग्दा पनि उनको नागरिकता नभएका कारण एकल महिलाले पाउने सुविधाबाट वञ्चित छिन्।
उनी सानै छँदा उनका आमाबुबा बेपत्ता भएका कारण आफ्नो नागरिकता नभएको उनले बताइन्। उनले ०६१ सालमा कलम कार्कीसँग विवाह गरेकी थिइन्। पतिको ०७९ भदौ महिनामा क्यान्सर लागेर मृत्यु भएपछि तीन छोरी, दुई छोरा पाल्न उनलाई मुस्किल परेको छ।
आफ्नै जग्गा–जमिनको उत्पादनले मुस्किलले ४र५ महिना मात्रै खाना पुग्छ। बाँकी किनेर खानु पर्ने अवस्था छ उनको।माइती पक्षको कुनै ठाउँ, ठेगाना, पहिचान नखुलकोले नागरिकताको लागि सिफारिस दिन नसकिएको शुभकालिका गाउँपालिका–५ का वडाध्यक्ष मीमबहादुर शाहीले बताए।
यस विषयमा कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले आफन्त पत्ता नलागेर नगरिकताबाट वञ्चित भएको विषयमा कानुनी व्यवस्थाबारेमा बुझ्ने र स्थानीय तह, मन्त्रालय र अन्य सरोकारवालासँग छलफल गरेर समस्या समाधानको बाटो खोजिने बताए।
कर्णालीका जिल्लामा भौगोलिक विकटताका कारण अतिआवश्यक परे मात्रै सदरमुकाममा पुग्ने गर्दछन्। यसले गर्दा पनि गाउँमा उमेर पुगेका धेरैको नागरिकता छैन।
कार्यालयले घुम्ती शिविरमार्फत नागरिकता वितरण गरे पनि छोरी, श्रीमती तथा बुहारीको नागरिकता बनाउन घरका पुरुष सदस्यले चासो दिँदैनन्।
जुम्लामा विशेष गरी सिँजा गाउँपालिकाको सदरमुकाम नराकोटस्थित इलाका प्रशासन कार्यालय र जुम्लाको सदरमुकाम खलंगाबजारस्थित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण हुने गरेको छ।
कानुनी प्रक्रिया मिलाएर आएको खण्डमा सहजै नागरिकता वितरण गर्ने गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे बताए।
उनले भने, ‘कतिपय व्यक्तिका अभिभावक पहिचान भएका कारण नागरिकता प्राप्त गर्न समस्या भइरहेको अवस्था पनि छ।’