रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक
२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।
कपुरबोट मिडियाले श्रेष्ठ र प्रसाईंबीच भएको डिलको विस्तृत अडियो सार्वजनिक गरेको छ ।
अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन् ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् ।
प्रचण्ड सरकारमा सहभागी रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्दै आएको थियो ।
३ माघमा मन्त्रिपरिषद् विस्तार हुनुअघि भएको यो संवादमा सांसद ढाकाकुमार श्रेष्ठले भनेका छन्, ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर ।’
उनले अगाडि भनेका छन्, ‘मन्त्री पनि बन्नुपर्यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरुको सहयोग पनि चाहियो ।’
सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको सांसद ढाकाकुमारले बताएका छन् । उनले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २/३ जना साथी हुनुहुन्छ । उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् ।’
उनले मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्ने समेत बताएका थिए ।
अडिओ सार्वजनिक भएलगत्तै रास्पपाले पनि विज्ञप्ति जारी गर्दै यस विषयमा छानबिन गर्ने बताएको छ । रास्वपा संसदीय दलका नेता डिपी अर्यालले अडियोबारे जानकारी आएकाले छानबिन गरिने बताए ।