९ आश्विन २०८०, मंगलवार

कोरोनाको नयाँ भेरियन्ट संक्रामक बढी, घातक कम



२१ चैत, काठमाडौं । पछिल्लो समय भारतमा संक्रमण तीव्र बढाइरहेको कोरोनाको नयाँ भेरियन्ट XBB.1.16 नेपालमा पनि देखा परेको छ । हिजो (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ वटा नमूनाको सिक्वेन्सिङ गर्दा १० वटा नमूनामा XBB.1.16 भेरियन्ट देखिएको हो ।

विज्ञहरूका अनुसार XBB.1.16 भेरियन्ट अहिले संक्रिय रहेका भेरियन्टहरूमध्ये बढी संक्रामक रहेको छ । भारतकै तथ्यांक हेर्दा पनि सो कुरा पुष्टी हुन्छ । सोमबारमात्र भारतमा पाँच महिनायताकै धेरै अर्थात् झन्डै चार हजार जनामा संक्रमण देखिएको छ । राजधानी नयाँदिल्ली, मुम्बईसहित दक्षिणी भारतीय सहरहरूमा अहिले संक्रमण तीव्र भइरहेको छ ।

विश्वभरको अवस्था हेर्दा कोरोनाका दुईटा नयाँ भेरियन्ट XBB.1.16 र XBB.1.5 बढी सक्रिय छन् । यीमध्ये XBB.1.5 बढी अमेरिकामा देखिएको छ भने XBB.1.16 बढी भारतमा फैलिरहेको छ । यी दुईमध्ये भारतमा फैलिरहेको XBB.1.16 भेरियन्ट बढी संक्रामक छ ।

छिमेकी मुलुकमा कोरोनाको संक्रामक भेरियन्ट तीव्र गतिमा फैलिनु नेपालका लागि चिन्ताको विषय भएको विज्ञहरूले बताएका छन् ।

यी दुबै XBB.1.16 र XBB.1.5 भेरियन्ट सन् २०१९ मा दक्षिण अफ्रिकामा पहिलो पटक फेला परेको ओमिक्रोन भेरियन्टकै उपप्रजाति हो । नेपालमा गतवर्ष नै ओमिक्रोन भेरियन्ट देखिसकेको छ । यद्यपि त्यसकै नयाँ उपप्रजातिको रूपमा विकसित भएका यी दुई भेरियन्टहरू अमिक्रोनभन्दा बढी संक्रामक रहेको भनिएको छ । जसले गर्दा संक्रमण बढ्नसक्ने विज्ञहरू बताउँछन् ।

भाइरोलोजिष्ट डाक्टर लुना भट्ट भन्छिन्, ‘अहिले संक्रिय रहेका भेरियन्टहरूमध्ये XBB.1.16 बढी संक्रामक देखिएको छ । हामी धेरै गम्भीर हुनुपर्ने विषय यसले हाम्रो शरीरको इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता)लाई छल्नसक्छ । त्यसैले संक्रमण एकदम बढ्न सक्छ ।’

ओमिक्रोनकै उपप्रजाति भएकाले अहिले देखिएका नयाँ भरियन्ट अघिल्लो भेरियन्ट ‘डेल्टा’ जस्तो घातक नहुने देखिएको उनले बताइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि भारतमा संक्रमण फैलिरहेको हुँदा नेपालमा पनि संक्रमण बढ्नसक्ने उल्लेख गर्दै सबैलाई सतर्क रहन अपिल गरेको छ। साथै भारतसँग सीमा जोडिएका नाकाहरूमा परीक्षणलगायत निगरानी बढाइएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको