९ आश्विन २०८०, मंगलवार

एमालेमा बस्न नदिएर घचेट्ने हो भने नयाँ कदम चाल्न सक्छुः भीम रावल




काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री भीम रावलले एमालेमा बस्न नदिनेगरी आफूलाई घचेटिरहे नयाँ कदम चाल्न सकिने बताएका छन् ।

धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै रावलले अहिलेसम्म एमालेको सदस्यको रूपमा पार्टी काममा लागिरहेको तर, एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराख्ने हो भने नयाँ पाइला चाल्न सकिने बताएका हुन् ।

उनले एमालेमा रहन आफूले अन्तिमसम्म प्रयास गर्ने पनि बताए । ‘म त्यो अन्तिम बिन्दुसम्म प्रयास गर्छु’–उनले भने–‘म अहिलेपनि एमालेमै छु,तर, तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्न थालिस् अब तँ एमालेको सदस्य बन्न पाउँदैनस् भन्ने हो भने म सोच्न बाध्य हुनेछु ।’

नेता रावलले पार्टीमा नबस् भनेर घचेट्या घचेट्यै गरे पनि आफूले नयाँ कदम चाल्नुअघि नेकपा एमालेका इमान्दार कार्यकर्ता र जनतासँग सोधेर मात्रै निर्णय लिने बताए ।

‘अब म यही घचेट्याइ मात्र मानिराखुँ कि नघचेट भनेर हलचल गरौं ?’ जनतालाई सोध्नेछु भन्दै उनले भने–‘त्यतिबेला एमाले कार्यकर्ता र जनताले आफैं उभिनुस् भनेमा उभिएर नयाँ पाइला चाल्नेछु ।’

रावलको गृह जिल्ला अछाममा आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले एकीकृत समाजवादीका विभिन्न नेताहरूसँग भेटेको र पार्टीमा असहयोग गरेको आरोप लगाएको बारे पनि उनले पत्रकार सम्मेलनमा स्पष्ट पारे ।

उपाध्यक्ष पौडेल अछाम आउने जानकारी आफूलाई नभएको र आउँदैछु भनेको भए आफू स्वागत गर्न जाने थिएँ समेत भने ।

पौडेल सहभागी कार्यक्रमका भीम रावलले एकीकृत समाजवादी र माओवादी केन्द्रका विभिन्न नेताहरूसँग भेटेको र गुटबन्दी गरेको आरोप लगाएका थिए । त्यसपछि कार्यक्रममा सहभागी रावलका समर्थकहरूले होहल्ला गरेका थिए ।

उनले त्यसको समेत जवाफ दिँदै भने–‘अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई र माधव नेपाललाई भेट्न हुने तर मैले अरु पार्टीकालाई भेट्न नपाउने भन्ने हुन्छ र ?’

उनले अध्यक्ष ओली र उपाध्यक्ष पौडेल स्वयंले कोटेश्वरमा गएर माधव नेपालसँग वार्ता गरेको स्मरण गराउँदै एमालेका अरु साथीहरूले पनि भेट गर्न हुने आफूले नहुने भन्ने तर्क नै गलत भएको बताए ।

पार्टी निर्माणमा निरन्तर पसिना बगाएको, जेलनेलको सामना गरेको, स्वदेश र प्रवासमा संगठन विस्तार गरेकाहरूलाई आफूले भेटेको रावलले प्रष्टीकरण दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको