होटलको कोठामा झुण्डिएको अवस्थामा भोजपुरी अभिनेत्रीको शव फेला
काठमाडौं । भोजपुरी अभिनेत्री आकांक्षा दुबे बनारसको एक होटलमा मृत फेला परेकी छन् ।
हिजो शनिबार राति सुटिङ सकेर होटलमा बसेकी नायिकाको शव कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
सूचना पाएपछि सारनाथ प्रहरीले शवलाई नियन्त्रणमा लिएको छ । हालसम्म आत्महत्याको कारण खुल्न सकेको छैन ।
आकांक्षाको जन्म उत्तर प्रदेशको मिर्जापुरमा २१ अक्टोबर १९९७ मा भएको थियो । उनलाई सानैदेखि नृत्य र अभिनयमा रुचि थियो । उनी प्रायः सामाजिक सञ्जालमा डान्सको भिडियो पोस्ट गर्ने गर्थिन् ।
आकांक्षा शनिबार राति सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा बसेकी थिइन् र बिहान उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।
घटनापछि होटलका कर्मचारीले सारनाथ प्रहरीलाई खबर गरेका थिए ।
आफन्तलाई पनि घटनाबारे जानकारी गराइएको छ । एसीपी सारनाथले अभिनेत्रीको मोबाइल र अन्य सामान कब्जामा लिएर अनुसन्धान शुरू गरेको बताएका छन् । उनको नम्बरको कल डिटेल पनि निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।