एमालेको कारबाहीमा पर्नुअघि नै दुर्गा प्रसाईंले गरे राजीनामा घोषणा
७ फागुन, काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई निष्कासनको प्रक्रिया अगाडि बढाएसँगै उनले राजीनामा घोषणा गरेका छन् । प्रदेश १ कमिटीले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेसँगै प्रसाईले राजीनामा घोषणा गरेका हुन् ।
पार्टीको नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएपछि निष्कासन गर्न सिफारिस गरिएको केन्द्रीय सदस्य रविन कोइरालाले बताए । उनले भने, ‘ज्ञानेन्द्र शाहलाई झापामै ल्याएर कार्यक्रम गरेपछि पार्टीबाट निष्कासन गर्ने निर्णय गर्नु परेको हो ।’
प्रसाईंले १ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए ।
आइतबार झापामा पत्रकारहरुसँग कुरा गर्दै प्रसाईंले काठमाडौं गएर राजीनामा बुझाउने बताएका छन् । प्रसाईंलाई गत वर्ष २६ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
उनलाई एमालेले उद्योग, वाणिज्य तथा आपूर्ति विभागको सहइन्चार्जको जिम्मेवारी दिएको थियो । यो विभागको इन्चार्ज मोती दुगड छन् ।