स्कटल्याण्डका क्रिकेटरले सन्दीप लामिछानेसँग किन हात मिलाएनन् ?
७ फागुन, काठमाडौं । स्कटल्यान्डका क्रिकेट खेलाडीले नेपालका लेगस्पिनर सन्दीप लामिछानेसँग हात मिलाउन अस्विकार गरेका छन् । घरेलु मैदानमा नेपाल र स्कटल्यान्डबीच भएको खेलमा पूर्वनिधारित निर्णयअनुसार आफ्ना खेलाडीले हात नमिलाएको क्रिकेट स्कटल्यान्डले पुष्टि गरेको छ ।
क्रिकेट स्कटल्यान्डका सञ्चार प्रमुख चाल्र्स प्याटर्सनले शुक्रबारको खेलपछि आफ्ना खेलाडी तथा अफिसियलले पूर्वनिर्धारित निर्णयअनुसार सन्दीपसँग हात नमिलाएको बताए ।
सञ्चार प्रमुख चाल्र्स प्याटर्सनले भने, ‘एक टोलीको र एक प्रशासनिक निकायको रूपमा क्रिकेट स्कटल्याण्ड आधुनिक समाजमा कुनै स्थान नभएका सबै प्रकारका दुव्र्यवहारविरूद्ध दृढ रूपमा उभिन्छ । कुनै देशको टिममा कुनै खेलाडीलाई राख्ने/नराख्ने विषय आइसिसी र नेपाल क्रिकेट संघको हो ।’
नाबालिग बलात्कारको अभियोग लागेका सन्दीपसँग म्याचअघि र पछि आफूहरूले गर्ने व्यवहारका विषयमा क्यानसँग इमेल कुराकानी नभएको पनि प्याटर्सनले उल्लेख गरे ।
नेपालले शुक्रबार स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेपछि सन्दीप र स्कटल्यान्डका खेलाडीले हात मिलाएका थिएनन् ।
ड्रेसिङ रूममा स्कटिस खेलाडीले हात नमिलाएपछि सन्दीप यो विषयमा पहिले नै जानकार थिए ।
सन्दीपमाथि नाबालिग बलात्कारको अभियोगको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । बलात्कारको अभियोग लागेका सन्दीपलाई नेपाली राष्ट्रिय टिममा समावेश गरेको भन्दै क्यानको आलोचना भइरहेको छ।