उमेश राउतको संगीतमा मेलिना र सुदिपले गाए ‘मीठो साथ’ (भिडियोसहित)
७ फागुन, काठमाडौं । उमेश राउतको शब्द/संगीतमा नयाँ गीत ‘मीठो साथ’ सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राई र सुदिप लामाको आवाजमा रहेको गीत ‘उमेश राउत’ युट्युब च्यानलमा सार्वजनिक भएको हो ।
भ्यालेनटाइन अर्थात् प्रणय सप्ताहको अवसर पारेर सार्वजनिक गरिएको गीतमा भर्खरै बस्न थालेको माया अनि त्यसले सिर्जना गरेको सुन्दर परिवेशलाई वर्णन गरिएको छ । रिदम कँडेलको सङ्गीत संयोजन रहेको गीत अकस्टिक नेपालमा रेकर्ड गरिएको हो भने प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
भिडियोमा काजल भुजेल र दिपेश तामाङको अभिनय देख्न सकिन्छ । देवेन्द्र कार्कीको छायाँकन र दिनेश मुस्कानले सम्पादन गरेको गीतको भिडियो निर्देशन धनबहादुर तामाङ ‘सागर’ ले गरेका हुन् ।
आफैमा गायक समेत रहेका राउतको संगीतमा यस अघि ‘तिम्रो तस्बिर’,’भोगाइ जीवनको’, ‘आमा’, ‘गुरु बन्धना’ लगायत गीत सार्वजनिक भइसकेका छन् ।