प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाको असाधारण समर्थनः पक्षमा २६८, विपक्षमा २
२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै सांसदको असाधारण समर्थन पाएक छन् ।
मंगलबार भएको विश्वासको मत लिने प्रस्तावको पक्षमा २६८ मत र विपक्षमा जम्मा २ मत खसेको छ ।
आजको संसतमा जम्मा २७० सांसद उपस्थित थिए । संसदको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रचण्डलाई दुईतिहाइभन्दा धेरै बहुमत मिलेको घोषणा गरे ।
प्रचण्डको पक्षमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थन थियो । त्यस्तै ३ स्वतन्त्र सांसदले पनि मत दिएका छन् ।
प्रधामन्त्री प्रचण्डलाई संसदका साना ठूला सबै दलका २७४ सांसदको समर्थन रहेको छ । प्रचण्डलाई अहिलेसम्मकै धेरै सांसदहरुको साथ मिलेको छ । अर्थात् उनको पक्षमा पूरै संसद उभिएको छ । उनलाई नेपाली कांग्रेसले समेत साथ दिएपछि राष्ट्रिय सहमतिसहितको सरकारको नेतृत्व मिलेको छ ।
यसअघि गत पुस ११ गते नेकपा एमालेसहितका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।