२० माघ २०७९, शुक्रबार

देउवा, प्रचण्ड र नेपाल आलोपाले प्रधानमन्त्रीे, पहिले को भन्ने टुंगो भोलि !



९ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेता शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल आलोपालो प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन ।

गठबन्धन सम्बद्ध नेताहरुका अनुसार आइतबार बिहान १० बजे बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाएर राष्ट्रपतिले दिएको समयसीमाभित्रै नयाँ सरकार गठनका लागि दाबी गरिनेछ ।

संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपतिले दिएको ७ दिनको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिने छ । त्यसको अघिल्लो दिन प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकमा शक्ति बाँडफाँटबारे खुलेर कुराकानी भएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन तीनवटै दल सहमत देखिएका छन् ।

प्रधानमन्त्रीमा २/२/१ वर्षको पालो गर्ने पनि सहमति जुटेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् । गठबन्धनका एक नेताका अनुसार सुरुमा प्रधानमन्त्री हुनेमा देउवा र प्रचण्डको दाबी कायमै रहेकाले आ–आफ्नो पार्टीमा छलफल गरी सहमति जुटाएर भोलि नै दाबी पेश गरिनेछ ।

कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पनि भोलि सबै विषय टुंगिने भन्दै प्रधानमन्त्री को पहिला बन्ने भन्ने विषयले हलो नअड्कीने दाबी गरेका छन् । बैठकपछि उनले भने, ‘भोलिसम्म तपाईं धैर्य गर्नुस्, प्रधानमन्त्री को पहिले हुने भन्ने कुरा गौण कुरा हो, मुलुकलाई अहिलेको जनताको आकांक्षा अनुसार कसरी अगाडि बढाउने कुरा महत्वपूर्ण कुरा हो, गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको