मेस्सी विश्वकै सर्वोत्कृष्टः फिफाले भन्यो ‘अब ‘गोट’को बहस सकियो’
८ पुस, काठमाडौं । विश्व फुटबलमा विगत १६ वर्ष यता लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको नाम अग्रपङ्तीमा छ । यि दुई फुटबल स्टारलाई लिएर कुन खेलाडी महान भनेर विश्वभरका समर्थकहरुबिच विवाद चलिनै रहन्छ । तर फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ को उपाधी जितेसँगै मेस्सी नै सर्वकालिक महान खेलाडी भएको समाचार सञ्चारमाध्यममा आइरहेकै छन् ।
मेस्सीले विश्वकप उचालेसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नै ‘गोट’ अर्थात् सर्वकालिक महान खेलाडीको विवाद सकिएको घोषणा गरेको छ । फिफाले भनेको छ, ‘को सर्वोत्कृष्ट भन्ने बहस सकियो । मेस्सीले पाउन बाँकी एक मात्रै पुरस्कार पनि प्राप्त गरे । उनको विरासत पूरा भयो ।’
विश्व फुटबलमा सबैभन्दा ठूलो उपलब्धि हासिल गर्ने मेस्सी नै हुन् । व्यक्तिगत रुपमा उनले सबैखाले पुरस्कार प्राप्त गरिसकेका छन् । तर राष्ट्रलाई ठूला उपाधि दिलाउन नसकेको एउटै आरोप उनले खेपिनैरहेका थिए । त्यो पनि डेढ वर्षको फरकमा दुई उपाधि दिलाउँदै आफुमाथि लगाइएको आरोप गलत सावित गरिदिएका छन् मेस्सीले । डेढ वर्ष पहिले कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले उनकै कप्तानीमा विश्वकप उपाधी पनि जित्यो ।
अर्जेन्टिनी स्टार लियोनल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सन् २००६ को विश्वकपमा एकसाथ प्रवेश गरेका थिए ।
त्यसयता यि दुईले क्लवबाट होस् या राष्«टको लागि फुटबल खेल्दै गर्दा एकाथरिले मेस्सीलाई उत्कृष्ट भने, अर्काथरिले रोनाल्डोलाई । १६ वर्षदेखि मेस्सी कि रोनाल्डो उत्कृष्ट भनेर चल्दै आएको बहसमा अन्ततः मेस्सीले नै आफूलाई उत्कृष्ट प्रमाणित गरे । कतारमा दुवैले अन्तिम विश्वकप खेलेका थिए। मेस्सीको कप्तानीमा अर्जेन्टिना र रोनाल्डोको कप्तानीमा पोर्चुगल कतार पुगेको थियो ।
दुवैको लक्ष्य थियो आफ्नो अन्तिम विश्वकपमा राष्ट्रलाई उपाधि दिलाउने । तर मेस्सीले लक्ष्य पूरा गरेको विश्वकपमा रोनाल्डोको टिम क्वार्टरफाइनलबाटै बाहिरियो । त्यसमा पनि रोनाल्डोको विश्वकप यात्रा सुखद रहेन ।
मेस्सीले एकपछि अर्काे कीर्तिमान बनाउँदै जाँदा रोनाल्डो भने विपक्षीसँग होइन आफ्नै टिमभित्र संघर्ष गरिरहेका थिए । टिमकै केही खेलाडी र प्रशिक्षकसँगको मनमुटाव मैदानमै देखिएको थियो ।
प्रशिक्षक फर्नान्डो सान्तोषले नकआउट चरणमा रोनाल्डोलाई नै बेन्चमा राखिदिएपछि उनका समर्थक मात्रै हाइन विश्वकै फुटबल दर्शकहरु समेत दुःखी भए । क्वार्टरफाइनलमा पनि उनले पहिलो रोजाइमा मौका पाएनन् । रोनाल्डोको नेतृत्वमा पोर्चुगलले क्वार्टरफाइनलभन्दा अगाडिको यात्रा तय गर्न सकेन ।
उनको डेब्युमा २००६ को विश्वकपमा क्वार्टरफाइनल पुगेको पोर्चुगल उनको अन्तिम विश्वकपमा पनि अन्तिम ८ बाटै विदा भयो।
विश्वकपमा ५ खेल खेल्दा रोनाल्डोले पेनाल्टीमा एक गोल गरे । उनका प्रतिस्पर्धी भनिएका मेस्सी गोल्डेन बुटको दौडमा थिए । विश्वकपमा ७ गोल गरेका मेस्सीले सबैभन्दा बढी ३ गोलमा असिस्ट पनि गरे । मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रलाई विश्वकप दिलाए ।
विश्वकपमा दोस्रो पटक उत्कृष्ट खेलाडी पनि बने मेस्सी । जो दोस्रो पटक उत्कृष्ट बन्ने पहिलो र एक मात्रै हुन् । समकालिन फुटबलरमा सर्वोत्कृष्ट दुई नाम मेस्सी र रोनाल्डो भएपनि एकनाम भने लियोनल मेस्सी नै प्रमाणित भएको छ ।