नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बाटो बन्द
काठमाडौं । नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बाटो बन्द हुने भएको छ । पुल निर्माण गर्ने क्रममा पहाड काट्न चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड मङ्गलबारदेखि दैनिक चार घण्टा बन्द गरिने भएको हो ।
मुग्लिन सडकखण्डमा निर्माणाधीन पुलका लागि पहाड काट्नुपर्ने भएकाले अन्य वैकल्पिक मार्ग नभएपछि सडक बन्द गरेर काम गर्नु परेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिकलगायत सबै पक्षसँग समन्वय गरेर बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सडक बन्द गरेर पहाड कटान गरिन लागेको हो ।
‘अहिले पनि पहाड काट्ने काम भएको छ तर सुरक्षाको दृष्टिले र छिटो काम गर्न सडक बन्द गरेर काम गर्नुपर्ने देखिएको छ,’ आयोजना प्रमुख कार्कीले भने । सडक प्रयोग गर्ने यात्रुलाई बन्द गर्ने समयको विषयमा जानकारी लिएर मात्र यात्रा गर्न उनले अनुरोध गरे । ‘कम्तीमा एक महिना यसरी नै सडक बन्द गरेर काम गर्नेछौँ,” कार्कीले भन्नुभयो, “कामको प्रगति हेरेर एक महिनापछि समय निर्धारण हुनेछ ।’