मेस्सीको सपना साकारः ३६ वर्षपछि अर्जेन्टिनालाई दिलाए विश्वकप उपाधि
४ पुस, काठमाडौं । विश्वकै सर्वोत्कृष्ट फुटबल खेलाडी लियोनल मेस्सी ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जिताउन सफल भएका छन् । ३५ वर्षीय मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो ।
मेस्सीको उत्कृष्ट खेलसँगै फ्रान्सलाई ४–२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि हात पारेको हो ।
निर्धारित ९० मिनेट २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुबै टिमबाट १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिना ३६ वर्षपछि विश्वकप उपाधी जित्न सफल भयोे ।
अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।
फ्रान्सका केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे। किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुकेका थिए ।
अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो ।
फ्रान्स भने लगातार दोस्रो पटक उपाधि जित्न बन्चित बनेको छ । फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।
अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेसी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एम्बाप्पेले ९७ सेकेन्डभित्र दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
खेलको २३ औं मिनेटमा अर्जेन्टिनाले मेसीको पेनाल्टी गोलमा अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र ओस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
३६ औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासलाई डि मारियाले सफल गोलमा पपिरणत गरे ।
खेल सकिन १० मिनेट बाँकी हुँदा फ्रान्सका लागि केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । निकोलस ओटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
एम्बाप्पेले दुई मिनेट नबित्दै फ्रान्सलाई बराबरीमा ल्याए । कोलो मुआनीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले सुन्दर गोल गरे ।
अतिरिक्त समयको १ सय ९ औं मिनेटमा मेसीले अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । मेसीको रिवाउण्ड प्रहार जुल्स कुन्डेले क्लियर गरे पनि उनी पोस्टभित्र पसेको निर्णय रेफ्रीले दिएका थिए ।
अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सले पुनः बराबरी गोल फर्कायो । केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा फ्रान्सलाई बराबरीमा ल्याए ।
अन्तत, पेनाल्टीमा फ्रान्सलाई स्तब्ध पार्दै अर्जेन्टिना विश्वकप उपाधी हासिल गर्न सफल भयो । विश्वकप उपाधी चुमेसँगै आफ्नो अन्तिम विश्वकप भएको बताएका कप्तान लियोनल मेस्सीको फुटबल करियर निक्कै सुन्दर तवरले अवतरण भएको छ । मेस्सी आफुलाई निर्विवाद सर्वकालिक महान खेलाडी प्रमाणित गर्न सफल भएका छन् ।