गोल्डेन बुटको दौडमा अग्रपङ्तीमा लियोनल मेस्सी
२९ मंसीर, काठमाडौं । कतारमा जारी फिफा विश्वकपको गोल्डेन बुट उपाधी दौडमा स्टार फुटबलर लियोनल मेस्सी सबैभन्दा अग्रपंतीमा देखिएका छन् । फ्रान्सका केलियन एम्बाप्पेले लगातार २ खेलमा गोल गर्न नसक्दा गोल्डेन बुटमा मेस्सीको सम्भावना बलियो बनेको होे ।
क्वार्टरफाइनलमा इंग्ल्याण्डविरुद्ध गोल नगरेका एम्बाप्पेले सेमिफाइनलमा मोरक्कोविरुद्ध पनि गोल र असिस्ट दुवै गर्न सकेनन् ।
गोल बराबरी भएपनि असिस्टका कारण एम्बाप्पेलाई मेस्सीले पछि पारेका हुन् । एम्बाप्पे र मेस्सीले समान ५ गोल गरेका छन् । मेस्सीले ३ गोलमा असिस्ट गर्दा एम्बाप्पेले २ गोलमा मात्रै असिस्ट गरेका छन् ।
गोल संख्या बराबरी भएमा असिस्ट जसको बढी छ उसैलाई गोल्डेनबुट प्रदान गरिनेछ । असिस्ट पनि बराबरी भएको अवस्थामा मात्रै दुई खेलाडीले खेलेको समयका आधारमा निर्णय गरिनेछ ।
सबै खेलमा मेस्सीले पूरै समय मैदानमा बिताएका छन् तर एम्बाप्पले केही खेल पूरै समय खेलेका छैनन् । गोल र असिस्ट बराबरी भएको अवस्थामा कम खेल खेल्नेलाई गोल्डेन बुट प्रदान गरिन्छ ।
यस्तै फ्रान्सका ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेजको पनि गोल्डेनबुट जित्ने सम्भावना कायम छ । यी दुवैले समान ४ गोल गरेका छन् ।
अब आइतबार राति हुने फाइनल खेलबाट मात्रै गोल्डेन बुट विजेताको टुंगो लाग्ने छ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया शनिबार राति भिड्नेछन् ।