कर्णाली प्रदेश सरकारको नेतृत्वमा माओवादीको दावी
२९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारको नेतृत्वमा दावी गरेको छ ।
प्रदेश कमिटी बैठकले कर्णालीमा माओवादी नेतृत्वको सरकार गठन गर्नेगरी गठबन्धनमा सिट बाडफाँट गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको हो ।
विहिबार बसेको बैठकले २०७४ सालको निर्वाचनको तुलनामा कर्णालीमा माओवादीको समानुपातिक मत समेत वृद्धि भएको निष्कर्ष निकालेको छ । प्रदेश अध्यक्ष विमला केसीले तुलनात्मक रुपमा यो पटक कर्णालीमा हाम्रो पार्टीको उपस्थिती बलियो रहेको बताइन् । ‘त्यसैले कर्णाली सरकारको नेतृत्व माओवादीले पाउने गरी गठबन्धनमा सिट बाँडफाँट गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेका छौं ।’ अध्यक्ष केसीले भनिन् ।
कर्णाली प्रदेश सभामा सत्ता गठबन्धनसँग सरकार बनाउन सुविधाजनक बहुमत छ । कांग्रेस र माओवादीले बराबर सरकारको नेतृत्व गर्ने विषयमा अनौपचारिक सहमति जुटेपनि पहिला कसले नेतृत्व गर्ने भन्नेबारे सहमति जुट्न सकेको छैन ।
बैठकले संघीय सरकार निर्माणको सन्दर्भमा पहिलो कार्यकाल माओवादीकै नेतृत्वमा सरकार गठनको लागि अधिकतम पहल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझावसमेत दिएको छ ।
बैठकले यही गठबन्धनलाई निरन्तरता दिदै सत्ता सञ्चालनको लागि गठबन्धन दलका प्रतिनिधि सम्मिलित राजनैतिक संयन्त्र बनाउन पनि सुझाव दिएको छ ।
विज्ञप्ति हेर्नुहोस्ः
