९ आश्विन २०८०, मंगलवार

अब मेस्सी र एम्बाप्पेको भेट विश्वकपको फाइनलमा



२९ मंसीर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना आमनेसामने हुने भएका छन् । बुधबार राति फ्रान्सले मोरक्कोलाई २–० गोलले पराजित गरेसँगै विश्वकपको फाईलनमा अर्जेन्टिना र फ्रान्सबिच निर्णायक खेल हुने निश्चित भएको हो ।

अर्जेन्टिना यसअघि मंगलबार राति क्रोएसियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । यसअघि यी दुवै टोलीले समान २ पटक विश्वकप जितेका छन् ।

रोचक कुरा पिएसजीबाट सँगै क्लव फुटबल खेलिरहेका स्टार फुटबलर लियोनल मेस्सी र केलिएन एम्बाप्पे विश्वकपको फाइनलमा आमनेसामने हुने भएका छन् ।

१९९८ मा पहिलो पटक ब्राजिललाई पराजित गर्दै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो ।

अर्जेन्टिनाले १९७८ मा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । १९८६ मा जर्मनीलाई पराजित गर्दै अर्को उपाधि थप्यो । त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन । मेस्सी यसपटक अर्जेन्टिनालाई विश्वकप उपाधी दिलाएर आफ्नो फुटबल करिअरको अन्तिम लक्ष्य चुम्ने दाउमा छन् ।

१९९० र २०१४ मा जर्मनीसँग फाइनलमा पराजित भएको थियो । त्यसअघि पहिलो विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो। यो सँगै अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल खेल्न लागेको हो ।

फ्रान्स भने यसअघि फाइनलमा एक पटक मात्रै पराजित भएको छ । २००६ मा इटलीसँग पराजित भएको थियो । यो उसको चौथो फाइनल हो ।

विश्वकप फुटबलमा यी दुई टोली तेस्रो पटक भेट भएका हुन्। पहिलो पटक १९७८ मा समूह चरणमा भेट हुँदा अर्जेन्टिनाले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो ।

गएको विश्वकपमा अन्तिम १६ मा भेट भएका थिए । जसमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको