राष्ट्रिय झण्डाको रङ बोकेर नेपाल आइपुग्यो रेल
२ असोज, काठमाडौं । लामो समयदेखि बन्द रहेको नेपालको एकमात्र रेल सेवा पुनः सुचारू हुने भएको छ । भारतको जयनगरदेखि नेपालको कुर्था–जनकपुरधामसम्म रेल सेवा सुरू हुने निश्चित भएको हो ।
नेपाल सरकारले किनेको दुई सेट रेल र ४ सेट इन्जिन आज (शुक्रबार) नेपाल आइपुगेको छ । रोचक र खुसीको कुरा केछ भने यो रेलको बाहिरी भागमा हाम्रो राष्ट्रिय झण्डाको (निलो र रातो) रङ प्रयोग गरिएको छ ।
नेपाल रेल विभागले सन् २०१९ मे महिनामा ८४ करोड ६५ लाख रूपैयाँमा भारतको सरकारी कम्पनि कोंकन रेल्वे कर्पोरेशनसँग रेल किन्ने सम्झौता गरेको थियो । ५ वटा डिब्बासहितका प्रत्येक रेलमा १२ सय देखि १३ सय यात्रुले एकैपटक यात्रा गर्न सक्छन् ।
नेपालमा सन् १९७२ मा स्थापित नेपाल रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा ल्याएको थियो । तर सन् २०१४ देखि कम्पनि सक्रिय नभएपछि ६ वर्षसम्म बन्द भएको रेल सेवा फेरी थप परिस्कृत तवरले सञ्चालनमा आउदैछ ।
त्यतिखेर नेपालमा कोइलाबाट रेल चल्थ्यो । अहिले नेपाल ल्याउन लागिएको डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल भने डिजेलबाट निस्किने बिजुलीबाट चल्ने रेल विभागले जनाएको छ । नेपालमा रेल चलाउने दक्ष प्राविधिक नभएकाले प्राविधिक जनशक्ति भारतबाटै ल्याउन मन्त्री परिषद्ले स्वीकृति दिइसकेको छ । अन्य कर्मचारीमा भने नेपालीहरूलाइ नै भर्ना गरिने विभागले बताएको छ । रेल सञ्चालनका लागि दक्ष जनशक्ति उत्पादन गर्न नेपालीहरूलाई प्रशिक्षित गर्ने तयारी पनि सँगसँगै अघि बढाइएको छ ।
रेलको सम्पूर्ण निर्माण कार्य भारतको मद्रासमा सम्पन्न भएको हो । निर्माण स्थलबाट नेपाल आउने क्रममा आपतकालिन लकडाउनका कारण रेल हजिपुरमा थन्किएको थियो । आज (शुक्रबार) रेल जनकपुर धाम स्टेशनमा आइपुगेको छ । भारतीय निर्माण कम्पनी कोंकन रेल्वे कर्पोरेशनका प्रतिनिधिले नेपाल रेल्वे विभागलाई रेल हस्तान्तरण गर्ने कार्यक्रम छ ।
‘रेल संचालनका लागि प्राय सबै संरचनाहरू निर्माण भइसकेकाले बाँकी प्राविधिक तयारी समयमै पुरा भएमा १ महिनापछि रेल सञ्चालनमा ल्याउन सकिन्छ ।’ मिश्रले भने ।
जयनगरदेखि जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरसम्म चलाउने योजना सरकारको छ । यही रेलमार्गलाई बर्दिवासमा पूर्व पश्चिम रेलमार्गसँग जोडेर ४ वर्षभित्र निजगढसम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्य सरकारले तय गरिसकेको छ ।