मेलम्ची खानेपानी विकास समिति आवश्यक छ भने निरन्तरता दिन सकिन्छः प्रधानमन्त्री देउवा
२० मंसीर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी विकास समिति आवश्यक छ भने निरन्तरता दिन सकिने बताएका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार भई काठमाडौंबाट निर्वाचित भएका प्रतिनिधि सभा र प्रदेश सभा सांसदहरूको ध्यानाकर्षण पत्र बुझ्दै आज बालुवाटारमा देउवाले विकास समितिको आवश्यकता छ भने निरन्तरता दिन कुनै आपत्ति नरहेको बताए ।
‘मेलम्ची खानेपानी विकास समिति आवश्यक छ भने मेरो कुनै आपत्ति छैन । विकास समिति खारेज किन भयो पनि छलफल गरौंला,’ उनले भने, ‘विकास समिति वा यस्तै कुनै नियामक निकाय बनाउन जरूरी छ ।’
उनले मन्त्रिपरिषद बैठकमा मेलम्ची विकास समितिबारे छलफल गरिने पनि बताएका छन् ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउँदा विकास समिति खारेज गरेको थियो। उक्त समिति नहुँदा मेलम्ची खानेपानी विकास समितिमार्फतका ६१ कर्मचारीले गत साउनदेखि तलब खान पाएका छैनन् ।
विकास समिति खारेज गरेर मेलम्ची आयोजनालाई खानेपानी विभागअन्तर्गत सञ्चालन गर्न खोजिएको थियो तर त्यसबारे खासै काम अघि बढेको छैन ।