३ आश्विन २०८०, बुधबार

काउलीको कथाः नेपालमा कसले ल्यायो ?



यहाँ तस्विरमा ५६ वर्ष अगाडीअमेरिकी पिसकोर भोलेन्टियर बिल बोर्सा पर्साको बिरुवा गुठीको हातबजारमा काउली किन्न लागेका छन् ।


काउलीलाई भारतमा फूलगोभी भनिने हुँदा हामी कहाँ पनि कतै कतै फूलगोभी भन्ने गरिन्छ । काउली निकैलाई मन पर्ने यो एक प्रकारको तरकारी हो । यो हाम्रो देशमै उत्पादित तरकारी हो । तर, थोरैलाई मात्र जानकारी होला यो तरकारी नेपालमा बेलायतबाट प्रबेश पाएको आयातित तरकारी हो भनेर।

मोटामोटी हिसाब गर्दा यस्तै १७० वर्ष मात्र भयो काउलीले नेपालमा प्रबेश पाएको । नाम पनि आखिर यसले बिदेशी नै त अपनाएको छ । काउली शब्द नेपाली पनि त होइन । साइप्रसमा सबैभन्दा पहिले तरकारीको रुपमा उपयोग हुन थालिएको यो काउली यहिबाट यूरोपको बिभिन्न मुलुकमा पुगेको थियो । भारतमा भने नेपाल आइपुग्नु भन्दा २८ वर्ष अगाडि भारतको सहारनपुरमा रहेको कम्पनी बागमा प्रमुख भएर बेलायतबाट आएका डाक्टर जेम्सनले खेतीका लागि ल्याएका थिए ।

बि.सं. १९०७ को जेठमा जंगबहादुरको बेलायत भ्रमणमा रहदा साउथ ह्याम्पटनको तरकारी बजारमा पुग्दा अनौठो फूल नै तरकारीको रुपमा बेचेको देखेछन् । नेपालबाटै लगेका भान्सेलाई त्यहि तरकारी पकाउन लगाएछन् । तरकारी निकै मन परेपछि उनले नेपाल फर्कदा काउलीको बिउँ पनि बोकेर आएछन् । यसरी काउलीले बेलायतको ह्याम्पटनबाट नेपालमा प्रबेश पाएको हो ।

मोटामोटी नेपालमा १८ जातका काउली रोप्ने गरिन्छ । जसमध्य अधिकांश हाइब्रिड रहेका छन् भने केही स्थानीय पनि रहेका छन् । यी स्थानीय भनिएका भने १७० वर्ष अगाडि नेपाल भित्रिएका जातका हुन् । काउलीका प्रमुख जातहरुमा पुसा दिपाली, सिल्भर कप ६०, एनएस ६०, स्नो क्राउन, ह्वाइट टप, मिल्क वे, ह्वाइट फ्लास, श्वेता, एनएस ९०, स्नो क्विन, स्नो किङ्ग, काठमाडौको लोकल, ज्यापू काउली, किबो जियन्ट, माधुरी, स्नो बल १६, स्नो मिस्टिक र एनएस १०६ हुन् । यसबाहेक हाइब्रिड काउलीका जातहरु फ्रिडम, टिटान, राभेल्ला, एमाजिङ, आर्टिका अमेरिकाबाट पछिल्लो समय भित्रिएका जात हुन् भने बिशप र क्यास्पर निडरल्याण्डबाट भित्रिएको जात हुन् । इन्डाम ९८०३ भने अमेरिकी काउलीलाई भारतमा हाइब्रिड गरेको जात हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको