८ आश्विन २०८०, सोमबार

चुनावमा सधै आश्वासन मात्रै पाउने हामी कति भाग्यमानी ?


देवी काफ्ले
२५ कार्तिक २०७९, शुक्रबार



चुनाव, भाषण, नारा, आश्वासन खादाँखादैँ हामी अझैँ अघाएका छैनौँ । पाँच पाँच वर्षमा पाइने यी ‘फ्रि’का खाद्यान्नहरुले अझैँ वाकवाकी लागेकै छैन । अझैँ पनि पाँच वर्षमा खान पाइने रक्सीको झोल र एक चोक्टा मासुको आसा मरेकै छैन् ।

घर छेउका खोलामा तटबन्ध गर्छु भन्नेलाई भोट दिएर जिताएपछि पाँच वर्षसम्म अनुहार हेर्न आसिएर बसेका हामी फेरि आएर त्यहि वाक्य दोहो¥याउँदा मक्ख पर्न कत्ति झिँजो लाग्दैन् । छोराले जागिर नपाएर पिरोलिएर बसेका बाआमालाई सान्त्वना दिँदा ढुक्क भयो । छोरालाई अझैँ जागिरको जोहो गरेको छैन् । जिताएका मान्छे मन्त्री भए भेट्न जाँदा चिनेनन्, तै पनि उनको मुहार हेरेर उनको नजिकमा बसेर फोटो खिचाउन कत्ति हिच्किचाउँदैनौँ हामी । हामी कति सहनशिल छौँ ?

भदौसम्म पनि रोपाईं गर्न पाईंदैन सुक्खा परेर आउँछन् र आश्वासनका पुटुरा खोल्छन् । भरखरै भारी बर्षात हुन्छकी भनेर आकाश हेर्दै स्वागतमा हात जोड्ने हामी, रोपाईंमा हाल्नु पर्ने मल धान काट्नेबेला आइपुग्दा ताली पिटेर २०५ किलो फूलको माला लगाईदिन्छौँ । हामी कति मनकारी ?

उत्पादनले बजार पाएन, बजार ब्यावस्थापन गरिदिन्छु भन्नेलाई जिताएर पठाएको अर्को वर्ष खेतमा उत्पादन गरेको बन्दागोभी, टमाटरमा ढुक्कले ट्र्याक्टर लगाईदिन्छौँ, भरिएका दुधका भाडा बाटो मै बगाईदिन्छौँ । अनि पाँच वर्षपछि आएका माननियलाई सयपत्री र खादाले पुर्दै स्वागत गर्छौं । हामी कस्ता औतारी ?

बाटोघाटोको असुबिधा भएका ठाउँमा बाटो निर्माण गर्छु ताकी गाउँघर पुग्न उत्पादित वस्तुहरु बजारसम्म पु¥याउने मद्दत पुग्नेछ भन्नेलाई जितायौँ । डाँडाकाँडा पहिरोले लछार्नेगरी आसेपासेलाई डोजर ठेक्का दिए गाउँ पहिरोले पु¥र्यो । पाँच वर्षपछि उनैसँग राहतको आशा गर्दैछौं हामी। हामी कति गुनिला ?

सुकुम्बासीलाई लालपूर्जा दिनेछु भनेकालाई जिताएर पठाइयो । पाँच वर्ष भयो। महँगो जग्गा खान आफैँ सुकुम्बासी बन्छन् फेरि आएर लालपूर्जा वितरणका कुरा गर्दा अब त पूर्जा हातैमा आयो जस्तो गरी हाम्रा भगवान भनेर पुज्ने हामी कस्ता भक्त ?

ठूल्ठूला नदी पार गरेर विद्यालय जानू पर्ने, ओहोरदोहोर गर्नुपर्ने, तुइनको कठिन यात्रा पार गर्दा आफन्त गुमाउनेलाई झोलुङ्गे पुल बनाईदिन्छु भन्दा त्योभन्दा खुःसीको कुरा के हुन्छ ? भखर्रै सर्वसुबिधासम्पन्न शहरिया बनेको महसुस गर्न कसले रोक्ने, सपना देख्न कसले रोक्ने ? तर तुइनमा झुण्डिँदा झुण्डिँदै कतिको ज्यान बेपत्ता हुन्छ तै पनि पाँच वर्षपछि आएर फेरि त्यै पुलको नाममा भोट माग्दा बाह्रहात उफ्रेर जय जयकार मनाउने कतिसम्मका झोले हामी ?

विजुली नपुगेका ठाउँमा बत्ति बाल्दिन्छु, घरघरमा धारा हुन्छ भनेर दिएका आश्वासनले पाँच वर्षसम्म ओथारो बसेर पनि चल्ला काढ्न नसक्ने अगुवालाई खादाँ र मालाले झरिझट्टै पारिदिने कस्ता पुजारी हामी ?

नावालिक छोरीको बलात्कारपछि हत्या भयो । न्यायको लडाइँ लड्दा न्याय माग्नेको ज्यान लियो । हत्यारा पत्ता लाउछु सजय दिलाउँछु भनेर दिएको आश्वासन नारामा परिणत भैसक्दा पनि न्याय पाइन्छ कि भनेर त्यै चेलीको अस्मिता बजारीकरण गर्दा ताली पिटेर अझैँ उनैबाट न्यायको आशा राख्ने कस्ता लोभी हामी ?

छ महिना अन्न छ महिना भ्याकुर खाएर जीवनयापन गर्नेहरुको जीवनी ह्वात्तै बदलीदिन्छौं भनेर गरिब निमुखाको भोटको अवमूल्यन गर्नेहरुसँग अझैँ पनि चोला फेरिन्छ कि भनेर हजुर बराजु गरिरहने कति सम्मका भिखारी हामी ?

युवाहरु बिना देश सम्बृद्ध हुन सम्भव छैन् भनेर युवालाई गलत प्रयोग गरि मोटरसाइकलमा केही लिटर पेट्रोल दियर बाटो धुलोले ढकमक्क बनाउनेहरुले हरेक दिन खाडीमा जाने लर्को लाग्दा हामीले सम्झौता गरेर पो बैदेशिक रोजगारमा जाने अवसर पाए भन्दै रेमिट्यान्सले भत्ता हसुर्नेहरुलाई अझैँ किन वाहवाही ?

यी त भुईंमान्छेका न्युनतम आवश्यकता खेलिएका अति न्यून खेलवाड हुन् । देशसँग त यस्ता खेलवाड कति भएका छन् हामीले अनुमान लाउन सक्दैनौँ ।

अझैँ हिमालमा आगो बाल्दिने र मरुभूमिमा हिउँ पारिदिने नेतृत्वबाट साबधान हुन जरुरी छ । हाम्रो हैन राम्रो रोजौँ । ‘चुनाव विशेष’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको