युवा नेता योगेन्द्र शाहीले गरे जेहनदार विद्यार्थीका लागि ५ लाखको शैक्षिक अक्षयकोषको घोषणा
२१ असोज, काठमाडौं । नेकपा एमालेका वौद्धिक युवा नेता योगेन्द्र शाहीले वडा दशैंको अवसरमा ५ लाखको शैक्षिक अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।
दैलेख जिल्लाका गरिव दलित, जेहनदार विद्यर्थीको शैक्षिक स्तरोन्नतीको लागि अक्षयकोषको स्थापना गर्न लागिएको हो ।
नेता शाहीका स्वर्गीय बुवा खगेन्द्रबहादुर शाहीले दैलेखको पश्चिम क्षेत्रका विभिन्न विद्यालयमा संस्थापक शिक्षक भई काम गर्नु भएको थियो । वडा दशैंको शुभ दिन र विश्व शिक्षक दिवशको अवसर पारी दैलेख जिल्लाको शिक्षामा सुधार गर्न स्वर्गीय बुवाको नाममा रू. ५ लाखको अक्षयकोष निर्माण गर्ने नेता शाहीले बताए ।
यही आर्थिक वर्षभित्र सञ्चालनमा आइसक्ने अक्षयकोषमा उनले आफ्नो पैतृक सम्पत्ति र कमाइबाट अक्षयकोषमा यस बाहेकको थप रकम जम्मा गर्दैं जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा ग्रामिण क्षेत्रको शिक्षा र स्वास्थ्य अवस्था सुधारको लागि नेता शाहीले गरेको प्रतिवद्धता यस्तो छः
वडा दशैं २०७९ को उपलक्ष्यमा शुभकामना सहित शुभ-कार्यको घोषणा
(दैलेख जिल्लाका गरिव, दलित, जेहन्दार विद्यार्थीका लागि रु. ५ लाखको अक्षयकोषको घोषणा साथै अकुपञ्चर, आयुर्वेद र प्राकृतिक चिकित्सामार्फत् निःशुल्क उपचारको लागि प्रतिवद्धता)
वडा दशैं २०७९ को पावन उपलक्ष्यमा सम्पूर्ण आमाबुबा, दाजुभाई, दिदी बहिनीहरूमा सुख, समृद्धि र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । दशैं खानपिन, रमाइलो र आशीर्वाद थाप्ने अवसर मात्र होइन असल कामको प्रतिवद्धता व्यक्त गर्ने मौका पनि हो । वडा दशैंको आजका दिन र विश्व शिक्षक दिवशलाई साक्षी राखेर दैलेखी जनताको सेवा गर्नका लागि दुइवटा प्रतिवद्धता घोषणा गर्न चाहन्छु ।
क. स्वास्थ्य क्षेत्रमा राज्यले काम गर्नु पर्दछ भनेर हामी आफ्नै निजी लगानीमा नेचुरालय फाउन्डेसन स्थापना गरी काठमाडौंबाट दिन दुःखीहरूका लागि स्वयम्सेवी अकुपञ्चर लगायतका सेवा सुरुवात गरिसकेका छौं । प्राकृतिक चिकित्सा र अकुपञ्चर लगायतका विधिबाट नशा, माइग्रेन, रक्त सञ्चार आदि रोगका लागि हाललाई मेरो जन्मथलो दैलेख जिल्लाका अति विपन्न दलित, महिला, अशक्तका लागि आजैका दिनदेखि हाम्रो फाउण्डेसन मार्फत् निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
ख. शिक्षा हाम्रा सन्तती र देशको भाग्य निर्माण गर्ने आधार हो । सार्वजनिक शिक्षामा सुधार गर्नु पर्दछ भनेर हामीले रूपान्तरण नेपाल मार्फत् पनि दैलेख जिल्लाको शिक्षा सुधार र सामाजिक क्षेत्रमा केही सहयोगहरू गरेका थियौं । म आफैले दुल्लुको निर्माणाधीन साहित्यिक उद्यानमा मानवतावादका प्रवद्र्धक तथा शिक्षाविद् जयपृथ्वी बहादुर सिंहको सालिक स्थापना गर्न रु. ५० हजार दान गरेको छु ।
हाम्रा स्वर्गीय बुवा खगेन्द्रबहादुर शाहीले दैलेखको पश्चिम क्षेत्रमा विभिन्न विद्यालयमा संस्थापक शिक्षक भई काम गर्नु भएको थियो । मैले आजको शुभ दिन वडा दशैं र विश्व शिक्षक दिवशको अवसर पारी दैलेख जिल्लाको शिक्षामा सुधार गर्न हाम्रा स्वर्गीय बुवाको नाममा गरिव, दलित र जेहन्दार विद्यार्थीका छात्रवृत्तिका लागि रू. ५ लाखको अक्षयकोष निर्माण गर्ने घोषणा गर्दछु । त्यसको सञ्चालन र विद्यार्थी छनौट प्रकृयाका लागि दैलेख जिल्लाका विद्वान, पुराना गुरुहरू, त्यागी राजनीतिकर्मीहरूलाई संरक्षक र सल्लाहकारका रूपमा राख्न प्रस्ताव गरेको छु । अक्षयकोष यही आर्थिक वर्षभित्र सञ्चालनमा आइसक्ने र म मेरो आफ्नो पैतृक सम्पत्ति र कमाइबाट अक्षयकोषमा यस बाहेकको थप रकम जम्मा गर्दैं जाने घोषणा पनि गर्दछु ।
दैलेख दुल्लु पञ्चकोशी ज्वाला क्षेत्र न्याय, सत्कर्म, सद्भावना र समानताको भूमि पनि हो । दैलेख जिल्लाका सबै दाजुभाई दिदी बहिनीहरूले मेरो यस अभियानलाई साथ र सहयोग दिनुहुने अपेक्षा गर्दै पुनः वडा दशैं, तिहार, नेपाल सम्वत्, छठलगायतका पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
योगेन्द्र बहादुर शाही
चामुण्डाविन्द्रासैनी, वडा नं। ४, दैलेख ।
२०७९ असोज १९ गते ।
(युवा नेता शाही नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागको सचिव हुनुहुन्छ ।)