‘सडक–२’को ट्रेलरमा डिस्लाइकको ओइरो, तर पनि युट्युव ट्रेन्डिङको शिर्षस्थानमा
३० साउन, काठमाडौं । लामो समय पछि चलचित्रमा देखिएका बलिउड सुपरस्टार सञ्जय दत्त अभिनित चलचित्र ‘सडक–२’ को ट्रेलर युट्युव ट्रेन्डिङको १ नम्बरमा आएको छ । गत बुधबार सार्वजनिक सडकको ट्रेलर छोटो समयमै ट्रेन्डिङको शिर्ष स्थानमा आएको हो ।
तर दुखद पक्ष के छ भने महेश भट्ट निर्देशित चलचित्रको ट्रेलर ट्रेन्डिङ आएपनि कमेन्ट र डिस्लाइक हेर्दा दर्शकले त्यति नरुचाएको अनुमान लगाउन सकिन्छ । यो समाचार तयार पार्दै गर्दासम्म फिल्मको ट्रेलरले ९२ लाख डिस्लाइक पाएको छ भने लाईक ५ लाख १० हजारमा समेटिएको छ ।
सन् १९९१ मा महेश भट्टकै निर्देशनमा बनेको चलचित्र ‘सडक’ हिट भएको थियो । सडकमा सञ्जय दत्त र पुजा भट्टको मुख्य अभिनय थियो । सोही चलचित्रको सिक्वेलको रुपमा निर्माण भएको ‘सडक–२’ मा सञ्जय दत्त र पुजा भट्टका साथमा आलिया भट्ट र आदित्य रोय कपुरको मुख्य भूमिका छ ।
तर युट्युवमा दर्शकको डिस्लाईकको ओइरो देख्दा चलचित्रको ट्रेलर नै अस्विकार भएको देखिएको छ । अभिनेता सुशान्तसिंह राजपुतको अप्रत्यासित मृत्युपछि ‘नेपोटिजम’ विवादको सम्पुर्ण भर्पाइ यो चलचित्रले बेहोर्ने अड्कल गर्न थालिएको छ ।
बलिउडमा मौलाएको ‘नेपोटिजम’कै कारण सुशान्त आत्महत्या गर्न बाध्य भएको तथ्य बाहिर आएपछि आक्रोशित दर्शकले स्टारका छोराछोरी अभिनित चलचित्र बहिस्कार गर्ने अभियान चलाएका थिए । त्यो अभियान सार्थक तुल्याउन ‘सडक–२’को ट्रेलरलाई सर्वाधिक डिस्लाइक पाउने भिडियोको रेकर्ड बनाउन युट्युव कमेन्टमा दर्शकहरुले अपिल समेत गरेका छन् ।
बिहिबारसम्म १ करोड डिस्लाइक पुर्याउने भन्दै युट्युव कमेन्ट आइरहदा आज शुक्रबारसम्म ट्रेलरलाई ९२ लाख दर्शकले डिस्लाइक गरेका छन् । आफुले अभिनय गरेर हिट भइसकेको चलचित्रको सिक्वेललाई पनि दर्शकले ट्रेलरलाई जसरी अस्विकार गरिदिए भने करिअरको उत्तरार्धमा स्टार सञ्जय दत्तलाई ठुलो झट्का लाग्न सक्छ ।
ट्रेलर हेर्नुहोस्ः