एपलले कार दुर्घटना पत्ता लगाउने क्षमतासहितको आईफोन र घडी सार्वजनिक
काठमाडौं । एपलले नयाँ आईफोन १४ सार्वजनिक गरेको छ जसमा भूउपग्रहसँगको सम्पर्क सञ्जाल र कार दुर्घटना भएको पत्ता लगाउन सक्ने प्रविधि जडान गरिएको छ ।
कोरोनाभाइरस महामारीपछि मानिसहरू उपस्थित कार्यक्रममा पहिलो पटक नयाँ मोडेलका आईफोन, घडी र एअरपडहरू सार्वजनिक गरिएका हुन् ।
उक्त कार्यक्रममा एपलका प्रमुख कार्यकारी अधिकृत टिम कुक पनि उपस्थित थिए तर सम्पूर्ण प्रस्तुति पहिले नै रिकर्ड गरिएको थियो ।
आईफोन १४ दुई वटा आकारहरूमा ल्याइएको छ जसमा आईफोन १४ र आईफोन १४ प्लस पर्छन् ।
नयाँ हेडसेटहरूमार्फत भूउपग्रहको माध्यमबाट आपत्कालीन सहयोगको माग गर्दै कल गर्न सकिन्छ ।
फोनले आकाशमाथि रहेको भूउपग्रहको अवस्था देखाउँछ र कसरी ठिक ढङ्गले तीसँग सम्पर्क स्थापित गर्ने भन्ने पनि निर्धारण गर्छ ।
एउटा साधारण सन्देश पठाउन १५ सेकेन्डदेखि केही मिनेटसम्म लाग्न सक्छ ।
सीसीएस इनसाइटका प्रमुख विश्लेषक बेन वूडले भूउपग्रहसँग जोड्ने उपलब्धिलाई कम आकलन गर्न नहुने बताए ।
एक जना प्रविधि विश्लेषक पाओलो पेसकाटोरीइले दुर्गममा रहेका उपभोक्ताहरूका लागि पछिल्लो अन्वेषण सहज हुने बताए ।
प्रविधिसम्बन्धी अग्रणी उक्त कम्पनीले नयाँ १२ मेगापिक्सेलको क्यामेरा घोषणा गरेको छ जसले तेज गतिमा चलिरहेका बस्तुहरूको फोटो खिच्ने सामर्थ्य राख्छ ।
उक्त कम्पनीले कम प्रकाशमा तस्बिर खिच्ने क्षमता ४९ प्रतिशतले वृद्धि भएको दाबी गरेको छ ।
अगाडिको क्यामेरामा पहिलो पटक अटो फोकस छ जसले अझ राम्रो सेल्फी खिच्न सक्छ ।
एपलका अनुसार प्रयोगकर्ताहरूले पछिल्लो १२ महिनामा तीस खर्वभन्दा धेरै फोटो खिचेका थिए ।
आईफोन १४ को मूल्य अमेरिकामा ७९९ डलर अर्थात् १ लाख १ हजार रुपियाँ भन्दा केही बढीबाट सुरु हुने जनाइएको छ ।
आईफोन १४ प्रोको मूल्य अमेरिकामा ९९९ डलर अर्थात् १ लाख २६ हजार ५ सय भन्दा बढी पर्छ ।
एक्टिभेट गरिएको खण्डमा नयाँ घडीले शरीरको तापक्रम प्रत्येक पाँच सेकेन्डमा अनुगमन गर्न सक्छ । अर्को नयाँ विशेषता कार दुर्घटना पत्ता लगाउनु हो ।
सेन्सरको प्रयोग गरी घडीले गम्भीर दुर्घटना पत्ता लगाउन सक्छ र स्वचालित रूपमा नै घडी लगाउने व्यक्तिलाई आपत्कालीन सेवा प्रदायकसँग जोड्न सक्छ ।
घडीको माध्यमबाट दुर्घटना स्थलको अवस्थिति र आपत्कालीन सम्पर्क व्यक्तिसँग पनि सम्पर्क गर्न सकिन्छ ।
पूर्ण चार्ज गरेपछि ३६ घण्टा ब्याट्रीको आयु रहने भनिएको उक्त घडीको मूल्य ३९९ अमेरिकी डलर अर्थात् ५० हजार ५३७ रुपियाँबाट सुरु हुन्छ ।
उक्त अल्ट्रा वाचको मूल्य ७९९ अमेरिकी डलर अर्थात् १ लाख १ हजार रुपियाँ भन्दा थोरै बढीबाट सुरु हुन्छ ।