युवा गायक दिनेश गौतमको नयाँ गीत ‘जुनकीरी’ सार्वजनिक (भिडियो सहित)
२२ भदौ, काठमाडौं । कुशल युवा गायक एवम् संगीतकार दिनेश गौतमको नयाँ गीत ‘जुनकीरी’ सार्वजनिक भएको छ । गायक गौतमको आफ्नै आधिकारीक युट्युव च्यानलमा सोमबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।
वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक पिडालाई चित्रण गरिएको गीतको शब्द रचना रामकुमार एलनले गरेका हुन् । जोसेफ शाही ठकुरीको संगीत र एस.के बच्चाको संगीत संयोजन रहेको गीतमा कुमार के.सीको ध्वनी सम्पादन रहेको छ ।
गीतको भिडियोमा सुरेन्द्र के.सी, सारदा गिरी, विष्णु सापकोटा, रामचन्द्र अधिकारी, निशा खातुन लगाएतको अभिनय हेर्न सकिन्छ । रबिन्द्र बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन प्रिन्स ड्यानियलले गरेका हुन् ।
एकजना वृद्ध पात्रको एक्लो जीवनको कथा गीत र भिडियोमा समेटिएको छ । छोरा–छोरी विदेशमा अनि बुहारी र नाती–नतिना शहरमा छन् । श्रीमतिको निधनपछि नितान्त एक्लो वृद्ध पात्रको मन बुझाउने साथी भनेकै त्यही मदिराको एक गीलास छ । मदिराको पैसा नतिरी मर्दिन भन्दै जुनकीरीसँग एकगीलास थपिदेऊ भन्दै हारगुहार गरिरहेका वृद्धलाई भिडियोको दृश्यमा हेर्दा मन भारी हुन्छ, आँखा ओभान रहदैनन् ।
जे होस् वैदेशिक रोजगारीले निम्त्याएको पारिवारीक विखण्डन र वृद्ध–वृद्धाको पिडादायी जीवनलाई गीतले सदृश्य उतारेको छ ।
भिडियो हेर्नुहोस्ः