बेलायतमा प्रधानमन्त्री बन्न लागेकी लिज ट्रस को हुन् ?
बिबिसी । यूकेमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको छ ।
सोमवार दिउँसो ट्रसलाई उक्त पार्टीको नेतामा निर्वाचित भएको घोषणा गरिएको हो । दलको नेता बनेसँगै उनी मङ्गलवार प्रधानमन्त्री नियुक्त हुनेछिन् ।
कन्जर्भेटिभ पार्टीमा ट्रससँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिएका छन् ।
नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ । चालीस वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ ।
बाल्यकालदेखिको सपना
सात वर्षको उमेरमा विद्यालयमा भएको आमचुनावसम्बन्धी एउटा नाटकमा लिज ट्रसले मार्गरेट थ्याचरको भूमिका निभाएकी थिइन् ।
थ्याचर त्यस बेलाकी प्रभावशाली प्रधानमन्त्री थिइन् र उनले सन् १९८३ मा व्यापक बहुमत पाएकी थिइन् ।
तर लिज ट्रसले विद्यालयको नाटकमा थ्याचरको भूमिका निभाए पनि त्यसबेला उक्त नाटकमा उनले सफलता पाइनन् ।
धेरै वर्षपछि ट्रसले उक्त घटनाको स्मरण गर्दै भनेकी थिइन्, ‘म त्यस बेला मैदानमा उत्रिएँ र चुनावी मञ्चमा मन्तव्य दिएँ तर मैले शून्य भोट पाएँ । म आफैँले पनि आफूलाई भोट हालिनँ ।’
उनन्चालीस वर्षपछि सोमवार उनी आइरन लेडी भनेर पनि चिनिने थ्याचरकै पद पछ्याउन वास्तविक रूपमै हाम फालिन् र कन्जर्भेटिभ पार्टीको नेता बनिन् ।
अब उनी मङ्गलवार ब्रिटेनको प्रधानमन्त्री नियुक्त हुनेछिन् ।
सबै पाँच चरणका निर्वाचनमा टोरी सांसदहरूले विदेशमन्त्री ट्रसलाई पूर्व अर्थमन्त्री ऋषि सुनकभन्दा पछाडि पारिदिएका थिए ।
तर पार्टीका सदस्यहरूले ट्रसलाई बढी मत दिए । उनले ५७ प्रतिशत मत पाइन् भने सुनकले ४३ प्रतिशत मात्र मत पाए ।
उनले आफ्नो क्षेत्रमा सम्बन्ध सुमधुर बनाउन वर्षौँ बिताएकी छन् ।
ट्रसले प्रधानमन्त्री कार्यकालको सबैभन्दा कठिन घडीमा रहेका बेला बोरिस जोनसनलाई साथ दिएकी थिइन् ।
तर विभिन्न हिसाबले उनी परम्परागत सोचाइकी कन्जर्भेटिभ पार्टी सदस्यजस्ती भने होइनन् ।
मेरी एलिजाबेथ ट्रस सन् १९७५ मा अक्सफर्डमा जन्मिएकी हुन् ।
उनले आफ्ना पिता गणितका प्राध्यापक र आमा ‘वाम खेमा’की नर्स भएको बताएकी थिइन् ।
बाल्यकालमा उनलाई उनकी आमाले परमाणु निःशस्त्रीकरण अभियानका जुलुसहरूमा लिएर जान्थिन् ।
त्यसबेला परमाणु निःशस्त्रीकरण अभियान चलाउनेहरूले पश्चिमी लन्डनस्थित आरएएफ ग्रीनह्याम कमनमा अमेरिकालाई परमाणु वारहेड राख्ने दिने थ्याचर सरकारको निर्णयको जोडदार विरोध गरेका थिए ।
लिज ट्रसः सामान्य परिचय
उमेरः ४७
जन्मस्थानः अक्सफर्ड
घरः लन्डन र नोर्फोक
शिक्षाः राउन्डहे स्कूल लीड्स्, अक्सफर्ड विश्वविद्यालय
परिवारः दुईछोरी, अकाउन्टेन्ट ह्युज ओलेरीसँग विवाह
संसदीय निर्वाचन क्षेत्रः दक्षिण–पश्चिम नोर्फोक
ट्रस चार वर्षकी हुँदा उनको परिवार ग्लास्गोको पश्चिमतर्फस्थित पेस्ज्ली सर्यो ।
बीबीसी रेडियो फोरको प्रोफाइल कार्यक्रममा बोल्दै उनका भाइले बताए अनुसार ट्रसको परिवार बोर्ड गेमहरू खेल्ने गर्थ्यो ।
त्यस क्रममा ट्रस हार्न नचाहने र हार्ने अवस्था आयो भने खेल छाडेर भाग्ने गर्थिन् ।
त्यसपछि उनको परिवार लीड्समा सर्यो । उनले त्यहाँ एउटा समुदायिक माध्यमिक स्कूलमा पढिन् ।
विद्यालयमा अध्ययन गर्ने बेलामा आफूले ‘असफल र न्यून अपेक्षाहरू भएका बालबालिका’लाई देखेको वर्णन गरेकी छन् ।
तर त्यहाँ अध्ययन गरेका उनका समकालीनहरूले ट्रसले भनेकोभन्दा फरक कुरा बताएका छन् ।
त्यसमा गार्डियनका पत्रकार मार्टिन पेङ्गेली समेत छन् ।
उनले लेखेका थिए, ‘सायद उनी आफ्नो हुर्काइ बढाइको केही कुरालाई छनोट गरेर मात्र उजागर गरिरहेकी छन् र साधारण राजनीतिक लाभका लागि उनलाई शिक्षादीक्षा दिने शिक्षकहरू तथा विद्यालयलाई अनौपचारिक रूपमा प्रयोग गरिरहेकी छन् ।’
विद्यालयपछि उनी अक्सफर्ड विश्वविद्यालय गइन् । त्यहाँ उनले दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र पढिन् ।
ट्रस विद्यार्थी राजनीतिमा पनि सक्रिय थिइन् र सुरुमा उनी लिबरल डेमोक्र्याट्सका लागि राजनीति गर्थिन् ।
सन् १९९४ को पार्टी सम्मेलनमा उनले ब्रिटेनबाट राजतन्त्र अन्त्य गर्नुपर्ने पक्षमा बोलेकी थिइन् ।
उनले ब्रिघटनमा भनेकी थिइन्, ‘हामी लिबरल डेमोक्र्याट्सहरू सबैले अवसर पाउनुपर्छ भन्नेमा विश्वास गर्छौँ । हामी मानिसहरू शासन गर्नका लागि जन्मन्छन् भन्नेमा विश्वास गर्दैनौँ ।’
अक्सफर्डमा ट्रस कन्जर्भेटिम्सतर्फ लागिन् ।
स्नातक गरेपछि उनले शेल र केबल तथा वायरलेसमा अकाउन्टेन्टका रूपमा काम गरिन् अनि आफ्नै सहकर्मी अकाउन्टेन्ट ह्युग ओलेरीसँग सन् २००० मा विवाह गरिन् ।
उक्त दम्पतीका दुई बालबालिका छन् ।
सन् २००१ को आमनिर्वाचनमा उनी वेस्ट योर्कसायरको हेम्सवर्थबाट उम्मेदवार बनिन् तर त्यसमा हारिन् ।
सन् २००५ मा वेस्ट योर्कसायरकै काल्डर भ्यालीबाट उनले पुनः चुनाव हारिन् ।
तर उनको राजनीतिक महत्त्वाकाङ्क्षा कम भएन र ट्रस सन् २००६ मा दक्षिणपूर्वी लन्डनको ग्रीनविचको काउन्सिलर बनिन् ।
सन् २००८ देखि उनले एउटा थिङ्कट्याङ्कमा पनि काम गरिन् ।
कन्जरभेटिभ नेता डेभिड क्यामरुनले ट्रसको नाम उनको ‘ए–लिस्ट’मा राख्दै उनलाई प्राथमिकतामा रहेकी उम्मेदवार बनाए ।
त्यसका लागि उनलाई जीत सुनिश्चित भएको दक्षिण पश्चिम नोर्फोकमा उठाइयो ।
केही वर्षअघि टोरी सांसद मार्क फिल्डसँग उनको प्रेमसम्बन्ध रहेको भन्ने खुलासा भएपछि उनले संसदीय टोरी एसोसिएसनसँग उक्त छनोटबाट सूचीबाट हटाउने कुरामा लडाइँको सामना गर्नुपर्यो ।
यद्यपि उनलाई उम्मेदवार नबनाउने कोसिस असफल भयो र उनले १३ हजारभन्दा बढी मतले उक्त क्षेत्रबाट जितिन् ।
उनी ब्रिटानिया अनचेन्ड पुस्तककी सहलेखिका पनि हुन् । उक्त पुस्तक सन् २०१० मा उनी र अन्य चार जना कन्जर्भेटिम सांसदहरूसँग मिलेर लेखेका हुन् ।
उक्त पुस्तकले यूकेको आर्थिक हैसियतलाई विश्वभरि पुर्याउन सरकारी नियमहरूलाई फिर्ता लिनुपर्ने सुझाव दिएको छ त्यसले उनलाई टोरी बेन्चमा खुला बजार अर्थतन्त्रको प्रभावशाली पक्षधरका रूपमा उभ्यायो ।
बीबीसीको ‘डिटरशिप डिबेट’ मा ट्रसलाई ब्रिटानिका अनचेन्डमा गरिएको एउटा आलोचनालाई लिएर प्रश्न गरिएको थियो ।
उनको पुस्तकमा ब्रिटिश कामदारहरूलाई ‘विश्वका अल्छीहरूमध्येका’ भनिएको बारे त्यस्तो प्रश्न गरिएको थियो । यद्यपि उनले आफूले त्यस्तो नलेखेकोमा जोड दिइन् ।
सांसद बनेको दुई वर्षपछि नै उनी शिक्षामन्त्रीका रूपमा सरकारमा सामेल भइन् र सन् २०१४ मा उनलाई वातावरण मन्त्रीका रूपमा बढुवा गरियो ।
सन् २०१५ मा भएको भएको कन्जर्भेटिभ सम्मेलनमा ट्रसलाई उनको एउटा भाषणका लागि खिल्ली उडाइएको थियो ।
त्यसमा उनले भावुक स्वरमा भनेकी थिइन्, ‘हामी हाम्रो पनिरको दुई तिहाइ भाग आयात गर्छौँ । त्यो एउटा अपमान हो ।’
एक वर्षभन्दा कम समयपछि सबैभन्दा ठूलो राजनीतिक घटना ईयू जनमतसङ्ग्रहको बेला आयो ।
त्यस बेला उनले द सन पत्रिकामा लेख्दै ब्रेक्जिटले ‘ईयूमा बिक्री गर्दा धेरै नियमहरू, धेरै फारमहरू र थप समय लाग्ने भएकाले त्यो तीन खाले दुःख निम्त्याउनु हुने’ तर्क गरेकी थिइन् ।
यद्यपि उनको पक्ष पराजित भएपछि उनले आफ्नो मनस्थिति परिवर्तन गरिन् र ब्रेक्जिटले ‘जसरी कुराहरूले काम गर्छन् त्यसमा हलचल ल्याउने’ भएकाले त्यो एउटा अवसर भएको बताएकी थिइन् ।
टरिजा मे प्रधानमन्त्री रहेका बेला उनी न्यायमन्त्री बनेकी थिइन् र पछि उनी अर्थमन्त्री बनिन् ।
सन् २०१९ मा बोरिस जोनसन प्रधानमन्त्री बनेपछि उनी अन्तर्राष्ट्रिय व्यापारमन्त्री बनेकी थिइन् ।
सन् २०२१ मा ४६ वर्षको उमेरमा उनले सरकारको अति उच्च पदमध्येमा पर्ने विदेशमन्त्रीका रूपमा पद सम्हालिन् । डोमेनिक राबपछि उनी विदेशमन्त्री बनेकी थिइन् ।
विदेशमन्त्रीका रूपमा उनले उत्तरी आयरल्यान्डमा प्रोटोकलको उल्झनसम्बन्धी समस्यालाई हल गर्न माग गरिन् ।
उक्त कदमलाई लिएर युरोपेली सङ्घले उनको व्यापक आलोचना गरेको थियो ।
उनले इरानमा गिरफ्तार भएका दुईजना ब्रिटिश इरानी नागरिकको रिहाइ सुनिश्चित गरेकी थिइन् ।
गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि उनी त्यसविरुद्ध एकदमै कडा रूपमा प्रस्तुत भइन् ।
उनले उक्त देशबाट भ्लादिमिर पुटिनका सबै फौजलाई धपाउनुपर्ने बताएकी थिइन् ।
युक्रेनका पक्षमा लड्न त्यहाँ जाने यूकेका नागरिकको समर्थन गर्दा उनको आलोचना पनि भएको थियो ।
विवाद
पार्टी नेता बन्नका लागि उनले गरेको अभियान पनि विवादमुक्त छैन ।
जीवनयापन सङ्कटलाई उनले कसरी समाधान गर्छिन् भन्ने प्रश्नमा ट्रसले करको भारलाई कम गर्ने बताउँदै आएकी छन् ।
उनी सार्वजनिक क्षेत्रको तलबलाई क्षेत्रीय जीवनयापन लागतमा जोड्ने योजना हटाउन बाध्य भएकी छन् ।
वरिष्ठ टोरी नेताहरूले त्यसले लन्डन बाहिरका लाखौँ कामदारले कम तलब पाउने भन्दै विरोध गरेपछि उनी उक्त कुरा हटाउन बाध्य भएकी हुन् ।
उनले स्कटल्यान्डकी प्रधानमन्त्रीलाई प्रचार खोज्ने व्यक्ति भन्दै उनलाई बरु बेवास्ता गर्नु उचित हुने बताएकी थिइन् ।
यद्यपि सर्वेक्षणहरूले प्रतिस्पर्धी सुनकका तुलनामा उनी पार्टीभित्र धेरै लोकप्रिय रहेको देखाएका थिए ।
कतिपयले उनको पोसाकलाई हेरेर थ्याचरको अनुकरण गरेको पनि बताउने गरेका छन् ।
उनले उक्त कुरालाई नकार्दै आएकी छन्।