९ आश्विन २०८०, मंगलवार

जब दुई विमानचालकले ककपिटभित्र मुक्का हानाहान गरे




एजेन्सी । एअर फ्रान्सको एउटा विमानभित्र हात हालाहाल गरेपछि दुई विमानचालकलाई निलम्बन गरिएको विवरण प्रकाशित भएको छ ।

जिनिभाबाट फ्रान्सको राजधानी प्यारिसका लागि उडेको एउटा एअरबस ए ३२० का चालक र सहचालकले ककपिटभित्र मुक्का हानाहान गरेको स्विट्जरल्यान्डको ला ट्रिबुन पत्रिकाले जनाएको छ ।

उक्त घटना जुन महिनामा भएको थियो ।

ककपिटभित्रबाट हल्ला आएपछि चालकदलका अन्य सदस्यहरूले हस्तक्षेप गरेका थिए ।

विमान सुरक्षित रूपमा अवतरण गरुन्जेलसम्म चालकदलका अर्का एक सदस्य पनि ककपिटभित्रै बसेका थिए ।

एअर फ्रान्सको उक्त घटनाले उडान प्रभावित भएको दाबी ला ट्रिबुनसँग गरेको छ ।

गत साता फ्रान्सको उड्डयन क्षेत्रबारे अनुसन्धान गर्ने निकायले एअर फ्रान्समा सुरक्षाविधिबारे बलियो प्रचलन नभएको भन्दै एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो ।

त्यसपछि बल्ल जुन महिनाको उक्त घटना सार्वजनिक भएको हो ।

विमानभित्र चालकहरूबीच विवाद उत्पन्न हुँदा हात हालाहाल भएको घटना यसअघि पनि आक्कलझुक्कल सार्वजनिक भएको थियो ।

सन् २०१८ को नववर्षको दिन लन्डनबाट मुम्बईका लागि उडेको जेट एअरवेजको विमानमा पनि त्यस्तै घटना भएको थियो ।

जेट एअरवेजले ती दुवै विमानचालकलाई सेवाबाट निष्काशन गरेको थियो ।

ती दुईमध्ये एक महिला र एक पुरुष थिए ।

उक्त विमानमा ३२४ यात्रु थिए । विमानले सकुशल मुम्बईमा अवतरण गरेको थियो ।

एक प्रत्यक्षदर्शीका अनुसार पुरुष विमानचालकले पहिला महिला सहकर्मीलाई थप्पड हानेका थिए । त्यसपछि रुँदै महिला विमानचालक ककपिटबाट बाहिर निस्किएकी थिइन् ।

तर चालकदलका अन्य सदस्यले उनलाई ककपिटमा गएर उडानसम्बन्धी काम गर्न फकाएका थिए ।

सुरक्षासम्बन्धी नियम उल्लङ्घन गर्दै ती पुरुष विमानचालक दुईचोटि ककपिट खाली राखेर बाहिर निस्किएको भारतीय नागरिक उड्डयन निर्देशनालयका एक अधिकारीले बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको