अमेरिकी युद्धपोत ताइवान नजिकै
काठमाडौं। अमेरिकाका दुई वटा युद्धपोत ताइवान स्ट्रेट नजिकै पुगेका छन् । अभ्यासका क्रममा आफ्ना २ वटा युद्धपोत ताइवान स्ट्रेट नजिकै पुगेका अमेरिकाको नौ सेना लाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न भएको तनाव र विवादपछि अमेरिकाको यो पहिलो अभ्यास हो । पेलोसीको भ्रमणपछि चीनले सैन्य अभ्यास गरेको जलक्षेत्रमा अमेरिकाका युद्धपोत अघि बढिरहेका बीबीसीले जनाएको छ ।
चिनियाँ सेनाले अमेरिकी युद्धपोतको यात्रालाई निगरानी गर्दै उच्च सतर्कता कायम गरेको बताएको जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले ती पानीजहाजहरू दक्षिणी दिशामा रहेको र आफ्ना फौजले त्यसलाई निगरानी गरिरहेको बताएको छ । चीनले अमेरिकाले बारम्बार चीनलाई युद्धको लागि उस्काउँदै आएको र यस पटकको युद्धपोतको तैनाथी पनि त्यसैको निरन्तरता भएको जनाएको छ ।
अमेरिकी नौसेनाले भने अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र रूपमा आउजाउ गर्न पाउने अधिकार प्रयोग गरिरहेका जनाएको छ ।
गएको महिना अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणपछि रुस्ट भएको चीनले ताइवान स्ट्रेट नजिकै अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको थियो । चीनले ताइवानलाई आफ्नै भूमि मान्दै आएको छ । पेलोसीको भ्रमण र अमेरिकी युद्धपोत जहाजको तैनाथीलाई चीनले युद्धको लागि उस्काएको ठानेको छ ।
अमेरिकाले ताइवानलाई स्वतन्त्र राज्यको मान्यता दिएको छैन । तर ताइवानसँग रक्षा सम्झौता गरेर हतियार बेच्ने र सुरक्षा साझेदारीका विवादास्पद कार्य गर्दै आएको छ ।